खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
रुकुमपश्चिम : रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मनोज र भावना एकै घरका दाजु बहिनी रहेका छन्। आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो।
मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो। प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ। आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो।