मुस्ताङमा विदेशीसहित ८० जना सेनालाई तालिम
जोमसोम : मुस्ताङमा विदेशीसहित ८० जना सैनिक प्रशिक्षार्थीका लागि एक महिने संयुक्त एडभान्स तालिम सुरु गरिएको छ। तालिममा अमेरिका, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र दक्षिण अफ्रिका लगायत देशका सेना छन्।
पर्वतीय क्षेत्रमा हुनसक्ने घटना र मानवीय उद्धार, पर्वतीय सैन्य अभ्यास, हिमाली क्षेत्रको वातावरणीय अनुभव आदानप्रदान लगायतका विषयमा नेपाली सेनाले मुस्ताङको जोमसोम र कैसाङ क्याम्प क्षेत्रमा सैन्य अभ्यास तालिम सञ्चालन गर्दै आइरहेको छ।
यसैको निरन्तरता स्वरूप भदौको दोस्रो हप्तादेखि बहुराष्ट्रिय सेना सम्मिलित सिजन ४६ को सैन्य एडभान्स अभ्यास तालिम दिन सुरु गरिएको हो। नेपाली सेनाका सैनिक प्रवत्ता कृष्णप्रसाद भण्डारीका अनुसार तालिमका लागि १० जना विदेशी सेना र ७० जना नेपाली सेनाले सैन्य एडभान्स तालिम लिइरहेका छन्। जसमा ७ जना महिला र ७४ जना पुरुषको सहभागी रहेको छ।
नेपाली सेनाको तर्फबाट ३ जना अधिकृत दर्जाका महिला र ३ जना अन्य दर्जाका महिला सेनाको सहभागी रहेको छ। पुरुषतर्फ ५ जना अधिकृत दर्जाका र ६४ जना अन्य दर्जाका सैनिकको सहभागी रहने प्रवक्ता भण्डारीले जानकारी दिए।
उनले मुस्ताङको उच्चशिखर शिक्षालयबाट हिमाली क्षेत्रमा सेनाले सञ्चालन गर्ने विभिन्न कारबाहीहरूको तालिम सञ्चालन गर्ने गरिएको बताए।
हिमाली पर्वतीय क्षेत्रमा नेपाली सेनाले गर्नुपर्ने सम्पूर्ण सैन्य कार्यसम्पादनको मुलभूत सिद्धान्तमा आधारित एडभान्स र बेसिक तालिम बर्सेनि आयोजना हुने गरेको सैनिक प्रवक्ता भण्डारीको भनाइ छ।
असोजको पहिलो हप्ता तालिम समापन हुने छ। हिमाली क्षेत्रको पर्वतीय उद्दार तथा मानवीय सहयोगका साथै पर्वतीय सैनिक अभ्यासका लागि क्षमता अभिवृद्धि गर्न नेपाली सेनाले मुस्ताङमा विभिन्न सैन्य अभ्यास गर्दै आइरहेको छ। मुस्ताङको जोमसोम, कैसाङ क्याम्प र याकखर्कमा सैन्य अभ्यास हुने गर्छ।
नेपाली सेनाको मातहतमा सैनिक उच्चशिखर शिक्षालयले हालसम्म मुस्ताङमा विभिन्न २३ देशका ३१७ जना विदेशी सेनाले यसप्रकारको तालिम लिइसकेका छन्। मुस्ताङमा सन् १९९० देखि विदेशी सैनिक प्रशिक्षार्थीहरूलाई सहभागी गराएर सैन्य अभ्यास तालिम दिन सुरु गरिएको थियो।