पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री महत
पोखरा : अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन्। पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले पोखरालाई ट्रान्जिट प्वाइन्टका रुपमा विकसित गर्नुपर्ने बताएका हुन्। मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्दु हुनसक्ने उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय हवाई अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘पर्यटन प्रवर्द्धनका लागि देश लगानी गरेको हो। अहिले लगानी उठाउन सकिएको छैन। पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने छ, हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं।'
समस्या भए तापनि निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ थियो। 'सबैले सकरात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकरात्मक बाटोतर्फ उन्मुख हुन्छ, उनले भने, पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन। यसको भविष्य दिगो छ। थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन।’
पुँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिनेछ। ठेक्का समयमा लगाइने। ठूलठूला आयोजनाबाहेक सरकारले तीन वर्षे योजना समयमै सम्पन्न गर्ने हिसाबले ठेक्कामा लगाउँछ। यसबाट पुँजी प्रभाव हुने मन्त्री डा. महतले बताए।
‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या, छ। एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो’ मन्त्री डा. महतले भने, ‘यसलाई सरकारले गम्भीरताका साथ लिएको छ। बाटो राम्रो हुने वित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ।’