दसैं अगाडि मेलम्चीको पानी वितरण नहुने

गेग्रनले पुर्‍यो मेलम्ची आयोजनाको हेडवर्क्स

दसैं अगाडि मेलम्चीको पानी वितरण नहुने
सुन्नुहोस्

सिन्धुपाल्चोक : पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ। 

आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो ल्याई थुपारेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। ‘ढुंगा माटोले पुर्दा के कति क्षति भयो भन्नेचाहिँ वर्षात् रोकिएपछि मात्रै थाहा हुन्छ। अहिले मुहान क्षेत्रमा जानसक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्राविधिकहरूले भनेअनुसार १५÷१६ मिटरको गेग्रान हेडवर्क्स र सुरुङक्षेत्र वरिपरि थुप्रिएको छ।’ 

बाढीले सडक र गोरेटो बाटोसमेत बगाएकाले आयोजनाका कर्मचारी हेडवर्क्ससम्म जान नसकेका श्रेष्ठले बताए। वर्षात् रोकिएलगत्तै प्राविधिकहरूको टोली पठाएर कति क्षति भयो र अब के गर्ने भन्ने योजना बनाइने उनले जनाए। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मुहानको अवस्थाबारे जानकारी लिन ड्रोनको प्रयोग गरिएको थियो। ड्रोनले खिचेको भिडियोमा हेलम्बुको भ्रेमाथाङ आसपासबाट बाढीले बगाएर ल्याएको लेदो माटो र ढुंगा हेडवर्क्स वरपर थुप्रिएको देखिएको उनले जनाए। गेग्रानले हेडवर्क्स क्षेत्रमा क्षति बनाएको जानकारी मुख्य ऋणदाता एसियाली विकास बैंकलाई गराइसकेको आयोजनाले जनाएको छ।

  •     काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो थुपारेको छ।
  •     मेलम्चीको जलाधार क्षेत्रमा धमिलो पानीसहितको बाढी आएपछि असार १८ बाट आयोजनाको हेडवर्क्सबाट सुरुङमा पानी हाल्न रोकिएको थियो।
  •     मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो।

हेडवर्क्समा क्षति भएसँगै दसैं अगाडि मेलम्चीको पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ। ‘अहिलेको अवस्था हेर्दा दसैं अगाडि राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन सक्ने देखिँदैन’, कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हेडवर्क्सको अस्थायी मर्मत गर्न दुई महिनाभन्दा बढी लाग्छ, त्यसमा पनि के कति क्षति भयो भन्ने नै यकिन हुन सकिएको छैन।’ सकेसम्म दु्रत गतिमा राजधानीवासीलाई पानी खुवाउन आपूm प्रयत्नशील रहने उनले बताए।

असारको अन्तिम साता नै आयोजनाले काठमाडांैतर्फ पानी पठाउने कार्य बन्द गरेको कारण सुरुङमा भने क्षति नभएको अनुमान आयोजनाको छ। ‘हामीले बाढी पहिरोको जोखिम देखिएलगत्तै पानी पथान्तरण रोकेका थियौं’, श्रेष्ठले भने, ‘त्यसकारण सुरुङमा ठूलै क्षतिचाहिँ पुगेको छैन भन्ने हाम्रो अनुमान छ।’ मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बाढी आएपछि असार १८ बाट आयोजनाको अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी हाल्न रोकिएको थियो।

बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि गत वर्ष काम चलाएको रूपमा फलामको पाता राखेर पानी बन्द गरिएको थियो। यो वर्ष हेडवर्क्समा सिलिन्डर जडान गर्ने र १ नम्बर गेटमा जाली राखिएको थियो। ‘अहिले ग्रेगानले बनाएको क्षति अघिल्लो सालको भन्दा बढी रहेको अनुमान गरेका छौं’, आयोजनाका इन्जिनियर पदम कुँवरले भने, ‘माथिबाट आएको ढुंगा माटोले गेट नै छोपिएको छ।’

२०७८ असार १ मा आएको बाढीले यसअघि अम्बाथानमा निर्माण गरिएको मुहानस्थल क्षति पुर्‍याएपछि सरकारले भौगोलिक रूपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोजिरहेको छ। बाढीपछि तयार भएर सञ्चालनको तयारी अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र मुहानस्थल पुरिएको छ। जसको मर्मत हुन सकेको छैन। नदीको सतहभन्दा मुनि परेका अन्य संरचनाहरूको अवस्था के छ भन्ने अहिलेसम्म खोतलेर हेर्न नसकिएको आयोजनाले जनाएको छ।

पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ। मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो। सोही वर्षको चैत १५ देखि परीक्षण स्वरूप पानी वितरण गरिएको थियो। तर, २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि पानी वितरण बन्द भएको थियो। तर, मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.