‘साहित्य कथ्ने, पत्रकारिता मथ्ने विधा’

‘साहित्य कथ्ने, पत्रकारिता मथ्ने विधा’
सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा ‘साहित्य प्रवद्र्धनमा पत्रकारिताको भूमिका’का विषयमा बोल्दै सहभागी।

काठमाडौं : सामान्य घटनाक्रमको जानकारी लिनमा मूलधारका मिडियाभन्दा सामाजिक सञ्जालहरू अघि हुन थालेका छन्। संसारभरकै पत्रकारिताले अहिले सामाजिक सञ्जालको चुनौती सामना गरिरहेको छ। 

अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी अहिलेको समयलाई पत्रकारिताको संक्रमणकालको संज्ञा दिन्छन्। ‘हामी संक्रमकालीन अवस्थामा छौं। गहनभन्दा भाइरल र चटपटे कन्टेन्ट बढी जान थालेका छन्’, उनी भन्छन्। 

उनकै भनाइमा अचेल सामाजिक सञ्जालमा आएका विषय नै अहिले पढिन थालिएको छ र हार्ड न्युजको ठाउँ यसैले लिएको छ। अबको पत्रकारिता फरक ढंगबाट पाठकको मन छुने हुनुपर्ने भण्डारी जोड दिन्छन्। साहित्य र पत्रकारिताको भिन्नताबारे उनले भने, ‘साहित्य कथ्थे कला हो भने पत्रकारिता मथ्ने कला हो। शून्यमा पनि कथ्न सकिन्छ। तर, मथ्नका लागि केही चाहिन्छ।’ 

भण्डारीले पत्रकारिताभन्दा साहित्यको दर्जा माथि हुने बताए। ‘समाचार लेखेर एउटा पत्रकार सेलिब्रेटी नबन्न सक्छ। तर, एकजना साहित्यकार सेलिब्रेटी हुन सक्छ’, उनले साहित्यको महत्व दर्शाउँदै भने। 

‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’को तेस्रो दिन भण्डारी एक वक्ता थिए। वरिष्ठ पत्रकार बविता बस्नेत र शेखर खरेलसँग रेडियोकर्मी अच्यूत घिमिरेले अन्तरसंवाद गरेका थिए। शुक्रबार सुरु साहित्य महोत्सवको अन्तिम दिनको अन्तिम सत्रमा ‘साहित्य प्रवद्र्धनमा पत्रकारिताको भूमिका’का बारेमा भण्डारीले बोलेका थिए। 

साहित्यकारसमेत रहेकी पत्रकार बस्नेतले साहित्यले पार्ने प्रभाव पत्रकारिताले पार्ने प्रभावभन्दा बढी हुने बताइन्। पत्रकारिता र साहित्य दुवैको आफ्नै महत्व रहे पनि साहित्य सिर्जनामा आफ्नै मन र मस्तिष्क समेटिने उनले बताइन्। 

‘पत्रकारितामा बाहिरी परिवेश हुन्छ। तर, साहित्य आफ्नै परिवेश र मेरो सिर्जना हो। यसमा आफ्नै मन र मस्तिष्क हुन्छ। पत्रकारिताभन्दा साहित्य सिर्जना प्यारो हुन्छ’, उनले भनिन्। पत्रकारितामा देखेको कुरा साहित्यमा ढाल्न मन दुखाउनुपर्ने बताउँदै बस्नेतले साहित्यलाई भावनासँग जोडिन्। ‘पत्रकारिता गर्न फिल्डमै जानुपर्छ। यो रियालिटी बेस नै हुनुपर्छ। पत्रकारिता गर्न तालिम लिएर गर्न सकिन्छ’, उनले भनिन्, ‘तर तालिम लिएर साहित्यकार भएको कतै सुनिएको छैन। एकजना साहित्यकारले ब्रह्माण्ड भ्याइदिन सक्छ।’ 

ठूला ब्रोडसिटहरूले पनि साहित्यलाई ठाउँ दिइरहेको पत्रकार शेखर खरेलले सुनाए। यसलाई खुसीको रूपमा लिनुपर्ने उनको भनाइ थियो। ‘पत्रिका छापियो। तर, पुर्‍याउन गाह्रो भएको अवस्था अहिले छ’, उनले भने। छाप्न र पुर्‍याउन गाह्रो अवस्थाले साहित्यिक पत्रपत्रिकाहरू टिक्नै नसकिरहेको अवस्थालाई उनले इंगित गरेका थिए। ‘आर्थिक र कर्पाेरेटसँग जोडिएपछि कठिन भएको साहित्य पत्रकारितालाई नेपाल बाहिर पनि गाह्रै छ’, उनले भने।

साहित्यमा जीवन्त वर्णन हुने भन्दै खरेलले फिचर लेखहरूमा साहित्यका धेरै तत्वहरू आएको विचार राखे। ‘फिचरमा सहानुभूति र दारुण कथाहरू पनि आएका छन्। यसमा सूचना र समवेदना दुवै आउन सक्छन्। यो पत्रकारको खुवी र क्षमतामा भर पर्छ’, उनले भने। पत्रकारितामा लेखेका कुरा 
बालुवामा लेखेजस्तो भएपनि साहित्यमा संग्रहणीय हुने वक्ताहरूले सुनाए। 

अन्तरक्रियामा नेपाल टेलिभिजनकी निमित्त नायव महानिर्देशक आरती चटौतले अहिलेको सकारात्मक कुरा नै विश्वले लैंगिक हिंसा छ भनेर स्वीकार गर्नु रहेको बताइन्। उनले भनिन्, ‘नेपालले पनि सदियौंदेखि लैंगिक हिंसा गरेको कुरालाई आत्मसात् गरेर सयौं कानुनहरू परिवर्तन गरेको छ। लैंगिक हिंसा घटेको छैन। तर, परिदृश्य परिवर्तन भएको छ।’ 

सहजकर्ता सुदर्शन गिरीले ‘योभन्दा पहिले तीनवटैै प्रमुख कार्यकारी पदहरू राष्ट्रपतिमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र प्रधानन्यायाधीशमा सुशीला कार्की हुँदा के बदलाव आयो ?’ भनेर सोधेका थिए। उत्तरमा चटौतले दुई जना सामाजिक न्याय सिद्धान्तअनुसार कसैले राखिदिएको र एक जना मात्रै काम गरेर आएकाले सबैलाई एकै बाकसमा हाल्न नमिल्ने बताइन्। ‘यो प्रश्न नै आपत्तिजनक छ’, उनले भनिन्, ‘लामो समयसम्म अँध्यारोमा राख्ने अनि कुनै महिलालाई कुर्सीमा राखिदिएर बदलावको कुरा गर्नु गलत हो।’ 

लेखक अर्चना थापाले भने विगत र अहिलेमा लैंगिक हिंसामा खासै परिवर्तन नभएको बताइन्।  ‘आजभन्दा २० वर्षअघि जस्तो अवस्था थियो, आज पनि त्यस्तै छ। सुरुमा लैंगिक हिंसाका कुरा उठ्दा धेरै खुसी लागेको थियो। तर, यो सब पानीको फोका बन्यो’, उनले भनिन्। छलफल कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ता भूमिका श्रेष्ठले जहाँ पनि महिलाको कुरामात्रै उठ्ने तर तेस्रो लिंगी महिलाहरू सधैं ओझेलमा परिरहेको गुनासो गरिन्। उनले भनिन्, ‘समय परिवर्तन भए पनि व्यवहार परिवर्तन भएको छैन।’ 

‘पुरस्कारको गरिमा’ सेसनमा लेखकहरू प्रगति राई, अमर न्यौपाने, नयनराज पाण्डे जुटेका थिए। ‘पुस्तक पुरस्कार पाउन लेखिन्न’, न्यौपानेले भने, ‘लेखेर पुरस्कार पाइन्छ। पुरस्कार पाउन नि सकिन्छ नपाउन नि सकिन्छ। पाएर उत्कृष्ट नि हुने होइन। धेरै उत्कृष्ट पुस्तकले पुरस्कार पाएका छैनन्। यसको आफ्नै सीमा हुन्छ।’ 

आख्यानकार पाण्डेले पुरस्कार पाएपछि लेखकहरू अल्छी बन्दै गएको बताए। ‘पुरस्कार पाइसकेपछि जिम्मेवारी बढ्यो भन्छौं। तर, अधिकांश लेखक पुरस्कार पाएपछि कमजोर भएका छन्’, उनले भने, ‘मेरो पनि उलारपछि अरू पुस्तक खासै चर्चामा आएनन्।’ पुरस्कारहरू अधिकांश सट्टापट्टा र चाकडीबाट आदानप्रदान हुने उनको भनाइ थियो। ‘धेरै पुरस्कार अहिले चाकडी र सट्टापट्टा गरेर पाउँछन्’, उनले भने। 

लेखक प्रगति राईले लेखकको पाठक र पुरस्कारको पाठक फरक हुने बताइन्। ‘पुरस्कारलाई तिरस्कार गर्नुपर्छ भन्ने मान्यता त हुन्न। तर, पुरस्कार बहिस्कार गरेका लेखक पनि हुनुहुन्छ। कोही–कोही बेलामा लेखकलाई पुरस्कारले बाधा गर्छ’, उनले भनिन्, ‘कतिपय पुरस्कार लेखकको पछि–पछि कति–कति लेखक पुरस्कारको पछि–पछि हुन्छ।’ 

अर्काे सत्रमा कालेबुङका लेखक मनोज बोगटी, बबिता मादेन र हर्कबहादुर क्षत्री पहाडको आवाज शीर्षक बहसमा जुटेका थिए। पत्रकार रुपेश श्रेष्ठले मास्टरसेफ सन्तोष साहसँग खाना र खानपानबारे चर्चा चलाएका थिए। 

पत्रकार श्रेष्ठले कलाकार मनीषा कोइरालासँग उनको नेपालदेखि विश्वमानचित्रसम्मको ग्लामरका उकाली ओराली उधिन्ने जमर्काे गरेका थिए। सोमबारको पहिलो सत्रमा अर्का पत्रकार विमल आचार्यले नेताहरू विद्या भट्टराई, गुरुराज घिमिरे र सोविता गौतमसँग शक्ति र कलमको सन्दर्भमा राजनीतिकर्मीको पठन संस्कृति खोतलखातल गरका थिए। 

लेखक रञ्जना निरौलाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र भरतपुरकी मेयर रेणु दाहालसँग अबको नगर शीर्षकमा बहस चलाएकी थिइन्। कविता वाचन, नृत्य प्रदर्शन र किताबका कुरालगायत अरु सत्रहरू चलाउँदै महोत्सवले बिट मारेको थियो। १५ भदौबाट सुरु महोत्सवमा चार सयभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय कवि, लेखक, विश्लेषक, विद्वान् अतिथि  थिए। ६० भन्दा बढी सत्रहरूमा नेपाली, मैथिली, भोजपुरी, नेवारी, अंग्रेजी, हिन्दी भाषाका सिद्धहस्त लेखक र पुरस्कृत व्यक्तित्वहरू थिए।    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.