चिया उद्योगी र श्रमिकबीच सहमति : न्यूनतम पारिश्रमिक लागू

चिया उद्योगी र श्रमिकबीच सहमति : न्यूनतम पारिश्रमिक लागू
भद्रपुरस्थित चिया उत्पादक संघको कार्यालयमा संघका पदाधिकारी र चिया श्रमिक संघसंगठनका पदाधिकारीबीच भएको वार्ता।
सुन्नुहोस्

सरकारले चिया बगानका श्रमिकको मासिक तलब १३ हजार ८ सय ९३ तोकेको छ

झापा : चिया उद्योगीले श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन तयार भएका छन्। सरकारले गत साउन ३२ गते राजपत्रमा प्रकाशन गरी चिया बगानका श्रमिकको आधारभूत पारिश्रमिक ८ हजार ९ सय ३४ र महँगी भत्ता ४ हजार ९ सय ५९ रुपैयाँ गरी मासिक तलब १३ हजार ८ सय ९३ रुपैयाँ तोकेको छ। 

चिया उद्योग क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक श्रमिकलाई दिन नसक्ने भन्दै नेपाल चिया उत्पादक संघ भद्रपुरले भदौ ४ गते विज्ञप्तिमार्फत उद्योगीको धारणा सार्वजनिक गरेको थियो। त्यसपछि चिया श्रमिकले भदौ १८ गतेदेखि झापाका चिया बगान र कारखाना बन्द गर्ने निर्णय गरेका थिए। पारिश्रमिकको विषयमा चिया उद्योगी र श्रमिकको आइतबार नेपाल चिया उत्पादक संघको कार्यालयमा वार्ता भएको थियो। 

लामो छलफलबाट दुवै पक्षबीच चारबुँदे सहमति जुटेको संघका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए।     न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि नै लागू गर्ने र फरक रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने, योगदान आधारित सामाजिक सुरक्षा श्रमिकलाई सूचीकृत गर्ने सम्बन्धमा हाललाई समग्र चिया बगान प्रतिष्ठानमा कार्यरत नियमित स्थायी रोजगारीमा रहेको श्रमिकलाई सम्झौता भएको मितिदेखि प्रक्रिया सुरु गरी कानुनबमोजिम योगदान गर्ने गराउने,  अन्यको हकमा थप छलफल गर्ने र बन्दलगायतको सम्पूर्ण आन्दोलनका कार्यक्रम हाललाई स्थगन गरिएको विषयमा लिखित सहमति भएको संघका अध्यक्ष मित्तलले जानकारी दिए। 

वार्तामा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, उपाध्यक्ष मिलन राई, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका संयोजक सन्तकुमार राई, उपाध्यक्ष सहीकुमार राई, नेपाल ट्रेड युनियन महासंघ केन्द्र समितिका उपाध्यक्ष भूपाल सापकोटा, जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, अखिल नेपाल चिया मजदुर संघका महासचिव देवी खनाललगायतको उपस्थिति रहेको थियो। चिया उत्पादक संघबाट पदाधिकारीको पनि सहभागिता रहेको थियो। 

फागुन यता पारिश्रमिकको विषयमा यसअघि पाँच पटक संघ र चिया श्रमिकबीच वार्ता भएको थियो। साउनअघि चिया श्रमिकको दैनिक ज्याला ४ सय ३५ रुपैयाँ थियो। चिया श्रमिकले ८७ रुपैयाँ वृद्धि गर्नुपर्ने माग राख्दै आएकोमा चिया उद्योगीले ३० रुपैयाँ मात्र बढाउन सक्ने अडान राख्दै आएका थिए। त्यसपछि सरकारले साउन १ गतेदेखि दैनिक ज्यालामा ६५ रुपैयाँ बढाएर ५ सय रुपैयाँ बनाएको हो। त्यसैमा दुवै पक्ष सहमत भए।

‘चिया श्रमिकहरूसँग सहमति त भयो,’ संघका अध्यक्ष मित्तलले भने, ‘भारतीय बजारमा निर्भर यहाँका उद्योगीमा आर्थिक भार पनि थपियो।’ भदौ, असोज, कात्तिक र मंसिरमा पारिश्रमिक दिन उद्योगीलाई समस्या हुँदैन। उद्योग बन्द हुने (पुस, माघ, फागुन र चैत)मा भने पारिश्रमिक दिन समस्या हुने उनको भनाइ छ। 

जिल्लामा २८ चिया उद्योग रहेको छ। मित्तल, हिमालयन, राज, बुधकरण, कालिका, गिरीबन्धुको मात्रै बगान र उद्योगसँगै छ। अन्य उद्योगले हरियो पत्ती किनेर उद्योग चलाइरहेको अवस्था छ।   

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.