प्रचण्डको भय!

प्रचण्डको भय!
सुन्नुहोस्

प्रधानमन्त्री प्रचण्डको बोलीमा विशृंखलता किन आइरहेको होला ? यसका पछाडिका विभिन्न कारण हुन सक्छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा जुनसुकै समयमा वर्तमान सरकार ढल्ने मनोविज्ञान हाबी भएको देखिन्छ। पछिल्ला दिनमा वर्तमान सरकारको प्रतिस्थापन बारेमा विपक्षीले कुनै कसरत गरेको पाइँदैन। सत्तापक्षमा पनि खटपट भएको कुनै संकेत मिलेको छैन। तर, उनी सार्वजनिक मञ्चबाट आफैं दोहो¥याइरहेका छन्– मलाई जुनसुकै बेला हटाइन सक्छ। वर्तमान सरकारको आयु १५ दिन वा एक, दुई महिनामात्र हुन सक्ने उनको भनाइ छ। त्यसो त उनले यो सरकार पाँचै वर्ष जाने र आफू पाँचै वर्ष प्रधानमन्त्री हुने पनि बताइरहेको छन् सार्वजनिक रूपमै। उनको बोलीमा यस्तो विशृंखलता किन आइरहेको होला ? यस प्रश्नका पछाडिका विभिन्न कारण हुन सक्छन्।

प्रधानमन्त्री प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री भएका हुन्। २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा उनीसँग प्रचण्ड मत थियो। एकल बहुमत नरहे पनि माओवादी पार्टी ठूलो मत अन्तरमा पहिलो पार्टी बनेको थियो। जनयुद्धको रापताप थियो। एजेन्डाको हिसाबमा पनि माओवादी नेतृत्वदायी जस्तो देखिएको थियो। किनभने त्यसबेलाको मुख्य एजेन्डा संविधानसभा थियो र त्यो मूलतः माओवादीकै अग्रसरतामा भएको विश्वास लिइन्थ्यो। गणतन्त्र र संघीयताको मुद्दामा पनि माओवादीले स्वामित्व लिने प्रयास गरिरहेको थियो।

परिवर्तनकारी पार्टी र चमत्कारी नेताको रूपमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड राजनीतिक वत्तमा स्थापित थिए। तर, त्यो सरकार नौ महिनामै ढल्यो, प्रचण्डकै अपरिपक्वताले। दोस्रोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनी कुनै जनादेश वा एजेन्डाको आधारमा बनेका थिएनन्। केवल लेनदेनको आधारमा बनेका थिए। नेकपा एमालेसँगको खटपटपछि असहज परिस्थिति निर्माण भएको थियो। त्यस्तो अवस्थामा नेपाली कांग्रेससँग साँठगाँठ गरेर आलोपालो प्रणालीअन्तर्गत उनी २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। त्यो पटक प्रधानमन्त्री बन्दा र छोड्दा दुवै अवस्थामा पहिलोपटक जस्तो उत्साह न उनमा थियो न अरूमा। यो एउटा फरक परिस्थिति थियो। बदलाको राजनीतिको परिणति थियो। कुनै स्पष्ट एजेन्डा र मार्गदर्शन थिएन। तैपनि एउटा चरण पूरा भएको थियो। उनले सहज ढंगले नेतृत्व गरेका थिए र त्यसैगरी हस्तान्तरण पनि गरेका थिए।

त्यसपछिको निर्वाचन आउञ्जेल परिस्थिति अर्कै भइसकेको थियो। एउटा पार्टीसँग सत्ता सहकार्यको अवस्थामा रहिरहेकै बेला उनले अर्को पार्टीसँग निर्वाचनमा सहकार्य गरेका थिए। सहकार्यमात्र होइन, भविष्यमा पार्टी एकता गर्ने सर्तसहित एउटै चुनावी घोषणापत्र र मोर्चामा चुनावमा गएका थिए। सिट संख्याको आधारमा त्यो निर्वाचन उनका लागि उपलब्धिमूलक रह्यो। झन्डै दुई तिहाइको नजिक सिट संख्या हासिल गर्न मोर्चा सफल भयो। तर पनि तत्काल प्रधानमन्त्री बन्न प्रचण्डलाई सहज थिएन। उनले आकांक्षा राखेको वा प्रयत्न गरेको अवस्था पनि थिएन। बरु पार्टीमा अध्यक्षको हैसियत साझेदारी गर्दै पार्टी एकता गरेर अघि बढ्ने मार्गचित्रमै थिए उनी पनि।

अहिले प्रधानमन्त्री प्रचण्डमा जुन मनोविज्ञान देखिन्छ, त्यो सत्ताा केन्द्रित मनोविज्ञान हो। उनमा जुन भय छ, त्यो सत्तााको भय हो। यसको पछाडि आन्तरिक र बाह्य दुवै कारण हुन सक्छन्।

दुवै पार्टी र दुवै अध्यक्षको यस्तो चाहनाले सार्थकता पाएको थियो। लामो समयदेखि एउटै कम्युनिस्ट पार्टीको प्रयत्न सफल भएको थियो। दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीको एकीकरणसँगै। तर, यात्रा सहज भएन। पार्टीभित्र मतभेद बढ्यो। पार्टी फुट्यो। पहिले व्यवहारमा फुट्यो। पछि अदालतबाट अलगियो। तेस्रोपटक उनी प्रधानमन्त्री बन्ने परिस्थिति अझ असहज थियो। कम्युनिस्ट पार्टीको विभाजनपछि शत्रुवत् सम्बन्धमा रहेका एमाले र माओवादी तथा व्यक्तिगतरूपमा केपी ओली र प्रचण्डबीचको मिलाप कसैको अनुमानमा थिएन। प्रचण्ड कांग्रेसलगायत पार्टीसँग सत्ता सहकार्य र चुनावी मोर्चामा थिए।

प्रचण्ड निर्वाचनपछि प्रधानमन्त्री हुनेमा आशावादीमात्र होइन, विश्वस्त थिए। तर, त्यस मोर्चाबाट प्रधानमन्त्री हुन सम्भव भएन। त्यसको रनाहामा उनी बालकोटको बार्दलीमा पुगे। र, ओलीसहितका पार्टीहरूको समर्थन लिएर प्रधानमन्त्री बने। यो अर्को अस्वाभाविक कदम थियो। राजनीतिमा जे पनि सम्भव छ भन्ने अर्को भाष्य निर्माण गरिएको थियो। यो भाष्य प्रचण्ड प्रधानमन्त्री हुँदा जसरी निर्माण भएको थियो, संसद्बाट विश्वासको मत प्राप्त गर्दा अझ उदेकलाग्दो गरी बलियो भएको थियो। ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड देउवाको समर्थनमा विश्वासको मत लिएर अर्को बाटो लागेका थिए।

नेपालमा सत्ता समीकरणमा अस्वाभाविक बदलाव आउने गर्छ। नैतिकताको दृष्टिले बेठीक भए पनि अभ्यासमा यो कुनै अनौठो विषय थिएन, रहेन। सत्ताका निम्ति जुनसुकै पार्टी जुनसुकै समयमा जुनसुकै पार्टीसँग नजिक र टाढा हुने प्रवृत्ति छ। नेपाली कांग्रेस र एमालेबीच थुप्रै पटक सत्ता सहकार्य भएको छ। कांग्रेस र माओवादीबीच पनि उसैगरी भएको छ। त्यस्तै एमाले र माओवादीबीच पनि पटकपटक भएको छ। यो खेलमा एकताका कांग्रेस अघि थियो। त्यसपछि एमाले आयो। अहिले माओवादी छ। विशेषतः तेस्रो पार्टी यसमा बढी लाभान्वित हुने प्रवृत्ति देखिन्छ।

माओवादी अहिले तेस्रो शक्ति रहेकाले यो खेलमा ऊ अझ बढी ‘कम्फर्टेबल’ छ। तर, फेरि पनि कांग्रेस र एमाले वा एमाले र माओवादीबीच सत्ता सहकार्य भएमा कुनै उदेक मान्नु पर्दैन भन्ने चर्चा राजनीतिक वृत्तमा छ। यस्तो अवस्थामा प्रचण्डमा एकातिर कांग्रेस र एमाले मिल्न सक्ने भय देखिन्छ भने अर्कोतिर कांग्रेससँग छुट्टिनु परे एमालेसँग जोडिने सम्भावनाको आभास पनि भइरहेको छ सायद। अथवा एमाले देखाएर कांग्रेसलाई दबाबमा राख्न सकिने आशा छ उनीसँग। यसैले उनी एकैछिनमा ढल्ने जोखिम देख्छन् भने सँगसँगै पाँचै वर्ष टिक्ने आशा पनि राख्छन्।

माओवादी अध्यक्ष प्रचण्ड आफूलाई लचकता भएको नेता भन्ने गर्छन्। लोकतन्त्रमा लचकता आवश्यक हुन्छ। यद्यपि नेतृत्वमा दृढता चाहिन्छ। अस्थिर मानसिकताले राजनीतिलाई गिजोल्छ। राजनीतिमा मौकापरस्त वा आत्मकेन्द्रित प्रवृत्ति एकदमै खतरनाक हुन्छ। यसले आन्दोलनलाई विघटनमा पुर्‍याउँछ। जनतालाई धोका दिन्छ। लचकताको आवरणमा सम्झौतापरस्त प्रवृत्ति हावी भएमा त्यसलाई धोकाको रूपमा लिइन्छ।

अहिले प्रधानमन्त्री प्रचण्डमा जुन मनोविज्ञान देखिन्छ, त्यो सत्ता केन्द्रित मनोविज्ञान हो। उनमा जुन भय छ, त्यो सत्ताको भय हो। यसको पछाडि आन्तरिक र बाह्य दुवै कारण हुन सक्छन्। उनी आफूमा उत्पन्न भयलाई अरूमा सारेर सत्ता यात्रालाई लम्ब्याउने प्रयासमा छन्। सायद उनको यो प्रयासले लामो समयसम्म सफलता पाउने सम्भावना नरहन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.