गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण
जोमसोम : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। गत साउन २८ गते आएको बाढीको कारण भएको क्षतिको अवलोकन गर्न मंगलबार वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी पुगेका हुन्।
गृहमन्त्री श्रेष्ठसहित गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराई, गृह मन्त्रालयअन्तर्गतका विपद् प्राधिकरणका सहसचिव एवं इन्जिनियर रामेश्वर मरठ्ठा र मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ आएका हुन्।
बाढी प्रभावित क्षेत्र मुस्ताङको अवलोकन तथा निरीक्षणपछि मन्त्री श्रेष्ठले नेपालकै प्रसिद्ध धार्मिकस्थल कागबेनी श्राद्ध स्थलसहित यहाँका करोडौंको भौतिक संरचनामा क्षति पुर्याएकोमा दुःख व्यक्त गरे।
क्षति पुर्याएको क्षेत्रको पुनर्निर्माणका लागि विज्ञहरूको अध्ययनपछि योजना तयार गरिने र वैज्ञानिक ढंगले समाधान गर्न सरकारले पहल गर्ने गृहमन्त्री श्रेष्ठ बताए।
फरक प्रसंगमा उनले उत्तर/दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना अन्तर्गत कोरला सडक विस्तार भइरहेको र छिट्टै सरकारले कोरला नाका खोल्न छलफल भइरहेको जानकारी दिए।
सरकारले नाका खोल्न उपयुक्त पूर्वाधार र संरचना निर्माण गर्न पहल भइरहेको बताए। मन्त्री श्रेष्ठले हेलिकोप्टरमार्फत ढुवानी गरिएको टेन्ट, त्रिपाल र कम्बल स्थानीय तहलाई हस्तान्तरण गरे।