नेपालबाट दस हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं : भारत सरकारले नेपालसँग दस हजार मेगावाट बिजुली किन्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरेको छ। यससँगै भारतले आगामी दस वर्षसम्म नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रक्रिया सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला नेपाल र भारतबीच विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट दस हजार मेगावाट बिजुली खरिद गर्ने सार्वजनिकरूपमै उद्घोष गरेका थिए।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले सामाजिक सञ्जालमार्फत् भारत सरकारले नेपाल र भारतबीच भएको विद्युतीय व्यापार सम्झौतालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरेको जानकारी दिएका छन्। भारत सरकारले दिएको स्वीकृतिसँगै विद्युत् विकासमा नयाँ मार्गचित्र बनाउने बाटो खुला भएको उनको भनाइ छ। यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्न विश्वास उनको छ।