बाढी प्रभावित क्षेत्रका लागि गाउँपालिकाले जुटायो राहत
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी बाढी प्रभावित क्षेत्रका लागि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले आर्थिक सहयोग जुटाएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छिमी बिष्टको विशेष पहलमा करिब ६ लाख ९२ हजार आर्थिक सहयोग जुटाएको हो।
एक स्थानीय तहको विपद्को घडीमा अर्को स्थानीय तहले मानवीय सहयोग गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै लोमान्थाङले पालिकाको ५ वटै वडामा कागबेनी बाढी प्रभावित क्षेत्रको विपद् व्यवस्थापन प्रयोजनार्थ आर्थिक संकलन अभियान चलाएका थियो।
लोमान्थाङले पालिकाको वडा नम्बर १ मा १ लाख २१ हजार, वडा नम्बर २ मा १ लाख ४ हजार, वडा नम्बर ३ मा ८६ हजार ५ सय, वडा नम्बर ४ मा ७६ हजार ५ सय र वडा नम्बर ५ मा ३ लाख २ हजार ७ सय आर्थिक संकलन गरेको थियो।
लोमान्थाङले संकलन गरेको आर्थिक सहयोग बाढी प्रभावित वारागुङ मुक्तिक्षेत्रको स्थानीय तह प्रकोप व्यवस्थापन कोष खातामा जम्मा गर्न पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङलाई हस्तान्तरण गरेको लोमान्थाङका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्रले विपद्को घडीमा छिमेकी स्थानीय तहले गरेको आर्थिक सहयोगप्रति धन्यवादसहित आभार प्रकट गरेको पत्र लोमान्थाङलाई बुझाएको छ।
यसैगरी लोमान्थाङ गाउँपालिकाले कागबेनी बाढी प्रभावित क्षेत्रको उद्धार तथा नदी नियन्त्रण लगायतका काम गर्न पालिकाको स्वामित्वमा रहेको डोजर निःशुल्क उपलब्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिए। उक्त डोजर ६ महिनाअघि मित्र राष्ट्र चीन सरकारले लोमान्थाङलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो।