छोराको दीर्घायुको कामना गर्दै मनाइयो त्रिछठ्ठी पर्व
कपिलवस्तु : लुम्बिनी प्रदेशका तराई मधेसका जिल्लाहरूमा आज महिलाहरूले खुशीयालीका साथ त्रिछठ्ठी पर्व मनाएका छन्। आफ्नो छोराको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै मधेसी समुदायका महिलाहरूले यो पर्व मनाएका हुन्।
पर्वमा महिलाहरूले बिहान सबेरै उठेर स्नान गरी कुश, वरियारा, महुवाको हांगाको पूजा गरेका छन्। कसैले घर किनारको चौरमा त कसैले देवी स्थानमा बसेर यो पूजा गर्ने गर्छन्। पूजा सकिए लगत्तै महिलाहरूले त्रिछठ्ठी माताको कथा श्रवण गरेको यशोधरा गाउँपालिका-३ का ध्यानेन्द्रमणि त्रिपाठीले बताए। छोराका लागि पत्नीले त्रिछठ्ठी पूजा सम्पन्न गरिन्, त्रिपाठीले भने, 'हाम्रो समुदायका छोरा हुने सबै महिलाहरूले हर्ष उल्लासका साथ यो पत्र मनाएका छन्।'
लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला लगायत तराई मधेसमा यो पर्वलाई महिलाहरूले हरेक वर्ष धुमधामका साथ मनाउने गरेका छन्।
त्रिछठ्ठी पर्व तराई मधेसका महिलाहरूको पवित्र पर्व भएका कारण यसदिन पालिका स्तरबाट सार्वजनिक स्थानीय बिदा दिनुपर्ने कपिलवस्तु नगरपालिका-२ की शिक्षिका प्रतिभा श्रीवास्तवले बताइन्।