वडाध्यक्षको कुटाइबाट शिक्षक घाइते, यस्तो छ घटनाको वास्तविकता
गुल्मी : गुल्मीको मालिका गाउँपालिका- ७ घमिरमा देविस्थान माध्यमिक विद्यालयमा गत सोमबार सदाजस्तै ४ बजे विदा भयो । विद्यालय विदा भएपछि विद्यार्थी र शिक्षक आफ्नो घरतिर लागे । भौतिक पूर्वाधारको कामले विद्यालय मैदानमा डोजर चलिरहेको थियो । विद्यालय विदापछि मैदानको छेउमा उभिएर प्रधानाध्यापक खिमबहादुर बुढाथोकी ,शिक्षक गोविन्द पन्थी ,ज्ञानराज पन्थी डोजर हेर्दै समसामूहिक विषयमा छलफल गरिरहेका थिए । सोही बेला खेलमैदान र डोजरले गरेको काम अनुगमनका लागि वडाध्यक्ष हिराबहादुर कार्की विद्यालयको खेल मैदानमा आए।
खेलमैदानको अवलोकन गरेपछि शिक्षक र वडाध्यक्षबीच गफगाफ चलिरहेको चल्यो । त्यसै समयमा विद्यालय विदापछि घर हिँडेका शिक्षक यमलाल पन्थी अचानक एक निजी विद्यालयबाट छोरा लिएर छलफल भइरहेको ठाउँमा आए ।
उनीहरूको गफगाफ चलिरहेको बेलामा शिक्षक पन्थीले श्रीमतीको सरुवाको कुरा निकाले । आफू पटकपटक वडा र जनप्रतिनिधिबाट अन्याय परेको सुनाउँदै आफ्ना कुरा राखे । एकाएक सामान्य गफगाफ झगडामा परिणत भयो । झण्डै एक घण्टा वडाध्यक्ष कार्की र शिक्षक पन्थीबीच श्रीमती सरुवाको विषयमा भनाभन नै चल्यो ।
शिक्षकले लामो समय वडाध्यक्षलाई गालीगलोज गरिरहे । वडाअध्यक्षले सुनिरहे तर केही प्रतिक्रिया जनाएनन् । शिक्षकले आफ्नो रिसको आवेगलाई गति दिएर तथानाम गाली गरिरहे । वडाध्यक्ष कार्कीले शिक्षकलाई घरमा जान आग्रह गरे तर, उनले मानेनन् । विवादले उग्ररुप लिएपछि भानुपोखरा बजारबासीको विवादित स्थलमा भीड लाग्यो ।
बजारबासीकै बीचमा शिक्षक पन्थीले अपशब्द प्रयोग गरी गाली गर्दै थुकिदिएपछि वडाध्यक्ष कार्कीले उनलाई हात छोडेको प्रत्यक्षदर्शी बताउँछन् । कुटपिटपछि पन्थीको मुखमा,घाँटी र टाउकोमा चोट लागेको छ । हातपातपछि विवाद साम्य भयो । शिक्षक,स्थानीय र वडाध्यक्ष आ-आफ्नो घरतिर लागे । तर, घाइते भएका शिक्षक त्यहि विद्यालयको मैदान छेउमै बसिरहे ।
उनले वडाध्यक्षद्वारा आफूमाथि हातपात भएपछि मर्भुङ्ग प्रहरी चौकीमा खबर गरे । खबर गरेको केही समयमै प्रहरी घटनास्थलमा आइपुग्यो । प्रहरीले उनी र स्थानीयबाट घटनाबारे जानकारी लियो । घाइते भएका शिक्षक पन्थीलाई प्रहरीले गाडी खोजेर उपचारको लागि गुल्मी अस्पताल पठायो ।
घाइते शिक्षक मालिका ७ घमिरको देविस्था माविमा कार्यरत छन् । उनी निमाविका विज्ञान विषयका स्थायी शिक्षक हुन् । जानकी पाण्डेय शिक्षक पन्थीकी श्रीमती हुन् । उनी प्रावि अस्थायी करार शिक्षक हुन् । पाण्डेयले विगत केही समयदेखि गाउँकै मैदानचौर प्राविमा पढाउँदै आएकी थिइन् ।
श्रीमानसँग भएको घर झगडाले उनी लामो समय माइत गएकी थिइन् । पारिवारिक झगडाले माइत गएकी पाण्डेय दुई महिना विद्यालयमा अनुपस्थित भइन् । विद्यार्थीका पठनपाठनमा समस्यासँगै अभिभावकको गुनासो वडादेखि गाउँपालिकामा पुग्यो ।
गाउँपालिकाले बरारुख आधारभूत विद्यालयका कमल विक र मैदानचौर प्राविका शिक्षक पाण्डेयलाई एकअर्काको ठाउँमा सरुवा गरिदियो । विक शिक्षक प्रायः मदिरामा लठ्ठिएर विद्यालय नजाने गरेको अभिभावक र स्थानीयबाट व्यापक गुनासो आएको थियो ।
गाउँपालिकाले गाउँकै बरारुख आधारभूत विद्यालयबाट उनलाई मैदानचौर प्राविमा सरुवा गरेको थियो। विक प्रावि स्थायी शिक्षक हुन् । शिक्षक पन्थीकी श्रीमतीलाई त्यही मौकामा गाउँपालिकाले मैदानचौरबाट बरारुख आधारभूत विद्यालयमा सरुवा गरेको हो ।
पहिले घरझगडा हुँदा श्रीमतीको जागिर छुटाउने र डिर्भोसको धम्की दिनेसम्मका हर्कत गर्थे पन्थी । अहिले उनी र श्रीमतीबीच सम्बन्धमा सुमधुर बन्दै आएको छिमेकी बताउँछन् । शिक्षक पन्थी पटक पटक विद्यालय र समाजमा आलोचित भइरहन्छन् ।
समाज,विद्यालय र श्रीमतीसँग झगडा गरेर शिक्षकजस्तो व्यक्तिले नकारात्मक सन्देश दिएको गाउँका अगुवा बताउँछन् । जनताको सुख दुःखमा काम गर्ने प्रतिवद्धसहित निर्वाचित भएका वडाध्यक्षले यस्तो गर्नु नागरिकप्रति विश्वासघात भएको स्थानीय बताउँछन्।
यतिबेला गुल्मीमा वडाध्यक्षले शिक्षकलाई कुटेको खबरले सामाजिक संजाल तातिरहेको छ । कुटपिटको घटनालाई लिएर थुप्रै आलोचना भइरहेका छन् । कतिपयले सार्वाजानिक पद धारण गरेको व्यक्तिले शिक्षकमाथि हात हाल्नु नै गलत भएको बताउँदै आएका छन् ।
कतिले शिक्षकले जनप्रतिनिधिलाई गरेको व्यवहारले देख्दा पिट्नु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । शिक्षकलाई अनुहार घाँटी र मुखमा चोट टाउकोमा दुखाइ छ । उनी अहिले गुल्मी अस्पतालमा उपचाररत छन् । शिक्षक पन्थीले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
सामान्य भनाभनको क्रममा वडाध्यक्ष कार्कीले मोबाइल खोस्ने र आफूलाई लछारपछार पारेको शिक्षक पन्थीले बताए । उनले यतिबेला वडाध्यक्ष र आफूबीचको झगडामा पारिवारिक विषय नजोड्न आग्रह गरे । वडाध्यक्षले गरेको हर्कतले शिक्षक र पेशाको अपमानसहित आँच आएको उनको भनाइ छ।
उनले भने,' श्रीमती अन्यायमा परेपछि पटकपटक वडाका जनप्रतिनिधिसँग गुनासो पोखे तर कतैबाट सुनुवाइ भएन् । उनले आफूलाई वडाध्यक्षबाट ज्यान मार्नेसम्म प्रयास भएपछि आफूले न्याय र सुरक्षाको अनुभूति नभएसम्म गाउँ फर्किदैन।'
वडाध्यक्ष कार्कीले भने गाली बेइजत गर्न थालेपछि आफू प्रतिकारमा उत्रिएको बताए। उनले भने,'उहाँले स्थानीयको अगाडि घण्टौंसम्म गाली बेइजती गर्नुभयो मैले सुनिरहे तर, तीनपटक मुखमा थुकिदिएपछि बाध्य भएर मुख च्याप्दिएको हुँ। मैले नागरिक भनेर केही भनिन् तर उहाँले शत्रुलाई गर्ने व्यवहारजस्तो गर्नुभयो।'