म्याग्दीको गुर्जामा इटालीयन जातको स्याउ फल्यो
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका -१ गुर्जामा स्याउ खेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएको थियो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बिरुवामा यस वर्षदेखि फल लागेको जानकारी दिए ।
‘परीक्षणका लागि जोखिम मोलेर स्याउ खेती गरिएको थियो,’उनले भने, ‘सबै बिरुवामा फल लागेको छ । गुलियो स्वाद पसेको छ ।’
गुर्जाको स्याउ खेती भएको नाङलीबाङको उचाई समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर,घेराबार गरी स्याउको बगैचा बनाएका थिए । नाइलीबाङमा २६ जना कृषकले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका छन् ।
अन्यत्र यही उचाईमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको पचास प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८/०७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिक श्याम शरण कुर्मीले गुर्जामा जिल्लामै पहिलो पटक स्याउ खेतीको परीक्षण सफल भएको बताए ।
‘हावापानी,वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको थियो,’उनले भने, ‘छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउ खेती विस्तारको सम्भावना बढेको छ ।’
यसअघि गुर्जामा स्थानीय जातको स्याउ खेती गरिए पनि अपेक्षाकृत सफलता हाँसिल भएको थिएन। ‘पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटो फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो,’वडा अध्यक्ष छन्त्यालले भने, ‘उच्च घनत्वको स्याउ खेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौं ।’