गठबन्धन सरकार कसैले ढलाउनु पर्दैन,आफै ढल्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नुवाकोट : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ट देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा उद्यत रहेको आरोप लगाएका छन् । उनले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गरेर गठबन्धन सरकार असफल भएको समेत दावी गरे।
दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर आएका पूर्वउपप्रधानमन्त्रिसमेत रहेका पोखरेलले देश अस्थिरतातर्फ गएको जिकिर गरे । उनले देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए।
उनले गठबन्धनको सरकारले विकास,आर्थिक सम्वृद्धि,राष्ट्रिय स्वाधिनताको रक्षा, कुटनीतिक स्थायित्व र सामाजिक सद्भाव कायम राख्न नसकेका कारण असफल भइसकेको दावी गरे । उनले अगाडि भने,' देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छैन।'
सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ। उनले भ्रष्टाचारसम्बन्धी प्रकरणमा खुल्ला रुपमा छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गरिनुपर्ने माग गरे।
उनले देशको निकासका लागि एमाले मुलविन्दुमा रहेको बताउँदै नेता पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए। उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले अब मिसन ८४ लिएर आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,' सरकारमा जाने मनसाय पार्टीको छैन,सरकारलाई ढाल्ने प्रयास गर्नै पर्दैन,यो सरकार आफै ढल्छ।'
एमाले देशको निर्णायक शक्ति रहेका कारण देशमा विविध समस्या आइरहेको बताउँदै पाखरेलले अहिले सबैर अराजकता बढेको बताए । उनले भने,'अहिले नैतिक,सामाजिक अराजकता बढेको स्थिति छ ।
जसलाई जे मन लागे पनि भन्दिने,आरोप लगाइदिने गलत चलन बढेको छ, त्यो कुण्ठाको उपज मात्रै हो ।
उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपालः सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने भन्दै विचार र एजेण्डाबिनाका दलहरूबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे । जनताले रुचाएका कारण एमाले सुदृढ र बलियो भएर आएको पोखरेलको भनाइ छ । उनले एमाले अब मिसन ८४ को साथमा गठबन्धनले गरेका अनियमितताहरू जनतामाझ उजागर गर्दै लैजाने अभियानमा लागेको बताए।