विराटनगर : योगेन्द्र राई धनकुटाको सहिदभूमि गाउँपालिका–३ का पूर्ववडाध्यक्ष हुन्। प्यारालाइसिसको समस्या देखिएपछि २०७६ सालदेखि देब्रेतर्फको हात र खुट्टा चल्न छाड्यो। नेपाल र भारतमा उपचार गराउँदा ३० लाख हाराहारी सकियो।
‘उपचारमा धेरै पैसा सकिएर तनावमा थिएँ। यस्ता धेरै बिरामीलाई ‘शिवशक्ति बाबा’ले ठीक पारेको कुरा यूट्युबभरि रहेछ। निको हुने आशले चिकित्सकको नियमित उपचार छाडेर २०७९ भदौमा म बाबाकोमा पुगें,’ ४९ वर्षीय योगेन्द्र भन्छन्।
बाबाकोमा प्रवेश शुल्क भनेर सुरुमै ४० हजार रूपैयाँ मागिएको उनी सुनाउँछन्। ‘उपचारका क्रममा २० दिनजति बाबाकैमा बसें। झन् समस्या बढ्दै गएपछि चिकित्सककै सम्पर्कमा पुगें’, उनले भने। डाक्टरको सल्लाहबमोजिम नियमित औषधि सेवन र थेरापी गर्न थालेपछि विस्तारै उनलाई निको भयो।
मोरङको लेटाङ नगरपालिका २ का आशिष राईले बुवा ६८ वर्षीय रत्नकुमार राईलाई उपचारका लागि बाबाकोमा पुर्याए। ‘बुवालाई डेढ वर्षदेखि नशाको समस्या थियो। सुरुमा हात चल्दैन थियो। अहिले प्यारालाइसिसले ओछ्यान पर्नु भयो। उठ्न र बोल्नसमेत सक्नु हुन्न,’ केही हुन्छ कि भन्ने आशले बुबालाई बाबाकोमा लगिएको उनले बताए।
२०७९ असारमा बाबाकोमा पुर्याउनु अघिसम्म आशिषका बुवा रत्नकुमार मजाले हिँड्डुल गर्न सक्थे। ‘भेद तान्नुपर्छ भन्दै सुरुमा ४० हजार मागियो। पछि थप ३० हजार लिए,’ उनी भन्छन्, ‘त्यहाँ १५ दिनजति बसेपछि बुवालाई झन् गाह्रो भयो। फर्काएर ल्याउँदै अहिले चिकित्सकको सल्लाहबमोजिम औषधि खुवाउँदैछौं।’ ७० हजार खर्च भएपछि बुवालाई पार नलाग्ने बुझेर घरै फर्काएको उनले सुनाए। उनले भने, ‘एक जनासँग ३ लाख रूपैयाँसम्म असुलेको कुरा छ। अझै बढी तिर्नेहरू पनि छन् अरे।’ बिरामीको स्याहार गर्न भनेर राखिने हेरालुका लागि भिन्दै पैसा बुझाउनुपर्ने अवस्था रहेको उनी सुनाउँछन्।
आफूलाई ‘शिवशक्ति बाबा’ बताएर सर्वसाधारण माथि ठगी गर्ने व्यक्ति मोरङको लेटाङ नगरपालिका–९ जाँतेका मिलन भनिने सुजनकुमार पूर्वछाने मगर हुन्। लामै समयदेखि अवैध धन्दा चलाइरहेका उनीबाट ठगिनेहरूको संख्या ठूलो छ।
उनले बिरामीलाई बस्ने व्यवस्थासहित घरमै शिवको मन्दिर बनाएका छन्। उपचारका लागि आउनेलाई चमर, त्रिशूल र घण्टाले हानेर निको पार्ने आश्वासन दिन्छन्। स्थानीयका अनुसार उपचारका लागि पुगेकामध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। बिरामीको मृत्यु भएमा सुटुक्क एम्बुलेन्स बोलाएर शव पठाउँदै घटनालाई ‘गुपचुप’ पार्ने गरिएको एक स्थानीय बताउँछन्।
उनको प्रचार गर्न निश्चित रकम दिएर यूट्युबरको एउटा टिम नै परिचालित गरिएको स्थानीयको भनाइ छ। ‘भ्रामक प्रचार गरेर सर्वसाधारणमा भ्रम छर्ने यूट्युबर र बिरामी निको पार्छुभन्ने ‘शिवशक्ति बाबा’लाई पनि कारबाही हुनुुपर्छ,’ पूर्ववडाध्यक्ष योगेन्द्रले भने, ‘यूट्युबरको बलमा खुलेआम ठगी धन्दा चलाइरहँदा स्थानीय सरकारदेखि प्रशासनसम्म मौन हुनु दुःखद् हो।’
‘शिवशक्ति बाबा’को अवैध धन्दा रोक्नुपर्ने माग राख्दै स्थानीयले वडा कार्यालयलाई गुहारेका छन्। स्थानीयले गत असार ११ गते उजुरीसमेत दिएका थिए। उपचार गराउन भनेर आएकाले मदिरा सेवन गरेर होहल्ला तथा झैझडा गर्ने र समाजमा अनेक विकृति फैलाउने गरेको विषय उजुरीमा खुलाइएको छ। तर, वडाले त्यसको सुनुवाइ गरेको छैन।
‘शिवशक्ति बाबा’ भनिने सुजन भने आफूले उपचार गरेर बिरामीलाई सेवा दिइरहेको दाबी गर्छन्। ‘अस्पतालले निको हुँदैन भनेर बिदा दिइसकेका र परिवारले माया मारेका बिरामीलाई तान्त्रिक विधि तथा जडिबुटीका माध्यमबाट उपचार गरेर निको बनाइरहेको छु,’ उनले भने, ‘बिरामीलाई कागज नै गरेर निको पार्ने जिम्मा लिन्छु।’ अस्पतालमा उपचार गराएर सबै पैसा सकिएपछि ठीक नभएका बिरामी आफूकहाँ आउने सुजनको दाबी छ। ‘गरिब तथा रोग लागेकालाई सहयोग गर्ने मेरो उदेश्य हो। धेरै पैसा लिएकै छैन,’ उनले भने, ‘उपचारका लागि आउनेलाई बसेको पैसा लिन्छु। बिरामी निको भएको देख्न नचाहनेहरू मेराविरुद्ध लागेका छन्।’
पैसा कमाउने र ठगी गर्ने उद्देश्य आफ्नो नरहेको दाबी गर्दै उनी भन्छन्, ‘बिरामी निको पार्ने ग्यारेन्टी लिन्छु। उपचारका लागि आएका ९५ प्रतिशत निको भएका छन्।’