रोकिएन कर्णालीको कटानः खतरामा रानीको मुहान
टीकापुर : कैलालीको जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदीमा पानीको सतह घट्दै गएको भए पनि केही दिनयता कटान तीव्र पारेको हो। कटानका कारण वनका सयौं रुखहरू बगिरहेका छन् भने राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ अन्तर्गतको रानी कुलाको पुरानो मुहानसमेत कटानको जोखिममा परेको छ।
वनका सदस्य रणवीर साउँदले वनघुर्सा घाटको वारीपट्टी, रानी कुलाको पूरानो मुहान नजिक कर्णाली नदीले तीव्र कटान गरिरहेको बताए। ‘नदीको कटानका कारण सामुदायिक वनका कयौं रुखहरू बगिरहेका छन्’ उनले भने ‘दैनिक ५०/६० मिटर भन्दा बढी कटान गरिरहेको छ, यसैगरी कटान भए रानी कुलाको पूरानो मुहानबाट कर्णाली नदी गाउँ पस्ने खतरा छ।’
नदीले कटान गरिरहेको क्षेत्रबाट ३ सय मिटरको दूरीमा आयोजनाको मुख्य नहर छ। गत वर्षसम्म पुरानो मुहानबाट पानी ल्याएर सिँचाइ गर्दै आएका किसानहरू नदीको कटानका कारण नहरमा क्षति पुग्ने चिन्तामा छन्।
टीकापुर नगरपालिका-२ विजयनगरका हरि चौधरीले नदीले नियमित कटान गर्न थालेपछि नदी गाउँ फर्किने त्रास बढेको बताए। ‘पुरानै कुलाको मुहान छ, त्यहाँबाट नहरमा पानी आउन गाह्रो छैन’ उनले भने ‘नदीको पानी आए टीकापुरको विजयनगर, बजार क्षेत्र, वडा नं. ५ लगायतका दर्जनौं बस्तीहरू डुबानमा पर्ने देखिन्छ।’
कटानले आयोजनाले निर्माण गरेको तारजाली सहितको तटबन्ध समेत बगाएको स्थानीय रवीन्द्र शाहले बताए। ‘नदीले ग्याबिन तारजालीसहितको तटबन्ध बगाइरहेको छ’ शाहले भने ‘कटान तत्काल नियन्त्रण नगरे रानी कुलाको मुख्य नहर, पानीको आउटलेट र कुलामा रहेको चौकीदारको घरसमेत जोखिम पर्ने देखिन्छ।’
वनका कोषाध्यक्ष समेत रहेका शाहले नदी कटानबारे आयोजनालाई लिखित जानकारी दिइएको भए पनि नियन्त्रणका लागि पहल नभएको बताए।