नुवाकोट प्रहरीमा स्मार्ट कन्ट्रोल रुम
नुवाकोट : जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरेको छ। घटनाहरूको लगत डिजिटल रुपमा राख्नका लागि स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरिएको हो।
कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागि स्थापना गरिएको स्मार्ट कन्ट्रोल रुमको विदुरमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।
नुवाकोटका स्थानीय तहहरू तथा अन्य निकायको आर्थिक सहयोगमा स्थापना गरिएको र यसबाट डिजिटल रुपमा घटनाको जानकारी लगत र रिपोर्टका लागि सहज हुने कार्यालयले जनाएको छ।
प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने तथा एसएमएसबाट समेत घटनाबारे जानकारी गराई तत्काल घटनास्थल पुग्न यस सम्बन्धी एप पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।