नेपालभित्रै उच्च शिक्षाका उत्कृष्ट विकल्प हुँदाहँुदै पनि पछिल्लो समय युवाहरू कमाइको मोहले वैदेशिक अध्ययनमा जाने प्रवृत्ति बढेको छ। विगत १० वर्षको तथ्यांकलाई केलाउँदा बर्सेनि १२ कक्षा अध्ययनपछि उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले बाहिरिने विद्यार्थी हजारौंको संख्यामा बढ्दै गएको देखिएको हो।
तर, मुलुकभित्रका सम्भावनालाई औंल्याउँदा यहाँका शैक्षिक संस्थामा पनि उत्कृष्ट उच्च शिक्षा सम्भव भएको कलेज सञ्चालकहरू दाबी गर्छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैदेशिक अध्ययनका लागि दिएको अनुमतिपत्र (एनओसी–नो अब्जेक्सन सर्टिफिकेट) लाई आधार मान्दा एक दशकमै १२ कक्षा उत्तीर्ण गरेका करिब साढे ५ लाख विद्यार्थीले मुलुक छाडेका छन्। विद्यार्थीहरू यसरी बिदेसिँदा नेपालबाट युवासँगै अर्बौं वैदेशिक मुद्रासमेत अध्ययनको नाममा बाहिरिने गरेको छ। यसरी उच्च शिक्षा अध्ययनका लागि युवा बाहिरिँदा १० वर्षमा ३ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँ बिदेसिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसले युवा जनशक्तिसँगै नेपाली मुद्रा पनि पलायन भएको देखिन्छ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै वैदेशिक शिक्षातर्पmको व्यय १ खर्ब छ। त्यसअघि पनि बर्सेनि अर्बौं रुपैयाँ शिक्षातर्फको व्यय हुने गरेको थियो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ नेपालमै शिक्षाका सम्भावना र रोजगारी सिर्जना गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँछन्। ‘एक वर्षमै शिक्षाको नाममा सय अर्ब रुपैयाँ बाहिरिएको छ। विद्यार्थीहरू पढ्न जाने क्रम बढ्नाले विदेशी सञ्चितिमा प्रभाव पर्न सक्ने भएकाले भविष्यमा यसलाई कसरी रोक्ने र बढीभन्दा बढी पर्यटक कसरी भित्र्याउने भन्नेमा सचेत हुन जरुरी छ,’ उनले भने।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या आर्थिक वर्ष २०७०/७१ मा २८ हजार थियो तर अहिले बर्सेनि लाख नाघिसकेको छ। पछिल्लो आव २०७८/७९ मा १ लाख २ हजार ५ सय ४ जना र २०७९/८० मा १ लाख १० हजार २ सय १७ विद्यार्थी उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन्। यी विद्यार्थीको रोजाई प्रायः युरोपेलियन मुलुक हो। त्यहाँ गएर अध्ययनपछि नेपाल फर्कने सम्भावना नगन्य नै छ। मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा बाहिरएिका कुल विद्यार्थीमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका लागि ३०.८ प्रतिशत, जापान १९.७ प्रतिशत, क्यानडा १९.५ प्रतिशत, बेलायत ९.६ प्रतिशत र अमेरिकाका लागि ३.६ प्रतिशतले एनओसी लिएका छन्।
नेपाल निजी कलेज सञ्चालकहरू भने गुणस्तरीय शिक्षाका लागि नेपालकै विश्वविद्यालय तथा कलेज उत्कृष्ट रहेको बताउँछन्। अधिकांश विद्यार्थी नेपालमा गुणस्तरीय शिक्षाको अभावले नभएर विदेशमा उच्च शिक्षासँगै कमाइको आकर्षणले बाहिरिने गरेको जानकार बताउँछन्।
नेपाल राष्ट्र बैंक प्रकाशन भदौ अंकमा केन्द्रीय बैंकका उपनिर्देशक चोपकान्त सुवेदी लेख्छन्, ‘विद्यार्थीहरू उच्च शिक्षा आर्जनका कारण नभई शिक्षा पूरा गरेपछि हुन सक्ने बेरोजगारी र बेचैनीका कारण पछिल्ला केही वर्षयता कलेज र विश्वविद्यालय शिक्षा उत्तीर्ण गरेका उच्च–मध्यम र उत्कृष्ट विद्यार्थीको रोजाइ वैदेशिक अध्ययन बनेको छ। तीमध्ये कक्षा १२ पास गरी विदेश जाने विद्यार्थीको संख्या अधिक छ।’
उच्च शिक्षालाई पुनर्संरचना गरेर क्याम्पसहरूको सिकाइ गुणस्तर बढाउनसमेत आवश्यक छ।
प्रा.डा. विनय कुसियत, शिक्षाविद्
वैदेशिक अध्ययनका नाममा विद्यार्थी बाहिरिनु भनेको देशको प्रतिभा र विदेशी मुद्राको पलायन मात्र नभएर अन्ततः यो जनसांख्यिक र पुँजी पलायनसमेत हो भन्दै युवा विद्यार्थी देशका ऊर्जा र उत्पादनका स्रोत भएको उनको तर्क छ। उनका अनुसार उच्च शिक्षा पूरा गरेपछि राम्रो रोजगारीको सुनिश्चिततासँगै स्थायी बसोबास अनुमति र विस्तारै स्थायी बसोबार (पीआर)समेत प्राप्त हुने भएकाले पनि ती देशतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ।
विदेशमा विद्यार्थीले कलेज वा विश्वविद्यालय तहको शिक्षा उत्तीर्ण गरेपछि योग्यताअनुसार रोजगारी पाउने, पारिश्रमिक उच्च हुने, छोटो समयमै गुणस्तरीय जीवन सुनिश्िचत हुने र शिक्षापछिको व्यावसायिक जीवनमा बढी सफलता हासिल हुने सम्भावनाले बाहिरिएका विद्यार्थीको स्थायी बसोबासको रोजाइ विदेश नै हुने गरेको उनले औंल्याए। फलस्वरूप नेपाली विद्यार्थीको वैदेशिक अध्ययन ‘वैदेशिक बसाइँसराइ’मा परिणत भइरहेको छ। ‘यसको अर्थ नेपाली विद्यार्थीको वैदेशिक अध्ययन नेपालबाट प्रतिभा पलायन (ब्रेन ड्रेन) को माध्यम बनेको देखिन्छ। वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन,’ उनी भन्छन्, ‘यसले ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीको पलायनसँगै हुने पुँजी पलायन देशका लागि दीर्घकालीन चिन्ताको विषय बनेको छ। विप्रेषणको सीमित स्रोतबाट आर्जित अर्बौं रुपैयाँबराबरको विदेशी मुद्रा शिक्षाको नाममा बिदेसिने गरेको छ।’
शिक्षाविद् प्रा.डा. विनय कुसियत पढाइसँगै जागिरको सुनिश्चितता भएकाले नै वैदेशिक अध्ययनमा विद्यार्थी आकर्षित हुने गरेको बताउँछन्। ‘विद्यार्थीले पढाइमा गरेको लगानीको प्रतिफल खाजेको देखिन्छ। त्यो सम्भावना नेपालमा नदेखेर आज युवासँगै उनीहरूका प्रतिभासमेत बाहिरिएको छ,’ शिक्षाविद् प्रा.डा. कुसियत भन्छन्, ‘नेपालमा नै टिकाउने हो भने गुणस्तरीय शिक्षा मात्रै पर्याप्त हुँदैन, पढेर कमाइ खानसक्ने वातावरण पनि हुनुप¥यो।’ यसो गरे विद्यार्थी पलायन कम हुन सक्ने उनको तर्क छ। ‘धमाधम विश्वविद्यालय मात्रै खोलेर हुँदैन,’ उनले थपे, ‘उच्च शिक्षालाई पुनर्संरचना गरेर क्याम्पसहरूको सिकाइ गुणस्तर बढाउनसमेत आवश्यक छ।’ यसका लागि स्तरीय शिक्षक, अनुसन्धानमुखी शिक्षण सिकाइ, जीवन उपयोगी पाठ्यक्रमहरू, परियोजनामा आधारित अभ्यास अबलम्बन गरिनुपर्ने उनको भनाइ छ। ‘परीक्षा दिएर नम्बर ल्याउने मात्रै सिकाइले त कदापि पर्याप्त छैन,’ प्रा.डा कुसियतले भने। नेपालमा करिब ८७ विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेज सञ्चालन भइरहेकाले अधिकांशको आकर्षण देशभित्रको विश्वविद्यालयभन्दा ती कलेजमा रहेको उनको भनाइ छ।
मुख्यतया बिदेसिएका विद्यार्थीहरू पैसा कमाउने उद्देश्यले नै जाने गरेको बताउँछन् एकेडेमीया इन्टरनेसनल कलेजका प्रिन्सिपल राजेश श्रेष्ठ। उनी भन्छन्, ‘अध्ययन गर्न बिदेसिएकाहरू धेरैले पढाइ पूरा गर्न नसक्ने, कलेजहरू परिवर्तन गर्ने प्रवृत्ति पनि सुनिएको छ। त्योभन्दा त नेपालमा अध्ययन पूरा गर्न गुणस्तरीय शिक्षा उपलब्ध छ।’ यद्यपि कोभिडपछि एकेडेमिक क्यालेन्डरहरू नियमित नभएर परीक्षा नहुनाले पनि विद्यार्थीहरू बिदेसिने प्रवृत्ति बढेको हुनसक्ने आकलन उनको छ। ‘यसकारण पनि १२ कक्षा सकिएपछि विद्यार्थीहरू विदेश अध्ययन गर्न जाने ह्विम चल्यो,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरू बाहिरिने प्रवृत्ति रोक्नुपर्छ भन्ने बुझेर एकेडेमिक क्यालेक्डरअनुसार कक्षा सञ्चालन गरिररहेको छ। हामीले पनि विद्यार्थीलाई व्यावहारिक र अनुसन्धानमा आधारित गुणस्तरीय शिक्षामा केन्द्रित गरेर अध्यापन गराउँदै आएका छौं,’ उनले भने।
यती इन्टरनेसनल कलेजका प्रधानाध्यापक रामदिनेश मिश्र उच्च शिक्षामा बिदेसिने विद्यार्थीहरू अरूको देखासिकीले गर्दा बढी भएको तर्क गर्छन्। अध्ययनका लागि नेपालमा गुणस्तरीय शिक्षा हुँदाहुँदै विदेशमा कमाई गर्ने मोहले यस्तो प्रवृत्ति देखिएको उनले बताए। ‘मुलुकमा सामाजिक–आर्थिक रूपान्तरण जुन किसिमले हुनुपथ्र्यो त्यो हुन नसक्दा, यहाँ भविष्य छैन भन्ने भास्य विद्यार्थीको दिमागमा सिर्जना भयो र विद्यार्थी उच्चशिक्षाका लागि बाहिरिन थाले।’
अब सचेत नागरिकहरू सबैले विद्यार्थीको दिमागबाट यस्तो भुत हटाउन जरुरी भएको उनले औंल्याए। मिश्र भन्छन्, ‘देशभित्रै सम्भावना छन्, गर्न सकिन्छ, राजनीतिक स्थिरता बनाउने काम हाम्रै हो भन्ने जस्ता जनचेतना अब ती युवामा जगाउन जरुरी छ। जबसम्म यस्तो चेतनाको विकास हुँदैन तबसम्म एनओसी लिने काम रोकिँदैन।’ प्रअ मिश्र आफू झैं कलेज सञ्चालकले विदेश झंै पूर्वाधार बनायर गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीहरू बिदेसिन आवश्यक नरहेको बताउँछन। बाहिरिएका विद्यार्थीहरूले पढाइभन्दा कमाईमा केन्द्रित हुँदा रेमिट्यान्स ल्याउने मात्रै काम भएको प्रअ मिश्र बताउँछन्।
स्नातक तह उत्तीर्ण गर्ने छात्रा बढी
राष्ट्रिय तथ्यांकको कार्यालयअनुसार साक्षर जनसंख्यामध्ये स्नातक वा सो सरहमा उत्तीर्ण गर्नेमा ४.६ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार उच्च शिक्षा हासिल गर्नेमा ९ लाख ३० हजार १ सय ७६ संख्या रहेको छ। जसमा महिला ५ लाख १५ हजार १ सय ३ र पुरुष ४ लाख १५ हजार ७३ रहेका छन्।
सामान्यतया उच्च तहमा अध्यापन हुने विषयहरू
नेपालमा सामान्यतया माध्यमिक तह वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिने प्राय विषयहरू मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, कानुन, कृषि, वन,पशुविज्ञान/पशुचिकित्सा/मत्स्यपालन, कम्प्युटर/सूचना प्रविधिलगायतका विषयहरू छन्।
व्यवस्थापन विषयमा आकर्षण अधिक
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको अर्थात् जनगणनाको नतिजाअनुसार सबैभन्दा धेरै व्यक्तिहरू अर्थात् ३५.१ प्रतिशतले व्यवस्थापन क्षेत्रको अध्ययन गरेको देखिएको छ। शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरू २९.९ प्रतिशतसहित दोस्रो स्थानमा छन् भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरू ११.५ प्रतिशतसहित तेस्रो स्थानमा छन्। विज्ञान, स्वास्थ्य, चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर, सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान/पशुचिकित्सा/मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरू क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३०.२ प्रतिशत रहेको छ। लैंगिक आधारमा भने सबैभन्दा धेरै पुरुषहरू ३६.९ ले व्यवस्थापन विषय/क्षेत्र अध्ययन गरेको देखिएको छ भने धेरै महिलाहरू ३६.१ ले शिक्षाशास्त्र अध्ययन गरेका छन्। मानविकी तथा सामाजिकशास्त्र ११.६ अध्ययन गर्ने महिला र पुरुषबराबर छन्।
व्यवस्थापन विषयमा अधिक
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको अर्थात् जनगणनाको नतिजाअनुसार सबैभन्दा धेरै व्यक्तिहरू अर्थात् ३५.१ प्रतिशतले व्यवस्थापन क्षेत्रको अध्ययन गरेको देखिएको छ। शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरू २९.९ प्रतिशतसहित दोस्रो स्थानमा छन् भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरू ११.५ प्रतिशतसहित तेस्रो स्थानमा छन्। विज्ञान, स्वास्थ्य, चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर, सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान /पशुचिकित्सा /मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरू क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३०.२ प्रतिशत रहेको छ। लैंगिक आधारमा भने सबैभन्दा धेरै पुरुषहरू ३६.९ ले व्यवस्थापन विषय/क्षेत्र अध्ययन गरेको देखिएको छ।