डिग्री पासहरू कि जागिरै नपाउने कि ‘ओभरक्वालिफाइड’
डा. मणिराम बन्जाडे, प्रिन्सिपल, निर्वाणा कलेज
विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
विद्यार्थीले आफ्नो रुचि र क्षमतालाई विचार गरेर संकाय छान्नु उपयुक्त हुन्छ। यसो गर्नाले उनीहरूको सिक्ने प्रक्रियालाई अभिरुचिपूर्ण र प्रभावकारी बनाउँछ, विद्यार्थीको जुन विषयमा रुचि छ त्यो पढ्न पनि जाँगर चल्ने र चाँडै सिकिने हुन्छ। तर, पछिल्लो अवस्थालाई मध्यनजर गर्दा धेरै विद्यार्थीले जुन क्षेत्रमा रोजगारीको सम्भावना बढी हुन्छ वा आफ्नो कुनै व्यवसाय सुरु गर्न सहज हुन्छ, त्यही विषय पढ्ने प्रचलन बढ्दै गएको छ। यसबाहेक विषयअनुसारको शुल्कलगायतका खर्च फरक हुन सक्ने भएकाले लागत र आफ्नो आर्थिक अवस्थालाई त विचार गर्नै परिहाल्यो।
हाम्रो शिक्षा प्रणाली व्यावहारिक छैन भनिन्छ, कारण के हो ?
हाम्रो विद्यालय शिक्षा अझै पनि घोकन्ते विद्यामा आधारित छ जसले विद्यार्थीको समग्र विकासमा भन्दा पनि घोकेर धेरै नम्बर ल्याउनेलाई सम्मान र प्रोत्साहन गर्छ। यसले विद्यार्थीलाई वर्तमान समस्या हल गर्न र अवसरलाई सदुपयोग गर्ने क्षमता निर्माण गर्दैन। अहिले धेरैजसो विद्यार्थीमा व्यावहारिक ज्ञानको धेरै नै कमी छ। उनीहरूमा आफूले जानेको कुरा प्रष्ट र निर्धक्कसँग राख्न सक्ने सीप र अरूसँग मिलेर काम गर्ने क्षमता तुलनात्मक रूपमा कमी हुन जान्छ। नेपालमा धेरैले भन्ने गरेको कुरा के हो भने हाम्रो शिक्षण विधि धेरै जसो सैद्धान्तिक ज्ञानमा मात्र केन्द्रित हुने गरेको छ तर व्यावहारिक हिसाबमा सैद्धान्तिक ज्ञानलाई ढाल्ने र प्रभावकारी परिणाम हासिल गर्ने पक्षका बारेमा विद्यार्थीलाई जानकारी हुँदैन। कुनै समस्या वा विषयको बारेमा समग्र विश्लेषण सहितको आलोचनात्मक चेत निर्माण गर्ने, अनुसन्धान गर्ने र नवीन सोच र कामलाई प्रश्रय दिनेभन्दा पनि हाम्रो शिक्षाको मूल्यांकन पद्धतिले जसरी हुन्छ जाँचमा धेरै नम्बर ल्याएर पास हुन प्रेरित गर्छ। जाँचमा नम्बर ल्याउनु पनि मूल्यांकनको एउटा मापदण्ड होला तर अहिलेको अवस्थामा त्यतिले मात्र पुग्दैन। जानेका विषयलाई व्यवहारमा ढाल्न पनि त्यतिकै खाँचो छ। राम्रो नम्बर ल्याएको तर कुनै पनि सीप नभएका विद्यार्थी बजारमा जाँदा अनगिन्ती चुनौतीको सामना गर्नुपर्ने हुन्छ।
शैक्षिक गुणस्तर वृद्धिका लागि प्रणाली परिवर्तन कतिको आवश्यक छ ?
प्रणाली परिवर्तन नगरी सुखै छैन। क्रियाकलापमा आधारित अध्यापन विधि अहिलेको टड्कारो आवश्यकता हो। पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने, नयाँ–नयाँ प्रविधि र शिक्षा सामग्रीको उच्चतम प्रयोग गर्ने, भविष्यमा आवश्यकता पर्ने ज्ञान र सीपका बारेमा विश्लेषण गर्दै तत्अनुसारको पाठ्यक्रम र शिक्षण विधि अपनाउने र सोहीअनुसारको मूल्यांकन विधिलाई अंगिकार गर्नुपर्ने अहिलेको
टड्कारो आवश्यकता हो।
उच्चशिक्षाको नाममा विद्यार्थीहरू किन बिदेसिएका छन् ?
अहिलेको शिक्षा प्रणाली, कतिपय अवस्थामा शिक्षण संस्था अर्थात् विश्वविद्यालयको पाठ्यक्रम, शिक्षण विधि, पढिसकेका विद्यार्थीले पाउने अवसर जस्ता यावत् पक्षका कारण धेरै विद्यार्थी विदेशिने गरेका छन्। समयमा जाँच नहुने, जाँच भए पनि समयमा रिजल्ट नआउने, धेरै कलेजहरूले परम्परागत शिक्षण विधि अपनाउने हुँदा पढाइ गुणस्तरको नहुने, सामाजिक हिसाबले पनि विदेश गएकालाई सम्मान गर्ने र बाहिर जान प्रोत्साहन गर्ने, यहाँ काम गर्दै पढ्नेहरूलाई अवसरहरूको कमी हुने, पढिसकेपछि रोजगारीको समस्या, साथीसंगीको दबाब आदि पक्ष जिम्मेवार छन्। देशको राजनीतिक अस्थिरता र सरकारप्रति जनताको वितृष्णा आदि कारणले पनि विद्यार्थी र अन्य युवाहरू बिदेसिने क्रम बढिरहेको छ, जुन देशका लागि चुनौतीको विषय हो।
नेपालको शिक्षा प्रणाली दुई खालको जनशक्ति उत्पादन गरिरहेको छ, भनिन्छ नि !
त्यो केही हदसम्म सही हो। एकातिर राज्यको अर्बौं लगानी भएका सरकारी विद्यालय र क्याम्पसको पढाइको गुणस्तरमाथि प्रश्न छ। अर्कोतिर निजी क्षेत्रको प्रयत्नबाट स्थापित शिक्षण संस्थाको शैक्षिक गुणस्तर केहीहदसम्म राम्रो छ भन्ने मान्यता छ। सरकारी विद्यालय र क्याम्पसमा धेरैजसो न्यून आय भएका अभिभावकका बाल बच्चा अध्ययन गर्छन्। अर्कोतर्फ केही निजी शैक्षिक संस्थाले लगानीअनुसारको शुल्क तय गर्छन्। रोजगारी र अन्य क्षेत्रमा निजी विद्यालयमा पढ्नेले बढी अवसर पाएको देखिन्छ। मुलुकमा दुई खालका जनशक्ति उत्पादन भइरहेको भन्ने जुन प्रश्न सहतमा आएको छ, त्यसलाई नीतिगत रूपमा सम्बोधन गरेर निराकरण गर्ने जिम्मेवारी पनि राज्यकै हो।
नेपाली र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरमा के–कस्ता भिन्नता छन् ?
नेपालको पछिल्लो सन्दर्भ हेर्ने हो भने यो समसामयिक प्रश्न हो। तपाईंले भन्नुभए जस्तै धेरै नेपाली र विदेशी विश्वविद्यालयको पाठ्याक्रम, शैक्षिक पद्धति, विद्यार्थी र शिक्षकबीचको सम्बन्ध, प्रयोगात्मक शिक्षण विधि आदिका कारण शैक्षिक गुणस्तरमा प्रश्नहरू अवश्य नै छन्। नेपालको शैक्षिक गुणस्तर र पाठ्यक्रममा समयानुकूल समायोजना गर्न नसक्दा विदेश जाने विद्यार्थीमा मात्र होइन, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको लोकप्रियता बढेको छ। एक हिसाबले भन्ने हो भने नेपालका विश्वविद्यालय र कलेजहरूलाई यो एक प्रकारको दबाब हो। नेपालका विश्वविद्यालय र कलेजले तत्काल आफूलाई सुधार गरिहाल्न यसले दबाब पुग्ने विश्वास मेरो छ। हामीले मुलुकभित्रकै संस्थालाई बलियो नबनाइ सुखै छैन, त्यसका लागि सम्बन्धित पक्षले पहलकदमी लिनुपर्छ। अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रत्येक व्यक्तिको हातमा भरपूर सूचना र अन्य सिकाइका सामग्रीको पहुँच हुन्छ। अन्तर्राष्ट्रिय स्तरका शिक्षक र पूर्वाधार हुँदा नेपालमै अन्तरराष्ट्रिय स्तरको शिक्षा सम्भव छ भन्ने विश्वासका साथ हामीले निर्वाणा स्कुल तथा कलेजको शैक्षिक पद्धतिलाई अघि बढाइरहेका छौं जसलाई अस्ट्रेलिया तथा अमेरिकाका विश्वविद्यालयले समेत मान्यता दिएर क्रेडिट ट्रान्स्फरका लागि सहमति जनाएका छन्। जसअन्तर्गत ब्याचलर्समा २ वर्ष निर्वाणामा पढि २ वर्ष ती विश्वविद्यालयमा पढ्ने अवसर समेत उपलब्ध छ।
विदेशी विश्वविद्यालयको डिग्री किन लिने नि ?
विदेशी विश्वविद्यालयको डिग्रीलाई केही ग्लामराइज गरिएको छ। धरातलमै उभिएर हेर्दा विदेशी विश्वविद्यालयको डिग्रीले कुनै पनि अवसर प्राप्त गर्न प्राथमिकतामा परिने, सामाजिक पुँजी प्राप्त हुने, संसारभरका विद्यार्थी र प्राध्यापकहरूसँग सम्पर्क विस्तार हुने जस्ता सकारात्मक पक्ष छन्। अहिले कस्तो अवस्था बनेको छ भने विदेशमा पाउने शैक्षिक गुणस्तर नेपालमै पाइने अवस्था बन्यो भने पनि विद्यार्थीले विदेश नै रोज्छन्। यो अवस्था सिर्जना हुनु गम्भीर विषय हो।
अभिभावकले आफ्ना सन्तानले राम्रो अध्ययन गरून् भन्ने चाहना राख्छन। मुलुकको दश जोड दुई शिक्षाको विकासक्रमलाई कसरी लिनुहुन्छ ?
दश जोड दुई शिक्षा तुलनात्मक रूपमा समायानुकूल नै छ। सामाजिक परिवेश भनौं वा विकल्परहित अवस्था भएका कारण केही समय दश जोड दुई शिक्षा चलिरहन्छ। तर यसलाई पनि अझै बढी क्रियाकलापमा आधारित शिक्षाका रूपमा विकास गर्नुपर्छ। उच्चशिक्षामा धेरै विकल्प छन् तर दश जोड दुईमा साह्रै कम विकल्प रहेकाले विद्यार्थीहरू यसैमा केन्द्रित हुन बाध्य छन्। तर, पढाउने शैली र पाठ्याक्रमलाई क्रियाकलापमा आधारित बनाउने कुरालाई अझै जोड दिनुपर्छ। दश जोड दुईमा धेरै सैद्धान्तिक कुरा घोकाउँदा खासै उपलब्धिपूर्ण हुँदैन। यसकारण ब्याचलर्स र मास्टर्समा पढ्ने विद्यार्थी समेतमा सिर्जनशीलता तथा नवीनता पाइँदैन। उनीहरूलाई अनुसन्धान र क्रियाकलापमा आधारित शिक्षण विधिमा डो¥याउन खोज्दासमेत अरुचि देखिन्छ। त्यसैले स्कुल र दश जोड २ को पाठ्यक्रम र शिक्षण विधिमै समायुनुकूल आमूल परिपर्तन गर्नु आवश्यक छ।
मुलुकमा उत्पादित जनशक्तिका लागि हाम्रो रोजगारी बजार पर्याप्त छ कि छैन ?
यहाँ उत्पादित जनशक्तिले बजार पाउन थप प्रयत्न गर्नुपर्छ। जस्तै बीबीएस पढेका विद्यार्थीले कुनै कम्पनी वा संस्थामा गएर सजिलै जागिर पाउँदैन। पढिसकेर डिग्री हातमा बोकेका विद्यार्थीले जागिरका लागि चाहिने व्यावहारिक र प्रयोगात्मक पक्षमा समेत आफूलाई पुनः समाहित गर्नुपर्ने आवश्यकता छ। यद्यपि कतिपय जनशक्ति आवश्यकताभन्दा बढी योग्य छन्, उनीहरूलाई नेपालमा उपलब्ध रोजगारीले आकर्षित गर्दैन। प्रशासनिक अल्झन, ढिलासुस्ती, दक्षताअनुसारको कमाइ नहुँदा क्षमतावान् जनशक्ति यहाँ अडिन समस्या छ। राज्यले आफ्नो प्राथमिकताको क्षेत्र तोक्ने र सा को लागि चाहिने जनशक्तिको आकलन गरेर जनशक्ति विकास गर्यो भने रोजगारीको समस्या हुँदैन। दक्ष जनशक्ति उत्पादन गर्न सके विदेशमा पनि राम्रो आम्दानी हुने अवसरहरू त रहन्छ नै।
तपाईंका कलेजमा पढेको जनशक्तिले रोगजारीका क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
निर्वाण कलेज शिक्षा र रोजगारी दुवैलाई सुनिश्चित गर्ने अभिप्रायले स्थापित संस्था हो। हामीले रोजगारी उन्मुख, क्रियाकलाप, अनुसन्धान र समस्या समाधानमा आधारित शिक्षण विधिमार्फत अध्यापन गरिरहेका छौं। हामीले यस कलेजलाई आगामी पाँच वर्षभित्र रोजगारीमूलक शिक्षाको आधारमा नेपालकै उत्कृष्ट कलेज बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि हामीले अहिलेको बजारको आवश्यकतालाई मध्यनजर गरी त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बाहेकका थप तालिम, अनुसन्धान क्याम्प, नवप्रवर्तन केन्द्र, बजार अनुसन्धान, अनुसन्धानमुलक लेखनका लागि ग्र्यान्ट, नेतृत्व विकास र प्रविधिको प्रयोग आदि तालिम दिइरहेका छौं। त्यसबाहेक अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा ख्यातिप्राप्त कम्पनी, बैंक तथा सामाजिक संघ–संस्थाहरूसँग सम्झौता गरी इन्टर्नसिप र रोजगारीका अवसरसमेत प्रदान गरिरहेका छौं।
तपाईंकै कलेजमा किन पढ्ने ?
हाम्रो बटमलाइन नै पढाइलाई प्रयोगात्मक र व्यावहारिक पक्षसँग जोड्ने हो। हामीसँग हाल विदेशमा अध्यापन गराइरहनुभएका प्राध्यापक हुनुहुन्छ। विद्यार्थीलाई पढाउने मात्र होइन, पढाउने र गराउने दुवै पक्षलाई हामीले मुख्य कार्य गराएका छौं। पढेका कुरा व्यवहारमा ढाल्दा त्यसले विद्यार्थीलाई धेरै कुरा सिकाउँछ।
शैक्षिक गुणस्तर हाम्रो पहिलो प्राथमिकता हो। पाठ्यक्रमले अनिवार्य गरेको मूलभूत विषय बाहेक व्यवहारिक जीवनलाई आवश्यक पर्ने तालिम, र पढिसकेका विद्यार्थीलाई स्वदेशी र विदेशी कम्पनीसँग सम्झौता गरेरै रोजगारीको अवसर सुनिश्चित गर्न लागि परेका कारण हामी अरूभन्दा अलि फरक छौं। हामीकहाँ अहिले धेरैजसो ब्याचलर्स र मास्टर्स गरिरहेका विद्यार्थीहरूले पढाइ नसक्दै कतै आयमूलक काममा संलग्न भइसकेका हुन्छन्। बीसीएजस्ता प्रोग्राममा त हामीले कामको ग्यारेन्टि नै गरेका छौं। त्यसका लागि हामीले अन्तर्राष्ट्रिय र राष्ट्रिय आईटी कम्पनीसँग सम्झौतासमेत गरेका छौं।
यहाँबाट ग्र्याजुएट भएका विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्ने क्रम जारी छ। अहिले विदेशी आईटी कम्पनीमा १० भन्दा बढी विद्यार्थीहरू इन्गेज भएका छन्। केही–केही विद्यार्थीले आफूले नै व्यवसाय सुरु गरेका छन्। ४० भन्दा बढी विद्यार्थी स्वदेशी र विदेशी संघ–संस्थामा कार्यरत छन्। मुख्य कुरा पढाइ र रोजगारीलाई जोड्ने प्रयत्नलाई हामीले अहिले पनि निरन्तरता दिइराखेका छौं। दीर्घकालमा यसको निकै ठूलो प्रभाव पर्छ।
अध्ययनका नाममा ठूलो धनराशि विदेश गइरहेको छ। यसलाई स्वदेशमै रोक्नका लागि के–के गर्नुपर्ला ?
मुख्य कुरा यहाँको पाठ्यक्रम र शिक्षण विधिको सुधार नै प्रमुख पक्ष हो। त्यसबाहेक शैक्षिक प्रशासनमा पनि धेरै सुधारको खाँचो छ। त्यसका लागि सरकार, विश्वविद्यालयको नेतृत्व गर्ने अधिकारीले तत्काल पहलकदमी लिनुपर्छ। यहाँको शिक्षा लिँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छु भन्ने आत्मविश्वास विद्यार्थीमा जगाउन सकिए मात्र विदेशमा जाने विद्यार्थी र विदेशी डिग्री लिन गरिएको खर्च रोक्न सकिन्छ।