कर्मचारीलाई जनमुखी सेवा प्रवाह गर्न मन्त्री सिंहको निर्देशन
वीरेन्द्रनगर : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीलाई मनोबल उच्च बनाउँदै जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। कर्मचारीहरूको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुन नसक्ने मन्त्री सिंहको भनाइ थियो।
२० औं निजामती सेवा दिवसका अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुनेगरि प्रोत्साहनका कार्यहरू गरिरहेको बताए।
उनले भने, 'कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन। त्यसरी हेरिनु हुँदैन। कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह–पूर्वाग्रह राख्नु हुँदैन। कुनै दलप्रति आस्था राख्न पाउने उहाँहरूको ट्रेड युनियन अधिकार हो। तर, कर्मचारीको मनोबल उच्च नभइ जनमुखी सेवा प्रवाह हुँदैन भन्ने हाम्रो बुझाइ छ। प्रदेश सरकार कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लाग्ने वातावरण बनाउनेतर्फ लागिरहेको छ।'
मन्त्री सिंहले सफल राज्य बनाउन र समृद्धि हासिल गर्नका लागि स्थायी सरकारका रूपमा रहेका कर्मचारीहरूको भूमिका निकै महत्त्वपूर्ण हुने बताए। उनले प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित भई सदनमा टेबुल भइसकेको र छिट्टै सदनबाट पारित भएर ऐनको रूप लिने बताए।