कालिकोटमा आमा छोरा बेपत्ता, माइती पक्ष आन्दोलित
वीरेन्द्रनगर : कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारबाट आमा छोरा बेपत्ता भएका छन्। खाँडाचक्र नगरपालिका-१ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी हुन्।
कान्छी श्रीमती भएका कारण पतिले निरन्तर हिंसा गरेपछि जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी सान्नीत्रिवेणी-१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र शाही जिल्ला सदरमुकाम स्थित नावगैरामा रहेको डेराबाट बेपत्ता भएका छन्।
उनी दैखेल भगवतीमाई गाउँपालिका-५ कट्टी घर भएर मान्म बजारमा शाही इलेक्टेनिक्स नामको इलेक्टेनिक पसल गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन्। लामो समयदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए। कार्यालय सचिव समेत हुन्।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको छ। गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको आरोप छ। 'खाना खाएर सुत्न कोठा गएका हुन्। होटल सञ्चालक नमराज सुवेदीले भने,' पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो। हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं। अरू नै भएको रहेछ। राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका छ।'
आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ। आफन्तले महिला र बाल हिंसाविरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। उनीहरूले बेपत्ता भएका आमा छोराको खोजी गरिदिन प्रहरीसँग माग पनि गरेका छन्।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी अर्जुन केसीले पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको बताए। हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।
डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ। उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको डीएसपी केसीले बताए। मान्म बजारमा शाहीजी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन्। गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकाले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसीले बताइन्।
पीडित महिला गिताले पतिको निरन्तर हिंसा सहन नसकेर अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन्। दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोस्रो पत्नीका रूपमा स्वीकारे पनि हिंसा गर्दै आएका थिए। दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीका रूपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन्।
दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन्। म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो। उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वजनिक भएको थियो।