गाउँलेको श्रमदानबाट कागबेनी-तिरी जोड्ने अस्थायी साँघो निर्माण
जोमसोम : कागखोला बाढी प्रभावित क्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ अन्तर्गत पर्ने (कागबेनी-तिरी) गाउँ जोड्ने अस्थायी साँघो निर्माण गरिएको छ।
वारागुङ मुक्तिक्षेत्रको कागबेनी, तिरी र पाक्लिङ गाउँका गाउँलेहरू मिलेर शुक्रबार कालिगण्डकी नदीमा अस्थायी साँघो निर्माण गरेका हुन्। कालीगण्डकी नदीको सतह केही मात्रामा घटेकाले बाढी आएको २६ दिनपछि कागबेनी-तिरी जोड्ने अस्थायी कामचलाउन साँघो निर्माण गरिएको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए।
उनका अनुसार अस्थायी साँघो पुल निर्माणका लागि वडा नम्बर ४ का तीन वटा गाउँका जनताले एकदिन श्रमदान गरेको र पालिकाले खाजा र खानाको व्यवस्था मिलाएको थियो। कालीगण्डकीमा अस्थायी साँघो निर्माण भएसँगै तिरी गाउँका स्थानीयलाई आशिंक राहत मिलेको अध्यक्ष गुरुङले बताए।
अहिले मानिसहरू आवतजावत गर्न, पशुचौपाया चरन क्षेत्रमा लैजान र मोटरसाइकल क्रस गर्न मिल्ने काठे साँघो राखिएको छ,अध्यक्ष गुरुङले भने, यो दीर्घकालीन समस्या समाधान होइन, यहाँ संघीय सरकारले पक्की पुल निर्माणको योजना ल्याउनु पर्ने हुन्छ।’ अध्यक्ष गुरुङले कागबेनी-तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण भएमा मुस्ताङ-डोल्पा सडक समेत सहज हुने दावी गरे।
अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको कागखोला विनासकारी बाढीले (कागबेनी-तिरी) गाउँ जोड्ने झोलुङ्गे पुल र काठेपुल बगाएको थियो। कागखोला बाढीले पुल बगाएपछि (कागबेनी-तिरी )गाउँको सिधा आवत-जावत सम्पर्क टुटेको थियो।