नलेखिएको एउटा इतिहास
५ सय वर्ष पुरानो नेपालभित्र पूर्वमा भारतको आसाम, पश्चिममा गडवाल–हरिद्वार, उत्तारमा कैलाश–मानसरोवर र दक्षिणमा गया–बोधगयासम्म भएका प्रमाण पाइन्छन्।
बृहत् नेपालको सैनिक इतिहास, राजनैतिक इतिहास, सामाजिक इतिहासलगायतको सोधखोज नभैकन नेपालको इतिहास पूरा हुँदैन। नेपालका झन्डैझन्डै सबैजसो इतिहासकारले कि काठमाडौंभित्र भेटिएका स्रोतको आधारमा कि त विदेशीले लेखिदिएका स्रोतका आधारमा एउटै कुरालाई ओल्टाइपल्टाई इतिहास लेख्ने गरेको सत्य हो।
नेपाल सरकार, इतिहास विभागहरू अनि इतिहासकारहरूले समेत काठमाडौंको चार भन्ज्याङ काट्न निकै अप्ठेरो मानेको पनि महसुस भएकै हो। नेपालमा जनताका इतिहास खोजी भएका छैनन्। लेखकले पहिलाको बृहत् नेपाल हाल सिक्किमको टिष्टा नदीदेखि काँगडा भारतसम्मको पटकपटक गरेको स्थलगत भ्रमणका आधारमा यो ठम्याएको हो।
यस लेखमा लेखिएको बन्दे कामीको इतिहास पनि जनताको नलेखिएको इतिहास नै हो। अनि अर्को कुरा बृहत् नेपालमा हतियार वैज्ञानिकहरू धेरै हुन सक्छन्। अरूको बारेमा सोधखोज हुनु जरुरी छ। उस बखत बाइसे–चौबिसे राजाका स्थायी र अस्थायी दरबारलाई कोट अर्थात् अंग्रेजीमा क्यासल भनिथ्यो। जसको मतलव सैनिक महŒवबाट समेत सुरक्षित तरिकाले बानाइएको दरबार भन्ने अर्थ लाग्थ्यो।
१८औं र १९औं शताब्दीतिर बाइसे–चौबिसे र ती बाहेकका अन्य राज्यमा समेत गढी, किल्ला, खलंगा बनाउने र हतियारको जोहो गर्न चलन बढेको पाइन्छ। यही सिलसिलामा तनहुँका सेन राजाले पनि हतियारको जोहो गर्ने सिलसिलामा आफ्नो दरबार तनहँु सुरकोटमा तोप बनाउन लगाए। जुन अहिले पनि तनहुँ सुरकोटबाट एक किलोमिटर पश्चिमको भन्ज्याङमा रहेको छ। यो तोप तनहुँकै हाल बन्दीपुर इलाकामा बस्ने बन्दे कामीले बनाएका थिए।
तोप बनाई सफल परीक्षण फायर गरे तोप वैज्ञानिक बन्दे कामीले। उनलाई सेन राजाले घरजग्गा बक्सिस दिएका थिए। त्यसपछि बन्दे कामी गाउँको नाम ‘बन्देथोक’ रहन गयो। लेखकले स्थान बिसेसमा पुगी इतिहास संकलन गरेअनुसार यही स्थानमा पछि नेवारहरूको बस्ती बसेर बजारसमेत भएपछि बन्देचोक हुँदै बन्दीपुर भएको हो।
छिमेकी राज्य गोरखा आफ्नो देशलाई विशाल बनाउने अभियानमा निरन्तर लागिरहेको थियो। यही क्रममा नेपाल (गोरखा) सरकारले १८३४ सालमा तनहुँ राज्यभित्रको चितवनको उपरदाङ गढी, सोमेश्वर गढी र चिसापानी गढी हात पारेपछि तनहुँका राजा हरकुमारदत्त सेन छिमेकीको व्यवहारमा बढी नै सशंकित हुँदै गए। सो बेला तनहुँको सुरक्षाका लागि नयाँनयाँ हातहतियार बनाउने र तनहुँसुरको रजस्थल निर्बुमा सार्ने सन्दर्भमा भारदारी सभामा छलफलको प्रमुख विषय बनेको थियो।
गोरखाबाट निरन्तर हुने आक्रमणको प्रतिकार गर्न राज्यसँग आधुनिक हातहतियारको आवश्यकता भयो। राज्यको सुरक्षा खातिर सरकारले बन्दुक र तोपहरू बनाउने निधो ग¥यो। बन्दुक बनाउने जिम्मा कालीगड मियाँहरूले पाए भने तोप बनाउन तनहुँसुर दरबारका लागि तरबार बनाउने बन्दे कामीलाई जिम्मा लगाउने भारदारी सभामा निर्णय गरियो।
राजाज्ञानुसार बन्दीपुर निवासी बन्दे कामीलाई तनहुँसुरका राजाबाट बोलावट गर्ने आदेश भयो। तत्कालै सेनापतिले सिपाहीहरूलाई बोलाई तनहुँसुरबाट बन्दीपुरको बन्देथोक पुगेर बन्देकामीलाई राजाज्ञाअनुसार काजी र सेनापतिहरूबाट बन्दे कामीलाई तोप बनाउन तत्कालै लालमोहर गरिदिएछन्। त्यसपछि तनहुँसुर कोट दरबारको नजिकै यो तोप बनाउने कारखाना खडा गरी बन्दे कामीले तोप बनाएर देखाए। अनि तोपबाट फायरिङसमेत भयो। यसरी तनहुँ राज्यमा पहिलो पटक तोप राखिएको थियो।
लेखकको स्थलगत भ्रमण र जनतासँगका इतिहास बटुलेर यो इतिहास लेखिएको हो। तनहुँको तोप वैज्ञानिक बन्दे कामीका सन्तान धेरै हुन सक्छन्। तर स्थलगत खोजमा फेला परेको एउटा वंश लहरोमा बन्दे कामीलगायत उनको सन्तानमा बन्दे कामी, दोन्दे, दत्ते, मुसे, गोरे, टुइके, धने, बुधे, इन्द्रबहादुर, बिलबहादुर, बाबुराम, शम्भुलाल, सुकबहादुर आले विक, रामबहादुर विक (हाल बन्दीपुर खड्गदेवी मन्दिरका पुजारी कामी) आदि हुन्।
बन्दे कामी र उनले बनाएको तोपबारेको इतिहास संकलनका लागि स्थलगत भ्रमण गरी अन्य तथ्यसमेत खोज्न सहयोग गर्नुहुने बन्दे कामीका सन्तान सुकबहादुर आले विश्वकर्मा र तनहुँ दमौली निवासी देवीबहादुर बस्न्यातलगायत स्थानीयलाई विशेष धन्यवाद अर्पण गरिएको थियो। तनहुँको बन्दीपुरसँग बन्देकोट र बन्दे कामीको इतिहास जोडिनु नितान्त आवश्यक छ। प्राज्ञिक रूपले थप सोधखोज होस् र बन्दे कामीको इतिहास लेखियोस्।
यसमा बडामहाराजा पृथ्वीनारायण शाहले समावेशी स्वरूपबाट विभिन्न जात र समुदायको व्यक्तिहरूबाट सेना निर्माण गरेका थिए। नेपाल एकीकरण तथा नेपाली सेनाको विकासक्रममा मुसलमान समुदायबाट विशेष योगदान प्राप्त भएको थियो। १८०१ को सुरु सुरुतिर बडामहाराजाधिराज पृथ्वीनारायण शाहले हाल भारतको वनारस गएर हतियार बनाउन र हतियार चलाउन जान्ने प्राविधिकहरू गोरखा ल्याए। तिनीहरू मुसलमान समुदायका शेख जरवार, महमद्ताकी र भेषा सिंह तीन जना थिए। उनीहरू सबैलाई गोरखाली सेनाको माथिल्लो पद एड्जुटेन्ट (अहिलेको जमदारसरह हो। तर यो पदको शक्ति अहिलेको कप्तानसरह थियो) दिइएको थियो। ती मुसलमानहरूले गोरखामा विभिन्न हातहतियार बनाई सेनालाई तालिम दिने काम गरे।
नुवाकोट विजय हमलामा ती मुसलमानले युद्ध लडेका थिए। हतियार बनाउने, हतियार चलाउने, हतियारसम्बन्धी तालिम दिने र विभिन्न युद्धमा एड्जुटेन्टको जिम्मेवारीवाट लडाइँसमेत लड्ने उक्त तीनैजना मुसलमान नेपाली सेनाको वीर योद्धाहरू हुन्। जसको सन्तान दरसन्तानलाई पृथ्वीनारायण शाहको पालादेखि हालसम्म पनि नेपाली सेनाको हतियार बनाउने र मर्मत गर्ने विभागमा अविछिन्न रूपले नोकरी दिँदै आएको पाइन्छ।
केही वर्ष अगाडिसम्म टुँडिखेलमुनिको कोतखानामा उनीहरू कार्यरत थिए। उनीहरू तीनैजना पृथ्वीनारायण शाहदेखि वर्तमानसम्मको सैनिक इतिहासमा हतियार (बन्दुक) बनाउने पहिला कालिगड अर्थात् वैज्ञानिकहरू थिए। १८०१ सालसम्म नेपालको सैन्यहरूको हातहतियार खुकुरी, खुँडा, भाला, घुयेत्रो, सुर्इंरो, बञ्चरो, ढाल, तरबार, धनु, आदि नै थिए। जसबाट गुथ्थम् (गुथ्थाको लडाइँ) मात्र सम्भव थियो। साँच्चै, यो मुडेवलको युद्ध थियो।
पृथ्वीनारायण शाहको नुवाकोटको दोस्रो पटकको हमलासम्म यही नै हतियार तथा युद्धकलाहरूको प्रयोग भएको पाइन्छ। दुई पटकसम्म नुवाकोटको युद्धमा पराजय भोग्नु परेका विभिन्न कारणमध्ये सबैभन्दा मूल कारण युद्ध (सामग्रीको कमी भएको नै पृथ्वीनारायणले पक्का गरेको थिए। यसै खाँचोलाई पूर्ति गरेर मात्र उनले नुवाकोटमा तेस्रो पटक हमला गर्ने निधो गरेको थिए भने शेख जरबारलगायतका मुसलमान प्राविधिकहरू नेपाल ल्याइएका थिए।
१८०१ सालको सुरुतिर नै पृथ्वीनारायण शाहले वनारस गई विभिन्न युद्धसामग्रीहरू खरिद गरे। जसमध्ये केही बन्दुक र बारुदहरू पनि थिए। दिव्योपदेश’मा तीनजना मुसलमान प्राविधिकहरूको बारेमा यसरी वर्णन गरिएको छ– ‘लखनैबाट ३ मुसल्माँ मेरो चाकरीलाई नुवाकोटमा पिछा परी आयाका थिया, इनै बन्दुकको तुल कलायेत तिनै मसुरमानले जान्याको रहेछ र शेष जरवर ममतकि भेषसिं तीनै जनलाई अजिटनी दियाँ र तिलङ्गा सधायाको हो।’
संगठित सेनामा त्यो नै बन्दुक र बारुदको सुरुआत थियो। उल्लिेखित तीनजना मुसलमानहरूले गोरखामा नै बन्दुक ढाल्ने र बारुद बनाउने काम पनि गरेका थिए। कूटनीति, रणनीति र हातहतियारसमेतको प्रयोग गरेर पृथ्वीनारायण शाह स्वयंले नै युद्धको नेतृत्व गरेर सन् १७४४ नोभेम्बर २६ तारिखको दिन नुवाकोटमाथि तेस्रो हमला गरी विजय प्राप्त गरेका थिए। यो नै नेपाल एकीकरणको पहिलो शिलान्यास थियो। तर व्यक्तिगत तवरमा उपत्यकाका मल्ल राजाहरूले यसभन्दा पहिलादेखि नै पेस्तोल र छोटा बन्दुकहरू प्रयोगमा ल्याइसकेका थिए। तोपखाना हतियार भने गोरखा राज्यसँग थिएन, तर लमजुङ र पर्वत राज्यसँग भने थियो। यसै कारणले गर्दा गोरखाभन्दा ती राज्यहरू सैनिक बलमा समेत अग्रपंक्तिमा रहेका मानिन्थे।
हतियार वज्ञानिक जनरल गेहेन्द्रशमसेर राणा श्री ३ वीरशमशेर राणाको विवाहित जेठी श्रीमती धनहजुरीबाट जन्मेका थिए। शक्तिशाली श्री ३ वीरका जेठा छोरा भएको नाताले पनि उनीमा रहेका विविध खुबी देखाउन उनलाई स्रोत र साधन प्राप्त भयो। त्यस बखतको ६ लाख जति रुपैयाँ खर्च गरेर उनले हाल काठमाडौंको जमल (पहिला त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बसेका घरहरू)मा बेलायतवाट हतियार बनाउने मेसिनहरू झिकाई हतियार बनाउने कारखाना खडा गरे। जुन मेसिनहरू हाल सैनिक संग्रहालय छाउनी, काठमाडौंमा राखिएको छ। हतियार बनाउने सोच र परिकल्पना उनको थियो। उनले पिता श्री ३ वीरको पालामा आफ्ना पिताको नामबाट स्वचालित ‘वीर गन’ र आफ्नै नामबाट गे–राइफल (गे–गेहेन्द्र) श्री ३ देवशमशेरको पालामा ‘देव राइफल’ र श्री ३ चन्द्रको पालामा ‘च राइफल’ (च–चन्द्र) बनाएका थिए। वीर गनको स्तर र क्षमता त्यस बखतको जर्मनमा बन्ने हतियारभन्दा उच्च तहको थियो।
वीर गन सैनिक संग्रहालय छाउनी तथा अरू हतियारहरू राष्ट्रिय संग्रहालय छाउनीमा राखिएका छन्। उनी नेपालको हतियारको विकास क्रममा एक सिद्धहस्त वैज्ञानिक हुन्। पुरुषोत्तमशमशेर राणाले उनलाई नेपालको प्रथम वैज्ञानिक भनेर लेखेका छन्। तर बडामहाराजाधिराज पृथ्वीनारायण शाहका पालामा नै गोरखामा भेषा सिंह, महमदताकी, शेख जरबारलगायतका हतियार वैज्ञानिकहरूले थुप्रै हतियार बनाइसकेका थिए। उनले आफ्नै खुबीबाट पानीभित्र बिजुलीबत्ती पनि बालेका थिए।
खासमा पछि श्री ३ चन्द्रशमशेरले उनमा रहेको प्रतिभा, उनको हातहतियार बनाउने मोह, जल्दोबल्दो व्यवहार आदिले उनीमाथि शंका गरी श्री ३ चन्द्रको दर्शन ढोग गर्न पनि निषेध गरे। पुरुषोत्तमशमशेरकै लेखाइअनुसार गेहेन्द्रकै बैठके बुच्चे बस्ताजलाई श्री ३ चन्द्रले हात लिएर उनीमार्फत गेहेन्द्रले खाने रक्सीमा विष मिलाई खुवाएर ३६ वर्षको उमेरमा गेहेन्द्रको मृत्यु भएको थियो। उनीसँगै अत्यधिक रक्सी खाने श्री ५ पृथ्वीविक्रमलगायत अन्य दुुई जनाको पनि अकालमै रक्सीले मृत्युको मुखमा पु¥याएको देखिन्छ। यसर्थ श्री ३ चन्द्रशमशेरले विष हाल्न लगाएर मारेको भन्ने लाञ्छनामा सत्यता देखिँदैन।
खोजिएन सैनिक हतियारहरूको विकासक्रम
करिब ३५ सय वर्ष पुरानो नेपालभित्र पूर्वमा भारतको आसामको कामक्ष, कामरुद्र, पश्चिममा गडवाल–हरिद्वार, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गया–बोध गयासम्म भएका प्रमाण पाइन्छन्। १८०१ पछि बनेको बृहत् नेपालभित्र ७० भन्दा बढी देशभित्रै टुक्रिएको नेपालका सैनिक र हतियारका इतिहास खोजेका छैनौं। जबसम्म बाइसे, चौबिसे, मकवानपुर, नेपाल मण्डल, सिम्रौनगढलगायतको सैनिक, गोली गठ्ठा र हतियारको इतिहास खोज्दैनौं, तबसम्म हालसम्मका हतियारको विकासक्रमबारे इतिहास एउटा सानो पाटोमात्र हुनेछ।
चौबिसे राज्यभित्रको सानो र गरिब गोर्खा राज्यले नै बृहत् नेपाल बनायो। १८२५–२६ सम्म पुरानो नेपालको भूगोलभित्र नेपाल नामको राज्य नै थिएन। काठमाडौं उपत्यकामा पनि भक्तपुर, ललितपुर र कान्तिपुर राज्यहरू थिए। हजारौं वर्षदेखि काठमाडौं उपत्यकामा नेपालका राजा भने धनी थिए। पुरानो नेपाल पनि टुक्रिँदाटुक्रिँदा काठमाडौं उपत्यकामात्र नेपालको रूपमा बाँकी रह्यो। त्यसैले उक्त क्षेत्रफललाई पछिसम्म नेपाल नै शब्दले सम्बोधन गरिएको पाइन्छ। तर जमिनमा नेपाल भन्ने राज्य कतै थिएन।
जब बडामहाराज पृथ्वीनारायण शाहले १८२५ सालमा कान्तिपुर विजय गरे तबमात्र उनले जितेका सम्पूर्ण भूगोल र कान्तिपुरलाई समेत गोर्खामा गाभे। अनिमात्र नेपाल भने। अन्यथा उनले यो देशको नाम गोर्खा राख्न सक्थे। उनले नेपालको हजारौं वर्षको पहिचानलाई सहस्र जोगाए र गोर्खालाई नेपाल भने। पटक–पटक कान्तिपुर राज्यको क्षेत्र नुवाकोटमा भएको गोर्खाली हारपछि पृथ्वीनारायण भारतको वनारस पुगी हातहतियार खरिद गरी ल्याए। साथमा तीन जना हतियार चलाउन र बनाउन जान्ने मुसलमान पनि ल्याए।
त्यसपछि नेपाल एकीकरणको क्रममा विभिन्न युद्ध हुँदै गयो। मकवानपुर इलाकामा बंगालको मिरकासिमको फौजले एक्कासि १८१९ सालमा मकवानपुर दरबार र गढी माथि कब्जा गर्न आए। शत्रु पक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारिलो तरिकाले बर्बाद पा¥यो र करिब पाँच सय नाल राइफल र दुई वटा तोप खोसे। उक्त युद्धको पाँच वर्षपछि १८२४ सालमा कान्तिपुरका राजा जयप्रकाश मल्लले औपचारिक रूपले बोलाएर उनको सहयोग र गोर्खालीविरुद्ध प्रयोग गर्न अंग्रेज क्याप्टेन किनलकले नेतृत्व गरेको इस्ट इन्डिया कम्पनीको विशाल सेनालाई नेपाली सेनाले हालको सिन्धुली जिल्लाको पौवागढीमा नराम्रोसँग हरायो र प्रशस्त हातहतियार खोसे। यो पहिलो नेपाल–अंग्रेज युद्ध हो।
नेपाली सेना र राष्ट्रिय इतिहासले यो लेख्नुपर्छ। पछि १८७१ सालमा भएको दोस्रो नेपाल–अंग्रेज युद्ध हो। त्यसपछि राजा रणबहादुरको नायब राजकुमार बहादुर शाहको पालामा फ्रेन्च कालीगड र प्रशिक्षकहरू झिकाई तोप, राइफल, गोला तथा गोली बनाउने काम प्रशस्तै भए। काजी तथा कमान्डर–इन–चिफ भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्न फ्रेन्च नै कालीगड झिकाई थुप्रै प्रयास गरे। जंगी अड्डा र ब्यारेक घर (छाउनी)को समेतको व्यवस्था गरे। हाल राष्ट्रिय संग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मुख्यालय थियो। कर्नेल, जनरल र कमान्डर–इन–चिफको पद सिर्जना गर्ने उनी नै थिए। पहिलो जनरल र कमान्ड–इन्–चिफ उनी हुन्। भीमसेन थापालाई सबैभन्दा पछाडि दिइएको पद कमान्डर–इन्–चिफ हो।
प्रधानमन्त्री जंगबहादुर राणाकोे बेलायत यात्रापछि पाश्चात्य पाराले सेनाको हातहतियारमा ठूलो परिवर्तन भएको थियो। उनले नेतृत्व गरेको विशाल नेपाली सेनाले सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गरी फर्केपछि त हरेक पक्षको प्रगति भयो। पछि प्रधानमन्त्री वीरशमशेरको पालामा उनका वैज्ञानिक छोरा जनरल गेहेन्द्रशमशेरले नेपालमा स्वचालित तथा हावाबाट चल्ने मेसिनगन र विभिन्न थरीका राइफलहरू बनाए। जसलाई गे–राइफल, देव–राइफल र च–राइफल पनि भनिन्छ। गेहेन्द्रको नामबाट गे–राइफल, देवशमशेरको नामबाट देव–राइफल र चन्द्रशमशेरको नामबाट च–राइफल भनिएको हो।
हाल रानीपोखरीको जमलमा, पहिला परीक्षा नियन्त्रण कार्यालय बसेको घरहरू उनले हतियार बनाउन तयार गरिएको सैनिक आर्सनल हो। विकासक्रमलाई केलाउँदा अंग्रेजको सहयोगमा प्रधानमन्त्री चन्द्रशमशेरले प्रथम विश्वयुद्ध र प्रधानमन्त्री जुद्धशमशेरले दोस्रो विश्वयुद्धमा नेपाली सेना पठाएपछि सैनिक युद्धकला तथा हातहतियारमा ठूलो परिवर्तन आएको थियो। पृथ्वीनारायणदेखि राणा प्रधानमन्त्रीहरूको कालसम्म पनि नेपालमा हतियार, गोली, बारुद, सैनिक पोसाक प्रशस्तै बने। नेपाली सेना झन्डै आत्मानिर्भर थियो हतियार र गठ्ठामा।
प्रथम विश्वयुद्धमा त नेपालले अंगे्रजलाई नेपालमा बनेका हतियार र पैसा सहयोग गरेको थियो। तर २००८ सालपछि नेपाल सरकारले नै नेपाली हतियार उद्योग मासेर भारतीय हतियार, गोली गठ्ठाको कब्जामा नेपाललाई राख्यो। तैपनि अलि अलि बन्दै थिए। २०४७ पछि त सरकारले नेपालमा हतियार बनाउने काम ठ्याप्पै गर्यो। यो दुःखदायी पाटो हो।
नेपालमा अहिले सशस्त्र र नेपाल प्रहरी अनि नेपाली सेना गर्दा झन्डै दुई लाखभन्दा बढी बन्दुक छन्। ती बन्दुक र तिनलाई चाहिने खरखजाना सबै विदेशबाट किन्ने परिपाटीले ठूलाबडालाई त मोज पनि भा’को होला ? तर नेपालको राष्ट्रिय सुरक्षामा यो कामले ठूलो घात पुगेको छ।