नेपालमा हामी पढाइमात्र भन्छौं। घोकाउँछौं। एकोहोरो लदाउँछौं। समृद्घ देश अमेरिका हरेक बालबालिका र युवालाई प्रेरित गर्छ– पढाइसँगै काम गर। पढिसक्दा अनुभवीसमेत होऊ।
सत्र वर्षमै सीओओ अर्थात् चिफ अपरेटिङ अफिसर। त्यो पनि अमेरिकामा तीव्र गति लिइरहेको स्टार्टअप कम्पनीमा। पोसाकको अनलाइन व्यापार गर्ने हाकाई कल्चरको वार्षिक कारोबार सदर १० मिलियन डलर अर्थात् एक अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ। त्यही कम्पनीमा जेम्स कर्माचार्य ६ महिना सीओओ भइसकेका छन्, जुन नेपालीका लागि दुर्लभ उपलब्धि हो।
जेम्स हाकाई कल्चरका पोसाकका उपभोक्ता थिए। कुनै पनि कपडा किन्दा उनी धेरै जिज्ञासा राख्थे। त्यही ‘अति चासो’ व्यापारिक सफलताको विशेषता रहेछ, जसलाई देखेर कम्पनीका प्रमुखले उनलाई कामको प्रस्ताव राखे। कक्षा ११ पढ्दै गरेका उनले घरमा सोधेनन्, बरु आर्थिक भरथेग हुने र अनुभव पनि हासिल गरिने ठानेर, ‘ओके’ भनिदिए।
नेपालमा ‘जागिर’ भन्ने बित्तिकै ‘पैसा कति ?’ भनेर हेरिन्छ। जेम्सले भने सुरुमा पद त कम्युनिटी म्यानेजरको पाए, तलब भने प्रतिमहिना जम्मा ५० डलर। अर्थात् करिब ६ हजार रुपैयाँ। त्यसमा उनी राजी भए। किनकि, त्यसका लागि न पूरा समय दिनु पथ्र्यो, न धाएर कार्यालय नै जानु पथ्र्यो। घरबाटै एकाध घण्टामा उनी जिम्मेवारी पार लगाउन सक्थे।
उनको ‘कम्युनिकेसन स्किल’ देखेर केही महिनामै कम्पनीका प्रमुखको एसिस्टेन्ट बन्ने प्रस्ताव आयो। त्यसका लागि उनले घरबाटै इमेल पठाउने/रिप्लाई गर्ने आदि काम गर्नुपथ्र्यो। तलब पुग्यो सय डलर। त्यो पनि स्वीकारे। अर्को केही महिनामा उनलाई यति आकर्षक प्रस्ताव आयो, जुन उनी स्वयंले अपेक्षा राखेका थिएनन्। त्यो थियो– सीओओ बन्ने।
त्यो पद जम्मा ६ महिने करारको थियो, जुन जेम्सले सम्हाले। र, केही महिनाअघि पूरा गरेर अलग्गिइसके पनि। त्यसको तलब भने कम्पनीको आम्दानी र उनको कार्यदक्षताको अनुपातमा हरेक महिना तल÷माथि हुन्थ्यो। ‘मैले सकेको मेहनत गरें’, उनी भन्छन्, ‘महिनाको ३ हजार डलर (करिब
४ लाख रुपैयाँ) सम्म थापें।’
नेपालमा हामी पढाइमात्र भन्छौं। घोकाउँछौं। एकोहोरो लदाउँछौं। समृद्ध देश अमेरिका हरेक बालबालिका र युवालाई प्रेरित गर्छ– पढाइसँगै काम गर। व्यावहारिक बन। पढिसक्दा अनुभवीसमेत होऊ। जेम्स त्यस्तै उदाहरण हुन्।
शुभतारा स्कुलमा कक्षा ३ मा पढ्दा पढ्दै बाबु राजन र आमा सरितासँग उनी अमेरिका पुगे। त्यहाँ ३ मै भर्ना भए। कक्षा ६ मा पढ्दा टिक फेलोसिपमा आवेदन दिए र छानिए। टिक अध्ययनको यस्तो आर्थिक सहायता हो, जसले ९ कक्षादेखि स्नातकसम्म महँगा निजी स्कुलमा पढ्न पैसा उपलब्ध गराउँछ। (तर, ६ मा पढ्दै छानिइन्छ)। न्युयोर्क क्षेत्रमा ४ जीपीए ल्याउने अब्बल विद्यार्थीले मात्र यसमा भाग लिन पाउँछन्। बर्सेनि जम्मा ३० जना चुनिनेमा जेम्स पनि परे। यो फेलोसिप ४ लाख ५० हजार डलर अर्थात् साढे ५ करोड रुपैयाँको हो।
काठमाडौं कुलेश्वरका जेम्स अहिले म्यानहटनको ट्रेभोर डे स्कुलमा टिकको सहायतामा कक्षा १२ पढ्छन्। उक्त स्कुलमा उनको परिवारले पैसा तिर्नु हो भने वार्षिक करिब ६० हजार डलर (झन्डै ८० लाख रुपैयाँ) लाग्छ। यो अति कम नेपालीले प्राप्त गर्ने अवसर हो, जुन उनले मेहनत र लगनशीलताले हात लगाए।
‘जेम्स अति मेहनती छ’, उनको पढाइबारे बाबु राजन भन्छन्, ‘आज धेरै भो, अब सुत भन्नुपर्छ।’ हुन पनि अतिरिक्त जिम्मेवारी सम्हालेर पनि उनले पढाइ कहिल्यै बिगारेका छैनन्। सधैं प्रथम हुँदै आएका छन्। उनले यही वर्ष २०२३ मा न्युयोर्क टाइम्सको समर एकेडेमी प्रोग्राममा पनि नाम निकालेका छन्। यस छनोटसँगै उनले ‘इन्टरप्रेनरसिप फर सोसल इम्प्याक्ट’ अध्ययनको अवसर पाएका छन्। त्यस्तै यल युनिभर्सिटीको ‘सोल्भिङ ग्लोबल च्यालेन्जेज’ शीर्षकमा ‘यल योङ ग्लोबल स्कलर्स प्रोग्राम’मा उनी चयन भएका छन्।
‘मेहनत गर्नुपर्छ। अवसर खोज्नुपर्छ, धेरै पाइन्छन्’, उनी निराश हुने थुप्रै युवायुवतीलाई हौसला दिँदै भन्छन्, ‘सूचना प्रविधिको प्रयोग व्यक्तित्व विकासका लागि गर्नुहोस्, न कि समय व्यतीत गर्न। सफलताले हामीलाई खोज्ने होइन, हामीले सफलताको ढोका खोज्नुपर्छ। अनि, त्यसलाई खोल्न सक्नुपर्छ।’
बुवा राजन पनि उनको लगावबाट निकै उत्साही छन्। माइलो छोरो हाकाई कल्चरको सीओओ भइसकेको उनलाई सुइँकोसम्म थिएन। ‘कान्छो छोरो (जो २ वर्षका छन्) ले खेल्ने क्रममा टीभी फुटायो। माइलोले भन्यो– चिन्ता नलिनुहोस्, म किनौंला’, उनले एउटा घटना सुनाए।
‘म किनौंला ?’ बाबुआमै उनको कुराले छक्क परे। विद्यार्थी मान्छे, कसरी किन्छ ? अनि, पैसाको स्रोत सोधे। बल्ल जेम्सले आफूले समय सदुपयोग गर्दै जागिर खाइरहेको, सीओओ भइसकेको रहस्योद्घाटन गरे।
‘अनि हामी दंग पर्यौं’, राजन भन्छन्, ‘हामीले पर्दैन भन्छौं भनेर उसले नसुनाएको रहेछ।’ तर, राजनलाई एउटा कुरामा अफसोच छ, जुन छोराले सुनाए र उनले ‘पर्दैन’ भनिदिए। त्यो थियो– ६ महिने सीओओ करारसँगै हाकाई कल्चरका मालिकले जेम्सलाई उक्त कम्पनीको १० प्रतिशत सेयर सदस्य बन्न प्रस्ताव राखेका थिए। ‘पढाइ बिग्रिन्छ भनेर मैले अनुमति दिइनँ। तर, त्यो कम्पनीको तीव्र सफलता हेर्दा दिनुपर्ने रहेछ भन्ने लाग्छ’, उनी सुनाउँछन्, ‘पढाइमा त्यो भूमिकाले खासै बाधा पुर्याउने पनि रहेनछ। बेलामा राम्ररी सोच्न नसकेकामा दुःख लागेको छ।’
रोचक त यो छ कि, ६ महिना सीओओ भएर काम गरेको हाकाई कल्चरका मालिकसँग जेम्सको अहिलेसम्म भेटसम्म भएको छैन। ‘उनी मभन्दा दुई वर्षमात्र जेठा छन्’, जेम्स भन्छन्, ‘निकै ठूलो फड्को मारिसकेका छन्। सफलताका लागि उमेर र अनुभव ठूलो कुरा होइन भन्ने उनले पुष्टि गराएका छन्।’
जेम्स हरेक वर्ष नेपाल आउने गर्छन्। ठूलो व्यापारी बन्ने सपना छ उनको। नेपालीबीच सफलताको उचाइ छुने उनको अभिलाषा छ। ‘नेपाल आमा र आफ्ना बाबु–आमाको शिर उच्च बनाउने चाहना छ’, उनले भने, ‘हेरौं, सक्दो मेहनत गर्दैछु।’
अनि, थपे, ‘अहिले खास के नै गरिएको छ र ? भविष्यमा धेरै गर्न बाँकी नै छ। पढेर, सकेर गतिलो बिजनेस म्यान बन्नु छ।’