कर्णालीका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस
वीरेन्द्रनगर : नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीबाट निर्वाचन जितेका स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरूलाई प्रशिक्षण दिने भएको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले शनिबार पत्रकार सम्मेलन गर्दै कर्णालीमा पार्टीबाट स्थानीय तहको चुनाव जितेर सरकार सञ्चालन गरिरहेका कर्णालीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने जानकारी गराएको हो।
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कांग्रेसबाट स्थानीय तहमा नेतृत्व समालिरहेका जनप्रतिनिधिहरूलाई जनताका हितमा काम गर्न उत्कृष्ट कार्यसम्पादन गर्न प्रशिक्षण दिन लागिएको बताए।
कांग्रेसबाट कर्णाली प्रदेशमा नगरपालिका प्रमुख १२ जना, उपप्रमुख १० जना, गाउँपालिका अध्यक्ष २०, उपाध्यक्ष १७, जिल्ला समन्वय समितिका प्रमुख ५, उपप्रमुख १ गरी ६५ जना जनप्रतिनिधिहरूलाई एकमुष्ट प्रशिक्षण दिन लागेका उनले बताए। उनका अनुसार वीपी जयन्तीका अवसरमा भदौ २४ र २५ गते प्रशिक्षण कार्यक्रम हुनेछ।