बालेनलाई सुझाव

बालेनलाई सुझाव
सुन्नुहोस्

राज्यविरुद्ध आपत्तिजनक शब्दको प्रयोग गर्नुको सट्टा शिष्ट भाषामा जनताको साथ लिनुनै बालेनका लागि उचित कदम हुनेछ।

काठमाडौंका नगर प्रमुख बालेन्द्र शाह (बालेन) सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसका कारण चर्चामा छन्। हुनत प्रायः सामाजिक सञ्जाल फेसबुक र ट्वीटर एक्समा उनका स्टाट्सले चर्चा पाएकै हुन्छन्। पत्नी सबिना काफ्ले चढेको गाडी ट्राफिकले रोकेको विषयमा उनले लेखेको फेसबुक स्टाट्सले भने उनलाई चर्चाभन्दा पनि विवादित बनायो।

चर्को आलोचनापछि ‘चोर सरकार’ भन्दै ‘सिंहदरबार जलाउने’ धम्कीसहित लेखेको स्टाट्स लेखेका बालेनले स्टाट्स हटाउन बाध्य भए। काठमाडौं महानगर सुधारका लागि आशा गरिएका र लोकप्रिय मतसहित नगर प्रमुखको बागडोर सम्हाल्न पुगेका बालेनसँग काठमाडौंवासीको मात्र हैन, देशकै जनताले आशाको धरोहर मानेका छन्। 

उनीप्रति धेरैको विश्वास र अपेक्षा छ। सञ्जालको क्रेजबाटै मेयरको कुर्सीमा आसिन हुन पुगेका उनलाई अहिले सञ्जालले नै विवादित पनि बनाएको हो। पुराना र वर्षौंसम्म राज्यसत्ता चलाएका पार्टीका नेताहरूबाट आजित भएका जनताले बालेनबाट केही नयाँ काम र महानगर सुधारको अवधारणामा पूर्णतया समर्थन गरिरहेका छन्।

हुन त बालेनले कार्यकालको झन्डै डेढ वर्षमा धेरै राम्रा कामको सुरुआत पनि गरेका छन्। उनले लेख्ने गरेका आक्रामक स्टाट्सकै कारण उनले गरेका राम्रा कामलाई नजर अन्दाज गर्न भने सकिन्न। उनले डेढ वर्ष कार्यकालमा शिक्षा क्षेत्रमा सुधार, सुकुम्बासी बस्तीको व्यवस्थापन, सार्वजनिक शौचालयको व्यवस्थापन, काठमाडौंको फोहोर व्यवस्थापनका सक्रियता, फुटपाथ बजारको व्यवस्थापन र अव्यवस्थित पार्किङ नियन्त्रणलगायत सुरुआती कार्य प्रशंसनीय छन्। मेयर पदमा निर्वाचित भएसँगै देशका मूल पार्टीका नेताहरू खनिएका बालेनले सामाजिक सञ्जालबाटै अभिव्यक्ति प्रकट गर्ने गरेका छन्। सञ्जालमा उनको स्टाट्समा लाखौंले लाइक र कमेन्ट गर्नेमध्ये धेरैले उनको पोस्टमा सकारात्मक कमेन्ट नै धेरै देखिन्छ। लामो समय शासन गरेर पनि देशमा सुधारोन्मुख केही नदेखेर हतोत्साहित बनेका जनता बालेनको कडा अभिव्यक्तिमा साथ दिएको पाइन्छ।

सञ्जालमार्फत आमजनता र युवाको ‘सेन्टिमेन्ट क्याच’ गरेर मेयर बनेका बालेन अझै कडा–कडा स्टाट्स लेखेर सधैंभर चर्चा र लोकप्रिय बन्ने दाउमा छन्। तर, यसपटक भने उनी अलि नै बढी आक्रामक बन्दा चुकेभन्दा अन्यथा नहोला। जसका कारण पहिलोपटक उनले लेखेको स्टाट्स नै ‘डिलेट’ गर्नुपर्‍यो। उनले हालसालै लेखेको स्टाट्स आपत्तिजनक र गलत नै हो। सञ्जालमा कसैले लेखेको कुरामा धेरैले सकारात्मक भन्दैमा त्यो सकारात्मक र कसैले नकारात्मक भन्दैमा कुनै कुरा नकारात्मक बन्न कदापी सक्दैन। देशको बारेमा के लेख्ने ? कस्तो भाषा प्रयोग गर्ने भन्ने विषयमा विभिन्न कानुनसमेत आकर्षित हुने गर्छन्। कोही कसैले कुनै कुरामा चित्त नबुझ्दैमा सरकारलाई चोरको संज्ञा र देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने छुट जो कसैलाई पनि छैन।

अझ काठमाडौं महानगर सुधार्ने भनेर आशा गरिएका र महानगरको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनुमा आमजनताले भोलिको महानगर कस्तो अपेक्षा गर्ने ? मेयर जस्तो गरिमामय पदमा बसेर राज्यविरुद्ध नै लाग्ने र अशिष्ट भाषा प्रयोग गर्ने हो उनीमाथि भरोसा गरिरहेका आम जनताले के सिक्ने ? आवेगमा लेखिने यस्ता स्टाट्सले उनको भावी राजनीतिक यात्रा ओरालो लाग्न सक्छ। उनले यसअघि नयाँ र पुराना नेता सबै चोर हुन्, सिंहदरबार अरू पालिकामा सार्नुस्, कुनै कानुन र अदालत मान्दिनँ र सांसदहरूलाई वडाध्यक्षको संज्ञा दिनु आदि स्टाटसका कारण पनि विवाद खेप्नुपर्‍यो। उनले पटक–पटक नेताहरूलाई चोरको संज्ञा दिनु आमजनताले रुचाएको भए पनि अदालत नमान्ने अभिव्यक्ति दिनु र लोकप्रिय बन्ने दाउपेचमा कुनै नेता विशेषलाई तोकेरै गालीगलोजमा उत्रनुले भने उनको छविमाथि आँच आउने प्रष्ट देखिन्छ।

अधिकार क्षेत्रमा आफूले वर्चस्व जमाउन खोज्नु, केन्द्रीय सरकारसँग पौठेजोरी खोजेर अधिकार खोजिनु महानगरका लागि राम्रो होला। महानगरको समग्र हितका लागि कतिपय काममा केन्द्रीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुमा मेयर बालेनको हित हुने देखिन्छ। राज्यविरुद्ध आपत्तिजनक शब्दको प्रयोग गर्नुको सट्टा शिष्ट भाषामा जनताको साथ लिनुनै बालेनका लागि उचित कदम हुनेछ। जुन संविधान र व्यवस्थालाई टेकेर बालेन मेयर बने त्यही संविधान मान्दिनँ, अदालत मान्दिनँ भन्नुले आगामी दिनमा उनको छविलाई थप उदांगो बनाएको छ। श्रीमतीलाई रोकेर ट्राफिक प्रहरीले सोधेकै भरमा आक्रोशित बन्नुको साटो शिष्ट र मर्यादित भाषाको प्रयोग गरेर हामीलाई त यति गाह्रो छ ? जनतालाई कति गाह्रो होला ? भन्ने जनताको पक्षको अभिव्यक्ति प्रकट गरेको भए उनले थप प्रशंसा बटुल्थे।

यता, सोधपुछ गरेको प्रहरीले पनि दुःख दिने तरिकाबाट सोधपुछ नगरेर थोरै संयमता अपनाएको भए हुन्थ्यो। मेयर पत्नीका विषयमा सामाजिक सञ्जालमा अभिव्यक्त भएका तल्लो स्तरका अनेकथरी टिकाटिप्पणीले उनको व्यक्तिगत जीवनमा पक्कै पनि असर गरेकै छ। सामाजिक सञ्जालका कतिपय टिकाटिप्पणी पक्कै पनि गलत छन्। त्यसतर्फ सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत बन्नुपर्ने देखिन्छ। जनताको प्रतिनिधि रहेका मेयरले पत्नीभन्दा पनि जनताका विषयलाई मुद्दा बनाउनुपर्ने अपरिहार्य देखिएको छ।

अस्पतालसम्म जानै नसक्ने कतिपय स्थानीय यही महानगरमा छन्, उपचार गर्न अस्पतालसम्म पुगिहाले पनि पहुँच नपुग्दा उपचार नपाएका उदाहरण पनि छन्। परिवारमा परेको बेलामा मात्र हैन, मेयर साब महानगरवासीका प्रत्येक जनसरोकारका विषयमा यहाँको साथ खोजेका छन्। महानगरवासीले चाहे, खोजेजस्तो शासन र विकास गर्न नसकेको खण्डमा सामाजिक सञ्जालमा रमाउँदैमा पटक–पटक जनताले बालेन नै रोज्ने छन् भन्नेमा ढुक्क बन्ने परिस्थिति छैन। जे होस्, उनले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाट्सलाई डिलेट गरेर भए पनि उनले गल्तीलाई स्वीकार गरे। आशा गरौं, यसबाट पाठ सिकेर उनले गल्ती दोहोर्‍याउने छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.