साउदीमा तीज विशेष कार्यक्रम
साउदी : साउदी अरेबियामा रहेको पारिवारिक समाजले हरितालिका तीज विशेष कार्यक्रम मनाएको छ। समाजले आउँदै गरेको तीजको अवसर पारेर साउदीको रियाद सहरमा कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा कलाकारले तिज तथा राष्ट्रियता झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा दिदीबहिनीहरूको समूहले सेलरोटी वितरण गरेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अमृत पौडेले विदेशमा नेपाली धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताए।
'नाचौला,गाउँला,रमाउँला,सबैजना मिलेर तिज मनाउँला' भन्ने उद्देश्यले परापूर्वकालदेखि चल्दै आएकाले विदेशमा पनि धर्म संस्कृतिको जगेर्ना गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
कोषाध्यक्ष अमर सापकोटले सामाजले गरेको कार्यविधि जानकारी गराउँदै समाजले साउदीमा कार्यरत पीडित श्रमिकलाई खाद्यान्न सहयोग, हवाई टिकट, उपलब्ध गराएको र विभिन्न सामाजिक संघसंस्था तथा नेपाली दूतावाससँग सहकार्य गर्दै आएको जानकारी दिए।
संस्थाका प्रमुख सल्लाहकार महेश घिमिरेले पर्वलाई देखासिकी र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउन आग्रह गरेका थिए।
यसैगरी साउदी अरेबियाको दमाम,अल्खोवर सहरमा पनि नेपाली दिदीबहिनी समूह तथा एनआरएनएन समानन्तर कमिटीले तीज कार्यक्रम मनाएका छन् ।
कार्यक्रममा दूतावास अधिकारीलगायत विभिन्न सामाजिक संघसंस्था,कलाकारलगायतको बाक्लो उपस्थिति थियो।