युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने
ब्रसेल्स : युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ। सन् २०२३ मा युरो क्षेत्रको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। तर, सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ।
युरोपेली संघ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र सबैभन्दा कम ०.४ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शन भोगिरहेको छ। यी दुवै अवस्थाले समग्र अर्थ व्यवस्थामा महत्त्वपूर्ण प्रभाव पार्छ।
आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ। युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’लाई इंगित गर्दै युरोपेली संघका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भने, ‘यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्तऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धि निम्त्याएको छ।’ ईयूमा २७ राष्ट्र छन्।
सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र (युरोजोन) १.३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ। ईयूको आर्थिक वृद्धि दर आगामी वर्ष १.४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ। युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ। युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतको तुलनाभन्दा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहनेछ।