रुपन्देही ट्राफिकको अभियान : १६ सय सवारीको नम्बर प्लेट सुधार
भैरहवा : जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले चलाएको 'नम्बर प्लेट सुधार' अभियानबाट एक हजार ६ सय सवारीसाधनको नम्बर प्लेट सुधार गरिएको छ । सडकमा गुड्ने सवारी साधनहरूको विभिन्न कारणले नम्बर प्लेटमा प्रष्ट नदेखिने खालका भएपछि ट्राफिकले नम्बर प्लेट सुधार अभियान चलाएको हो ।
अभियानबाट पछिल्लो एक हप्तामा एक हजार पाँच सय ७२ सवारी साधनको नम्बर प्लेट सुधार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टले जानकारी दिए ।
उनका अनुसार चेकजाँचको माध्यमबाट प्रष्ट नदेखिने नम्बर प्लेट तत्काल नै सुधार गर्न लगाइएको छ ।
'पहिलो पटकको लागि नम्बर प्लेट र प्लेटमा विभिन्न संकेत राखेकालाई सुधार गर्न लगाएर सचेत गराएका छौँ,'प्रमुख विष्टले भने,'अब पनि सवारीको नम्बर प्लेट स्पष्ट नभए कारवाही गर्छौं ।'
ट्राफिक प्रहरीका अनुसार क्रमश: सबैभन्दा बढी मोटरसाइकल, कार, ईरिक्सा, टेम्पो, ट्याक्टर, टिपर लगायतको नम्बर प्लेट नबुझिने र विभिन्न संकेतहरु राखिएको पाइएको छ ।
‘संकेतले नम्बर प्लेटको आकार सानो गराउँछ भने प्रष्ट देखिने गरी नम्बर प्लेट नहुँदा टाढाबाट सहजै देख्न कठिनाइ हुने गरेको छ’,उनले भने, ‘यसले कुनै दुर्घटना गराएर वा अपराधिक क्रियाकलाप गरे सवारी भगाएमा झट्ट नम्बर चिन्ह समस्या हुन्छ । जसले गर्दा दोषी उम्कन सक्छ । यो जोखिम कम गर्न पनि हामीले अभियान चलाएका हौं ।'