वीरगन्जकाे बाल सुधार गृह तनावग्रस्त
वीरगन्ज : वीरगन्जको वीर्तास्थित बाल सुधार गृह मंगलबार राति ८ बजेदेखि तनावग्रस्त बनेकाे छ । सुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधारगृह भित्र ताेडफाेड गर्नुका साथै बाहिर रहेका प्रहरीमाथि समेत ढुङ्गामुढा गरिरहेकाले त्यहाँकाे स्थिति तनावग्रस्त बनेकाे हाे ।
सुधार गृहभित्रबाट बाल कैदीबन्दीले हानेकाे ढुङ्गाले लागेर एक महिला प्रहरी घाइते भएकी छन् । स्थिति नियन्त्रणमा लिन पर्साका प्रहरी उपरीक्षक काेमल शाहकाे नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलाे संख्यामा परिचालन गरिए पनि स्थिति नियन्त्रणमा आउन सकेकाे छैन । भित्रबाट बाल कैदीबन्दीहरुले हाेहल्ला गर्दै बाहिर रहेका प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका छन् । जसका कारण प्रहरी सुधारगृह भित्र प्रवेश गर्न सकेकाे छैन।
बाल सुधार गृहका प्रमुख टिका काफलेका अनुसार, केही दिन पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएका २३ जना बाल कैदीबन्दीलाई वीरगन्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियाे । तर उनीहरुले यहाँ नबस्ने भन्दै विराेध जनाउँदै आएका थिए। उनीहरुकै उक्साहटमा गृहमा रहेका अन्य बाल कैदीबन्दीहरुले मंगलबार राति ८ बजेदेखि उत्पात मच्चाएकाे बताइएकाे छ ।
वीरगन्जको बाल सुधार गृहमा हाल १३४ बाल कैदीबन्दीहरु छन् ।
राति १०.४५ बजेसम्म पनि स्थिति तनावग्रस्त नै रहेकाले घटनाकाे कारण र विस्तृत विवरण भने प्रहरी अहिलेसम्म जानकारी गराएकाे छैन ।