उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुलेन
विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५/७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बसले बिहान ५:३५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।