मेलम्ची नगरपालिकाको पाँचपोखरी र हेलम्बुलाई सहयोग
सिन्धुपाल्चोक : बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ । गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
छिमेकी पालिकाहरूमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद व्यक्त गरे ।
उनले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्तुत भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए । अध्यक्ष लामाले बाढीग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झक्झकाउनु पर्नेमा जोड दिए ।
हेलम्बु गाउँपालिकालाई पनि १० लाख सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । ‘हामी हेलम्बुलाई पनि १० लाख रुपैयाँ प्रदान गछौं,’ तामाङले भने ।
रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरु चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थित थिए।