सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : थुनछेक बहस जारी
सङ्खुवासभा : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मंगलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरू भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए ।
कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको स्रेस्तेदार केसीले राससलाई जानकारी दिएका छन्। झन्डै १२ कानुन व्यवसायीले बहस गर्ने उनले बताए। दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ । कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी,प्रहरी जवान सुमन गुरुङ,कारागार सुरक्षागार्ड दमनसिंह राई,हबल्दार राजकुमार श्रेष्ठ,जवान पवनकुमार महतो,सुरक्षागार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
त्यस्तै उक्त घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठजनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल,सचिन राई,सहनाइके सुमन सारुमगर,टीकाराम चौहान,नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरामा देखिएको जनाइएको छ । बाहिर कुटेर दुवैजनालाई कारागारभित्र छिराइएको थियो ।
गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी तथा केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।