नगरकै विद्यालयको अवस्था नाजुक

नगरकै विद्यालयको अवस्था नाजुक
सुन्नुहोस्

नगर क्षेत्रको उक्त संरचनालाई राम्रोसँग नियाल्ने हो भने गोदाम घर वा खसीबाख्रा राख्ने खोरको सहजै अनुमान गर्न सकिन्छ। तर अनुमान गरेजस्तो चाँही होइन।

उदयपुर : कटारी–घुर्मी सडकखण्ड छोडेर एक किलोमिटरभित्र पस्नासाथ सुरुमै छानोदेखि बारसम्म सबै जस्तापाताले घेरिएको एउटा गोदाम घर जस्तो भेटिन्छ। कच्चि सडक छेउमै रहेको उक्त संरचना के हो भनेर चिन्नलाई न बोर्ड नै छ न अन्य कुनै पहिचान। नजिकै पुग्यो भने केही आवाजहरू सुनिन्छन्। 

नगर क्षेत्रको उक्त संरचनालाई राम्रोसँग नियाल्ने हो भने गोदाम घर वा खसीबाख्रा राख्ने खोरको सहजै अनुमान गर्न सकिन्छ। तर अनुमान गरेजस्तो चाँही होइन। यो एउटा सुविधासम्पन्न नगर क्षेत्रको आधारभूत विद्यालय हो। विद्यालयको पहिचान खुल्ने हो भने जो कोहीले नगरपालिका र त्यहाँका जनप्रतिनिधि, नेतालार्ई सहजै गिज्याउँछन्। गोदाम घर जस्तो देखिने उक्त विद्यालय भदौको घामको रापले जस्ताको छानोमा आगो उठ्ला जस्तो छ। त्यसमा अझ भित्तामा लगाइएको जस्ताको बारले श्वासप्रश्वास बाहिर निस्कने अवस्था छैन। झ्याल, ढोकाको नाममा मुस्किलले सानो एउटा ढोका छ। जहाँबाट प्रवेश गरेको हावा पर्याप्त छैन। त्यहीँ पनि प्रचण्ड गर्मिमा खलखली पसिना चुहाएर विद्यार्थी शिक्षा लिन बाध्य छन्। 

उसैत बाहिरको ४० डिग्रीको प्रचण्ड गर्मीले सर्वसाधारण बेहोस् हुने अवस्था छ। त्यसमा पनि साँघुरो कोठाभित्र एउटा बेन्चमा ४÷५ जनासम्म विद्यार्थी बसेर पढ्दा के होला ? त्यसमा पनि एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर पढाउँदा त्यहाँको वातावरण झनै कस्तो होला ? 

यस्तै समस्या झेलिरहेका छन् कटारी नगरपालिका–८ स्थित कालिका आधारभूत विद्यालय खोरभन्ज्याङका बालबालिका। जुन विद्यालय नगरपालिकाको कार्यालय कटारी बजारबाट २० मिनेटमा पुगिन्छ। विद्यालयको अवस्थालार्ई नियाल्ने हो भने ठूलालार्ई सुविधासम्पन्न, साना र गरिबलार्ई बिजोग भन्ने विभेद सहजै देख्न सकिन्छ। दलित, जनजाति, गरिब परिवारका बालबालिका पढ्ने उक्त विद्यालय आर्थिक, भौतिक र प्रशासनिक हिसावले निकै जर्जर छ। शून्य दरबन्दी रहेको उक्त विद्यालय सरकारी सम्यन्त्र मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको सहयोगमा निर्भर छ। 

वार्षिक १० लाख अनुदानबाट मर्मतसम्भार र अन्य मसलन्द खर्च छुट्याई दुई जना शिक्षक, एक जना सहजकर्ता, कार्यालय सहयोगीले बाँडफाँट गर्ने गरेको प्रधानाध्यापक मकरकुमारी मगर बताउँछिन्। उनी भन्छिन्, ‘भवन अभाव र विषयगत शिक्षक नभएकै कारण बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको हो।’ अघिल्लो वर्ष करिब एक सय विद्यार्थी रहेकोमा भौतिक पूर्वाधार अभावकै कारण विद्यार्थी घटेर ३८ जना रहेको उनी बताउँछिन्। प्रअ मगर भन्छिन्, ‘पर्याप्त कक्षा कोठा र शिक्षक नहुँदा, एउटा कोठामा दुईवटा कक्षाका विद्यार्थी राखेर एक जना शिक्षकले पढाउनु पर्ने बाध्यता छ, यसरी कति दिन चलाउनु ?’

‘विद्यार्थीको समस्या देखेरै अभिभावकले विद्यालयबाट बालबालिका निकालेका हुन्,’ अर्का शिक्षक मिनाकुमारी बिक भन्छिन्, ‘अभिभावकहरूको चाहना बढ्दो छ, हामीसँग स्रोतसाधन छैन, जे छ त्यहीँबाट सेवा प्रवाह गर्ने हो, त्यसले गर्दा विद्यार्थी घटेका हुन्।’

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा एउटा बालविकास केन्द्रसमेत सञ्चालनमा छ। कार्यालय सञ्चालनका लागि एक कोठासहित जम्मा ७ वटा कोठा हुनुपर्नेमा ५ वटा मात्र रहेको प्रअ मगर बताउँछिन्। कक्षा कोठा अभावकै कारण बालविकास केन्द्र र कक्षा १ एउटै कोठामा सञ्चालित छ।  त्यसैगरी कक्षा २, ३ र कक्षा ४ र ५ दुइटा कोठामा सञ्चालित छन्। यस्तो गर्मीमा एउटै कोठामा दुइटा कक्षा सञ्चालन गर्नु पर्दा निकै कष्ट भोग्नु परेको प्रअ मगर बताउँछिन्। ‘झ्याल नभएका कारण कोठामा हावाको चलखेल हुन्न,’ उनले भनिन्, ‘सबै कोठा छानो र भित्ता टिनले ढाकेको छ, तातेर बस्नै सकिन्न।’

विकल्प नभएपछि दुःखले चलाउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चवीर परियार बताउँछन्। भौतिक संरचनाकै कारण विद्यालय छोड्ने दर बढ्दै गएको उनले बताए। अध्यक्ष परियारले भने, ‘विद्यालयको पूर्वाधार निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कसैले चासो देखाएनन्।’

संरचना निर्माण र विषयगत शिक्षक राख्न सके विद्यार्थी दर सहजै बढाउन सकिने उनले बताए। आधारभूत तहको कक्षा ५ उत्र्तिणपछि स्थानीय बालबालिका माध्यमिक तह अध्ययनका लागि दुई घण्टाको पैदल यात्रा गरी पटना भन्ज्याङ पुग्ने गरेको स्थानीय लाखबहादुर राई बताउँछन्। 

माध्यमिक तहको विद्यालय नहुँदा ठाप्टार, माटे, खोरभन्ज्याङ, आहाले, भाण्टाबारी लगायतका बालबालिका दुई घण्टाको पैदल यात्रा गर्ने गरेको उनी बताउँछन्। नगरपालिकाका उपमेयर गीता खड्काले विद्यालय सुधारका लागि सहयोग गर्ने बताइन््। विद्यार्थी संख्या कम भए पनि सबै बालबालिकाको पढ्न पाउने अधिकार रहेकाले सहज रुपले पढ्ने वातावरण निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताइन्। 

स्थानीयको समस्याको विषयमा जनप्रतिनिधि, नेता सबै जानकार भए पनि कार्यान्वयनतर्फ कसैको चासो नपुग्दा बालबालिकाले कष्ट खेप्नु परेको स्थानीयको भनाइ छ। कहिलेकाहीँ गर्मीकै कारण बालबालिका बेहोससमेत हुने गरेकाले गर्मी महिनामा विद्यालय पठाउनुपूर्व सोच्ने अवस्था आएको उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.