मधेसमा नघटुन् छोरी
प्रा.डा.भोगेन्द्र झा
मधेसमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले ठूल–ठूला परियोजनाहरू सञ्चालन गरेका छन्। यसका लागि अर्बौं डलर खर्च पनि भएको छ। तर, पनि सामाजिक जनचेतनाको स्तर भने बढ्न सकेको छैन।
अहिले पनि पुरातनवादी सोच र पितृसत्तात्मक परिवेशमा बाँचिरहेको छ मधेसी समुदाय। यसले महिलालाई मानवको दर्जा नै दिन सकेको छैन। अशिक्षितहरूलाई त कम्तीमा शिक्षा पुगेन र उनीहरूले विभेद गरे भनी पत्याउन सकिन्छ। यहाँ त शिक्षित वर्गहरूसमेत दोहोरो मानसिकताबाट ग्रसित छन्। महिलालाई पनि अवसर दिइयो भने तिनीहरूले समाजमा पुरुष जस्तै मान, प्रतिष्ठा र आर्थिक उपार्जन गर्न सक्छन् भन्ने सोचको विकास भएको छैन। यस्तो विषय आफूलाई शिक्षित भनाउँदाहरूले पनि बुझ्न सकेका छैनन्। मधेसी समाजमा यही एउटा बिडम्बना रहेको छ।
घर बाहिर महिला अधिकारका ठूला–ठूला भाषण दिनेहरू छन्। उनीहरूकै घरमा पनि महिलाहरू प्रताडित भइरहेका थुप्रै उदाहरणहरू हाम्रा आँखै अगाडि छन्। छोरीलाई शिक्षा दिएर पनि उनीहरूलाई आत्मसम्मान दिन नसकेका परिवारहरूको व्यथा छुट्टै छ। छोरी जतिसुकै पढेलेखेको भए पनि उसलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनुको साटो उसको विवाहमा अझै बढी दाइजो दिइन्छ। यसरी उसको स्तरभन्दा माथि रहेको भनिएका छोरामान्छेसँग विवाह गरेर उसलाई परनिर्भर बनाउने काममा कमी आएको छैन।
समग्रमा भन्नुपर्दा महिलामाथि अहिले पनि समाजले विश्वास गर्न सकेको छैन। तिनको साहस, तिनको पराक्रम, बुद्धि, विवेक र उनीहरूको काबिलियतलाई पहिचान गर्न मधेसी समाज पछि परेको छ। जसको परिणाम स्वरूप विभिन्न कूरीतिहरू हालसम्म पनि मधेसमा व्याप्त रहेको हामीले पाउँछौं। यसकै कारण हो मधेसमा महिलाको जनसंख्या क्रमशः घट्न सक्छ। जबसम्म महिलालाई समाजमा समान नागरिकको हैसियत प्राप्त हँुदैन, तबसम्म समाजले विकास र प्रगतिको पथमा फड्को मार्न सक्दैन।
(प्रा.डा झा मधेस प्रदेश सरकारको नीति आयोगका पूर्वउपाध्यक्ष हुन्)