जबरजस्ती २० लाखको चेक र ८ लाख ५० हजारको कागज गराएको अभियोगमा एक जना पक्राउ
काठमाडौं : आपराधिक लाभ लिएको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जना पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई डर त्रासमा पारी कुटपिटसमेत गरी जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको खुल्न आएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको छ । उनलाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।