मुक्तिनाथमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर
जोमसोम : हिन्दू तथा बौद्धधर्मालम्बीहरुको साँझा तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ मन्दिरमा ‘हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकको आकस्मिक उपचारका लागि चालु वर्षको पुस महिनामा मुक्तिनाथ मन्दिरमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना गरिएको हो।
मुक्तिनाथमा मन्दिर ट्रिटमेन्ट सेन्टर स्थापनाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुस्ताङ अस्पतालले संयुक्त पहल गरेका हुन्। बेसीबाट अग्लो उचाईमा आउने धार्मिक पर्यटकलाई हाईअल्टिच्युड हुने सम्भावना रहन्छ। समुन्द्री सतहदेखि ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित मुक्तिनाथ क्षेत्रमा जाने पर्यटकलाई हाईअल्टिच्युडको लाग्ने गरेको पाईएको छ। पहाड ,तराई र विशेष गरी भारतीय पटक विना स्वास्थ्य परीक्षण नगरी एकचोटी हतार हतार गरी मुक्तिनाथ जाँदा हाईअल्टिच्युड लाग्ने गरेको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटिएका हेल्थ असिसटेन्ट तिलप्रसाद बुढामगरले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्रमा जाने धार्मिक पर्यटकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै चालु वर्ष ५ लाख बजेट विनियोजन गरेको जनाइएको छ। त्यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालय मुक्तिनाथ हाईअल्टिच्युडका लागि मुस्ताङ अस्पताललाई १० लाख र स्वास्थ्य कार्यालय मुस्ताङलाई ७ लाख बजेट विनियोजन भएको मुस्ताङ अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिसटेन्टका लागि भक्ता र अन्य प्रयोजनमा खर्च गर्न बजेट उपलब्ध गराएको हो। मुस्ताङ अस्पतालले करारका एक स्वास्थ्यकर्मीलाई मुक्तिनाथ हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटाएको सूचना अधिकारी बस्नेतले उल्लेख गरे।
त्यस्तै मुक्तिनाथ हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरका लागि मुस्ताङ अस्पतालले जनशक्तिका साथै अक्सिजन सिलिन्डरसहित मेडिकल औषधिहरु उपलब्ध गराएको उनको भनाइ छ। प्रदेश सरकारबाट विनियोजित बजेटले थप उपकरण खरिद,औषधि र अन्यमा खर्च गरिने सूचना अधिकारी बस्नेतले जनाए। त्यसैगरी हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरका लागि विनियोजन गरिएको रकम तालिम र सामाग्री खरिद लगायतमा खर्च गरिने कार्यालय प्रमुख राम नेपालीले जानकारी दिए।
यसअघि मुक्तिनाथ क्षेत्रमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर नहुँदा मुक्तिनाथमा अल्टिच्युड लागेका बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो। सदरमुकाम जोमसोम र मुक्तिनाथको दुरी २१ किमी बढी भएकाले उपचारका क्रममा अस्पताल ल्याउदा ल्याउदै अल्टिच्युडका बिरामीले ज्यान गुमाउनु पर्थ्यो। मुक्तिनाथ परिसरभित्रै ट्रिटमेन्ट सेन्टर स्थापना भएपछि हाईअल्टिच्युडबाट मृत्यु हुने जोखिम टरेको हो। सेन्टर स्थापना भएपछि अल्टिच्युडका बिरामीले मात्र होईन मुक्तिनाथमा आकस्मिक चोटपटक लागेका बिरामीलाई पनि तत्काल उपचार गर्न सहज भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए।
मुस्ताङ आउने पर्यटकलाई हाईअल्टिच्युड सम्वन्धि सचेतना मुलक जानकारी नहुँदा समेत बर्सेनि हाईअल्टिच्युड लागेर मृत्यु हुने क्रम बढेको हो। आर्थिक वर्ष २०७९/०८० मा करिव डेढ दर्जन भारतीय,नेपाली र विदेशीले अल्टिच्युडका कारण ज्यान गुमाएका थिए। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक र राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आएका पर्यटकलाई अल्टिच्युड लाग्ने गरेको मुस्ताङ अस्पतालले जनाएको छ।
मुस्ताङ आउने पर्यटकहरु विशेष गरी स्वास्थ्य अवस्था कमजोर भएका,उमेर बढी भएका र दीर्घ रोगका बिरामीलाई हाईअल्टिच्युडको जोखिम बढी हुँने बताईएको छ।