मधेसका छोरीको समृद्धि यात्रा
मधेसबाहेक सबै प्रदेशमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै छ । मधेसको जनसंख्या ६१ लाख १४ हजार ६ सय हो । पुरुष ३० लाख ६५ हजार ७ सय ५१ हुँदा महिला भने ३० लाख ४८ हजार ८ सय ४९ मात्रै छन् । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको एउटा तथ्यांकले मधेसको लैंगिक चित्र देखायो । छोरीलाई बोझ ठान्ने अभिभावक हुनु विडम्बना हो । सोही कारण नै छोरीहरूको भ्रूण हत्या बढिरहेको कतिपयको बुझाइ र तर्क शक्तिशाली छ । त्यहाँ तिलक (दाइजो) प्रथा अझै उखेलिएको छैन । दाइजोकै निहुँमा थुप्रै छोरीचेलीको ज्यान पनि गएको छ । दाइजो कुप्रथाका कारण छोरीबुहारीको हत्याको दर सबैभन्दा धेरै भएको प्रदेश पनि मधेस नै हो ।
छोरीप्रति खोटी सोच र व्यवहार जीवितै हुँदा मधेसका सबै आठ जिल्लामा छोरी कम र छोराहरू धेरै भए । जबकि केन्द्रीय तथ्यांक विभागका अनुसार देशको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्यामध्ये १ करोड ४९ लाख एक हजार १ सय ६९ महिला छन् । त्योभन्दा ६ लाख कम पुरुष । त्यसो त नेपालका पछिल्ला जनगणनामा सधैं महिला धेरै र पुरुष थोरै नै देखिएको छ । छोरी कम र छोरा धेरै हुनु भनेको सामाजिक संरचना खल्बलिनु र विवाह संस्था प्रभावित हुनु पनि हो । सामाजिक असन्तुलनले समाजलाई भलो गर्दैन । पहिलो त छोरा र छोरीबीचको विभेदको जरैदेखि उन्मूलन जरुरी छ ।
छोरी जन्मिँदा परिवारलाई विशेष पुरस्कार सहुलियत दिने पालिका सरकारहरूका विभिन्न कार्यक्रम आफैंमा स्वागतयोग्य त हुन्, तर पर्याप्त हैनन् । प्रदेशमात्रै नभई सिंगो संघीय सरकारले नीति र योजनाका साथ छोराछोरीको विभेद अन्त्य गर्नुपर्छ । पछिल्लो समय कानुनी मान्यता पाएको १२ हप्ताभित्रको गर्भको पतन गराउने सुविधामा लिंगकै आधारमा भ्रूण हत्या हुने गरेको विषयमा कडा निगरानी र अनुगमन जरुरी छ ।
एकअर्काका परिपूरक महिला र पुरुषको जनसंख्यामा आउने असन्तुलनले दुवैलाई अपूरो बनाउँछ, नै समाज झन् अपूरो हुन्छ । असन्तुलित हुन्छ । समृद्धिको यात्रा उल्टो दिशातिर जान्छ । लैंगिक विभेद र असमानताको घोर निन्दनीय कृत्य हो । जसको समूल अन्त्य आवश्यक छ ।