डीएसपी नै ठगिएपछि...

डीएसपी नै ठगिएपछि...
सांकेतिक तस्बिर।

काठमाडौं : सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्। 

प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन्। कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए। युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए। निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए। उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए। पैसा कुरियर गरेको फोटो पनि पठाए। त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो। 

भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे। कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन्। पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए। 

प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ। ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो। खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरकै एक युवाको ३४ लाख रुपैयाँ ठगी भएको थियो। क्यानडा जाने भन्दै उनले अपरिचित खातामा ३४ लाख रुपैयाँ पठाएका थिए। केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए। उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए। 

पछिल्लो समय अनलाइन ठगीको अवस्था भयावह छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको तथ्याकंअनुसार आव ७८/७९ मा ६७१ जना व्यक्तिहरू अनलाइन ठगीमा परेका थिए। उनीहरूको १२ करोड ३६ लाख ४२ हजार ३५० रुपैयाँ विगो बराबरको रकम ठगी भएको थियो। आव ७९/८० मा यो संख्या बढेर १४५० पुग्यो। उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै एक वर्षमा १४५० अनलाइन ठगीका उजुरी दर्ता भए। पीडितहरूले दिएको जाहेरीका आधारमा २६ करोड ५६ लाख ७९ हजार २२७ विगो बराबरको रकम ठगी भएको उजुरी परेको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार पछिल्लो समय अनलाइन ठगीको अवस्था निकै जटिल छ। छोटो समयमा कमाइ हुने र आर्थिक प्रलोभनमा पर्दा ठगीका घटना बढिरहेको उनी बताउँछन्। राठौर भन्छन्, ‘चिठ्ठा परेको भन्दै प्रलोभनमा पर्ने, विश्वास गर्ने र पैसा गुमाउने ट्रेन्ड नै बनेको छ। सामान पार्सल, मोबाइल ल्यापटप खरिद बिक्री, फेसबुक आईडी ह्याक गर्ने, ईसेवाको आईडीबाट ठगी गर्नेलगायतका कार्य बढिरहेका छन्। 

राठौरका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले टेलिकमसँगको सहकार्यमा मंगलबारदेखि सूचनामूलक रिङब्याक टोन सुरु गरेको छ। रिङब्याक टोनमा सामाजिक सञ्जालबाट प्रलोभन दिएर हुने ठगीका विषयमा जानकारीमूलक सन्देश राखिएको छ। अनलाइनबाट हुने ठगीमा सहभागी हुनेको संख्या ह्वात्तै बढेको छ। पीडितहरूले ठगी रकम फिर्ता नपाउने अवस्था छ। नागरिक सचेत हुनु बाहेक अर्को कुनै उपाय छैन। 

अनुसन्धान कार्यालयका अर्का एसपी मिलन केसीले अनावश्यक प्रलोभनमा नपर्न सवैलाई आग्रह गर्छन्। उनी भन्छन्, ‘नचिनेको मानिसलाई पानी त दिँदैनन्, तपाइँहरू विदेशबाट लाखौं रकमको खजाना र कोशेली आयो भनेर कसरी विश्वास गर्नुहुन्छ ? ठगी गर्ने गिरोहले अनेक बहानाबाजी गरेका हुन्छन्। बुझ्न र सोच्न अति जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.