जाइका नेपालका प्रमुखमाथि ढुंगा प्रहार, जापानको गम्भीर आपत्ति
काठमाडौं : प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बुधबार जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्। उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति जनाएको छ। दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो।’
प्रहरी स्रोतका अनुसार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै बुधबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रहरी र नेविसंघबीच झडपसमेत भएको थियो। त्यसबेला उक्त सडक भई गुडिरहेका सवारी साधनलाई प्रहरीले सुरक्षा प्रयोजनार्थ रोकेको थियो।
त्यही समय, त्यही सडक हुँदै जाइका प्रमुख आकिमिचु कार्यालयबाट निवासतर्फ गइरहेका थिए। उनको गाडी पनि निकैबेर अलि परै रोकियो। स्थिति साम्य भएको भन्दै प्रहरीले गाडी खोलेपछि उनको गाडी पनि अगाडि बढाइएको थियो। ‘त्यो इलाका कट्ने क्रममा उनको गाडीमा प्रदर्शनकारीले हानेको ढुंगा बज्रिन पुग्यो। त्यसका कारण फुटेको सिसा र ढुंगाका टुक्राले जाइका प्रमुखको अनुहारमा लाग्यो।’ उनको ओठमा ठूलो चोट लागेको स्रोतले बतायो।
जापानी दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ। नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ।’
दूतावासले नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई यस्ता घटनादेखि जोगिन सचेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं।’