अतिक्रमण हटाएर सडक विस्तार
बेनी : बेनी नगरपालिका–७ महारानीथानमा निजी विद्यालयले अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काएर सडक विस्तार गरिएको छ। बेनी–अर्थुङ्गे सडकको महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको पर्खाल भत्काएर फराकिलो पारिएको हो।
सो विद्यालयमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीका श्रीमती सुनिता केसी, दाजु चन्द्र केसी, भाई राजु केसी, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठका परिवारका सदस्यहरु लगायतको लगानी रहेको छ।
विद्यालयले सडकको क्षेत्राधिकार मिचेर बनाएको पैदलमार्ग र आपतकालिन अवस्थामा सवारीसाधन आवत जावत गर्ने सडकका कारण मुल सडक साँघुरो बन्नुका साथै दुर्घटनाको जोखिम थियो।
सडकको क्षेत्राधिकारभित्र पर्ने सडकको पर्खाल नगर प्रमुख केसीको नेतृत्वमा बुधबार डोजर लगाएर भत्काइएको थियो। ‘बेनी नगरपालिका क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान जारी छ,’उनले भने ‘अतिक्रमण हटाउने क्रममा मेरै परिवारका सदस्यहरुको लगानी रहेको विद्यालयले बनाएका संरचना पनि भत्काएका हौं।’
अतिक्रमित पर्खाल हटाई मूल सडकको चौडाई करिब ८.५ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ। नगरपालिकाले पटक–पटक सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेका संरचनालाई समेत बल प्रयोग गरी हटाउन थालेको छ।
बेनीबजार भित्र सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम र सवारी साधन आवत जावत प्रभावित हुन थालेकाले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको छ। बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि कालिपुल बसपार्क, अस्पतालचोक, गलेश्वर लगायतका ठाउँमा संरचना भत्काइएको छ।
नगरपालिकाले सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरेको छैन्। जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाएर सडक विस्तार गरेको छ।
अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ। सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बजारक्षेत्रमा रहेका अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ।