समाचार @ अमेरिका
मूलधारका समाचार हुन् वा सामाजिक सञ्जालका समाचारमा प्रस्तोता। ‘अमेरिकामा’ भनेर तरंग ल्याउने प्रयास सबैले गरेको देखिन्छ।
मूलधारका समाचार हुन् वा सामाजिक सञ्जालका समाचारमा प्रस्तोता। ‘अमेरिकामा’ भनेर तरंग ल्याउने प्रयास सबैले गरेको देखिन्छ। ‘अमेरिकामा’ तुरुन्त र तरंगसहित बिक्ने समाचारको पहिलो शब्द बनेको छ। अमेरिकाको समाचारमात्र होइन, चलचित्र, भाषा, फेसन, विज्ञान–प्रविधि आदिमा अग्रता विश्वभर छ। सामाजिक सञ्जालको युगमा समाचारमा अमेरिका, आजको प्रसंग अर्थात् ‘अमेरिकामा’ सबैलाई तान्ने पाँच अक्षर !
तिनै सञ्जालको बाढीमा समाचारको जाल फालेर यसका प्रयोगकर्तालाई फसाउने यी मछुवाले के मूलधारले हेक्का राख्ने केही नियम ख्याल गर्न सक्छन् ? यस्ता मछुवालाई पनि जालमा पार्ने नियम कसले ल्याउने ? देशका सरकार वा अन्तर्राष्ट्रिय संस्था ? ल्याए पनि यो वाक स्वतन्त्रताको युगमा कस–कसलाई यसो गर र उसो नगर भनेर सकिएला। कस–कसका मुख थुनेर सकिएला ? सामाजिक सञ्जालमा आएको समाचार (तथाकथित)लाई ‘फ्याक्ट चेक’ गरी यो गलत र त्यो सही भन्न सञ्चारविज्ञलाई अर्काे काम थपिएकै हो ? मूलधारका सञ्चारगृहका शैली–पुस्तिकाले दिशा–निर्देश गर्छ नै। यी मछुवालाई कसले सिकाउने हो ? यी प्रश्न अमेरिकाका सामग्री वा समाचार पस्कने यी मछुवाकै कारण मेरा मनमा उब्जेका हुन्।
अमेरिका भन्दैमा यो सानो ठाउँ होइन। नेपाल सानो भए पनि कति विविधता छ। रसिया, क्यानडा, चीन, अमेरिकाजस्ता विशाल भू–भागको विविधता गतिला विज्ञले पनि बुझेर सक्दैनन्। हो, अमेरिका, विश्वका पाँच ठूला देशमध्ये एक। यो नेपालभन्दा करिब ६५ गुणा ठूलो छ। अनि नेपालको जनसंख्या २ करोड ९० लाख छ भने अमेरिकाको ३३ करोड २० लाखभन्दा बेसी। जनसंख्या कति भनेर भन्नुपर्दा अर्काे गणनामा अल्मलिने गरेको देखेको छु, जस्तोः अमेरिकाको जनसंख्या ३३२ मिलियन।
प्रस्तोता मिलियन नै भनिदिन्छन्। सजिलो। भनिदियो, सकियो। गर्नुपर्ने भने यसो हो, मिलियन भनेपछि पछाडि ६ वटा शून्य थप्नुहोस् र तीन कक्षाको विद्यार्थीस्तो, पछाडिबाटै एक, दस, सय, हजार, दस हजार, लाख, दस लाख, करोड र दस करोड। अब ३३२०००००० लाई ३३ करोड २० लाख भनेर लेख्न, भन्न सकिन्छ। त्यस्तै बिलियन भए ९ वटा शून्य थप्ने। तर मिलियन वा बिलियनमा दशमलव छ भने दशमलव पछाडि भएका अंक जति थप्ने घटाएर शून्य थप्ने हो।
कहीँ कतैको भए पनि सजिलै सामान्यीकरण गर्न हुँदैन। अमेरिकामा पनि त्यो लागू हुन्छ नै। जस्तोः उत्तरको कुनै राज्यमा मान्छे पूरा बाहुलाको लुगा लगाएर हिँडिरहेका हुन्छन् भने दक्षिणी राज्यको कुनै पार्कमा घुमिरहेको मानिस गर्मीले ढलेर अस्पताल पु¥याइएको हुन सक्छ। यसरी मौसमको मात्र विविधता नभएर यस्ता धेरै विषय हुन सक्छन्।
अमेरिकाका ५० राज्य र यसका भू–भागलाई छोटकरीमा लेख्ने गरिन्छ। यो नेपाली समाचार–माध्यममा अन्तर्राष्ट्रिय समाचार हेर्ने पत्रकार वा अनुवादकले जानेको विषय हो। यो इन्टरनेटमा जतै फेला पर्छ। एसोसियटेड प्रेसकै भनेर इन्टरनेटमा खोजियो भने हाम्रा लागि धेरै उपयोगी हुन्छ। समाचार लेख्दा वा प्रसारण गर्दा यी राज्य नचिनेको र तिनको नाम सही तरिकाले उच्चारण नगरेको पाइन्छ। भ्रमन्ट वा भर्मन्ट राज्यलाई ब्रह्माण्ड, क्यारोलाइना राज्य दुइटा छन्, यिनलाई क्यारोलाइन, रोड आइल्यान्ड राज्यलाई रोड आइसल्यान्ड, न्यु ह्याम्सरलाई न्यु ह्याम्पसायर आदि। कसरी उच्चारण गर्ने भन्ने वेबसाइट धेरै पाइन्छन्। यिनको प्रयोग वा गुगल ट्रान्सलेटको बाकसमा राज्यको नाम टाँसेर त्यहीँ भएको माइक थिचेर पनि सही उच्चारण फेला पार्न सकिन्छ। यस्तै कति सहरलाई दुईदेखि चार अक्षरको छोटकरीमा पनि जनाएको पाइन्छ।
नापको प्रणालीमा नेपालले एमकेएस (लम्बाइ, पिण्ड र समय क्रमशः मिटर, किलोग्राम र सेकेन्ड) पद्धति चलाउँछ भने अमेरिकाले सीजीएस (सेन्टिमिटर, ग्राम र सेकेन्ड)। तर क्यानडामा भने नेपालजस्तै एमकेएस प्रद्धति छ। अमेरिकाका राजमार्ग नामबाट कम चिनिन्छन्, संख्याले धेरै। राजमार्ग ९५, ९३, ८४ आदि। उत्तर–दक्षिणका राजमार्ग बिजोर छन् र भने पूर्व–पश्चिम जोर। कसैले राजमार्ग ८४ भन्यो भने यो पूर्व–पश्चिम राजमार्ग हो भन्ने बुझिन्छ। समय लेख्ने फरक तरिका फरक छ। नेपालमा साल, महिना र गते लेखिन्छ भने यहाँ महिना, तारिख र वर्ष लेखिन्छ।
नगर, सहर, वा गाउँठाउँका गल्ली वा बाटाका नाममा स्ट्रिट, एभेन्यु, बुलेभार्ड आदि प्रयोग हुन्छ। अनि ती स्ट्रिट, एभेन्यु, बुलेभार्डका छोटकरी रूप हुन्छन्, जस्तोः स्ट्रिटलाई एसटी, एभेन्युलाई एभीई आदि। संयुक्त राष्ट्रसंघ मुख्य कार्यालय न्युयोर्कको ठेगाना ७६० युनाइटेड नेसन्स प्लाजा, म्यानहटन, न्युयोर्क हो। प्लाजालाई पीएलजे वा पीएल लेखिन्छ। यसको बढी प्रयोग हुलाकले गर्ने भएकाले यहाँको सरकारी हुलाक सेवा ‘यूएसपीएस’को वेबसाइटमा यसको विस्तृत विवरण फेला पर्छ। लेख्न धेरै नपर्ने तर हुलाकी संकेत (पोस्टल कोड र जिपकोड) पनि ख्याल राखे राम्रो।
मन्त्रालय हुँदैनन्, डिपार्टमेन्ट हुन्छन्। राष्ट्रपति सल्लाहकार निकाय भनेर एक दर्जन बढी मन्त्रालय छन्, जसलाई डिपार्टमेन्ट भने पनि नेपाली पाठकलाई मन्त्रालय भनेर सजिलो पारिदिन सकिन्छ। तर यस सूचीको स्टेट डिपार्टमेन्ट (डिपार्टमेन्ट अफ स्टेट)लाई विदेश मन्त्रालयका रूपमा चिनाउनु पर्छ। महान्यायाधिवक्तामा डिपार्टमेन्ट जोडिएर आउँदैन, अटर्नी जनरल मात्र हुन्छ। नाममा जुनियर वा सिनियर हुन्छ। नामलाई छोटकरी पार्ने चलन छ। मान्छेको नाम र थर– लास्ट नेम।
सूची बनाउँदा थर, पादविराम अनि नाम लेख्ने चलन। बाबुको नाम मन पराउने छोराले उही नाम राखेर जुनियर जोड्न सक्छ। यो बाबुकै मात्र नाम नहुन सक्छ। नाम छोटो पार्ने चलन, जस्तैः राष्ट्रपति जो बाइडेन भनिन्छ, तर उहाँको नाम जोसेफ रविनेट बाइडेन जुनियर हो। यहाँ जोसेफलाई जो बनाइएको छ। राष्ट्रपति बिल क्लिन्टनको पूरा नाम विलियम जेफरसन क्लिन्टन हो, विलियमलाई बिल बनाइएको। यस्ता अनेक नाम पाइन्छन्। आधिकारिक सरकार तथ्य डट जीओभी भएका सरकारी वेबसाइटबाट लिन सकिन्छ, जाँच्न सकिन्छ। समाचारमा तटस्थ हुन्, एसोसियटेड प्रेस, यूएसए टुडे, एबीसी न्यूज, एनपीआर, एनबीसी न्युज आदिलाई आधार मान्न सकिन्छ।
यसो भनेर लेख्दा मैले जानेका अल्पज्ञान मात्र हुन्। यो विषय भवसागर हो। जान्ने क्रम जारी छ।