आकाशबाट देखेका हिमालहरू
‘वाऊ ! लौ आयो अब एभरेस्ट, एभरेस्ट !’ भनी सबैलाई सूचित गरे पाइलटले। यस्तो दृश्य देख्न पाउनु वा आँखैले त्यसलाई स्पर्श गर्न पाउनु सानो गौरव र सौभाग्यको कुरा थिएन।
आँखामै हिमाल। चम्चम चम्किरहेका हिउँ। आँखाकै ज्योति तिर्मिराउने जाज्वल्यमान हिमाल। पहाड, पर्वत, खोलानाला त्यहाँ कतै केही थिएन। हिउँ र हिमालमात्रै थिए जताततै। सेताम्मे हिउँको ‘हिमाली राज्य’ थियो आँखै सामुन्ने। हिउँबाहेक हेर्नु अरू केही थिएन त्यहाँ। देख्नु पनि हिउँ जमेर बनेका चुली–चुचुरा हिमालबाहेक अर्थोक थिएन।
हिमालमय दृश्यहरू, हिमाली छटा र छविका चमकहरू। पहाडी तरेली र बादलु घुम्टोलाई तलै छोडेर चुलिएका चुचुराहरू। हामीकहाँ प्राकृतिक स्रोत, साधन र सम्पदाका अनेकौं स्थल छन्। त्यही प्रकृति र सम्पदासँग घोलिएर हाम्रो जीवन पनि प्रकृतिमय। हाम्रो जीवन पनि बल्ल जीवनमय भइरहेथ्यो। पैदल–पाइला होइन, गगन–गमनमा यिनै र यस्तै कुरालाई मनभरि सम्झिरहें। हिमाली हार्दिकता नेपाली स्वभाव र पहिचान पनि हो। भौगोलिक विकटताका कारण नेपाली जीवनशैलीले समृद्धिको उचाइ हासिल गर्न सकेको छैन।
यद्यपि सजिलै पहाड, पर्वत चढ्नुदेखि हिमालय आरोहणसम्म हाम्रा सफलता वर्षौं अगाडिबाटै प्राप्त छ। सफल ‘हिमआरोही’को सम्मान विश्वले हामीलाई नै दिएको छ। आकाशबाट हिमाल हेर्दा छर्लंगै देखिन्छ– हिमालको विशालता र व्यापकता। अनि हिमाली सौन्दर्यको अनुपम छटा। हिमाली छवि–छहराका विविध बान्कीमा आनन्दित दृश्य–स्वाद प्रत्येक प्रकृतिप्रेमीको आफ्नो अलग्ग चासोको विषय नै हो। आकृति–तरंगका अनेक आयाम दृश्यभरि भेटिन्छन्– यौटा पृथक् सुन्दर क्यानभास चित्रजस्तै।
आँखालाई चमत्कृत पार्ने हिमाली सुन्दरता प्रकृतिकै अनुपम वरदान। आज त्यही हिमाली ‘लस्करमार्ग’ माथि थिएँ। त्यही घुमिरहेको थिएँ। त्यो घुमाइकै क्रममा मनको मृगतृष्णा बढिरहेको र आँखा त्यत्तिकै चौतर्फी नियालिरहेको म। दृश्य देख्नु केही थिएन। पर–पर धेरै टाढासम्म अस्पष्ट आकृति देखिन्थ्यो– रहस्यमय। हृदय खुसीले धड्किरहेथ्यो लगातार। आँखा तल जमिनतिर थिए। प्यारो देश र हिमाली लस्करमार्गलाई हेर्नु थियो। दृश्यहरूलाई आँखामा समेट्नु थियो। अनन्त हिमालका अनेक आयाम देख्नु थियो। हिमाली सौन्दर्यका ‘लस्करमार्ग’मा मन उडिरहेको थियो।
गहिरा खाल्डाखुल्डी बरफका। तलबाट जम्दैजम्दै फेरि माथिबाट थपिँदै–थपिँदै उरुङ्खात बनेका। हिउँका चाका हेर्दा अचम्मकै दृश्य उपस्थित थियो। कतै चुलिएको झुसी, कतै ‘स्की’ खेल्न हुने चिप्लो चिप्लेटी रूप। सेताम्मे हिउँका साम्राज्य ! चिसो तापक्रममा पनि तातो बाफ कतै खोचबाट हरहर निस्किरहेथ्यो। पहाडका गहिरा र अँध्यारा खोचहरू। हिमताल र हिमनदीका अनेक रूपहरू। अनकन्टारका चट्टाने भीरहरू। हिलाम्मे हिउँका देदिव्यमान आकृतिहरू ! आँखाको क्षितिजसम्म हिमालीसुन्दर रूप। तिनले आँखालाई छुन आउँथे। मनलाई रोमाञ्चित पार्थे।
पाइलट यात्रीलाई झन् उत्सुकता थपिदिन्थे– ‘ऊ त्यही हो खुम्बु आइसफल क्षेत्र, जहाँ बरफले पूरै ढाकेको छ। यसै ठाउँमा ट्राफिक जाम हुन्छ। ‘ट्राफिक जाम’ अर्थात् सगरमाथा चढ्ने र ओर्लिनेको भीडका कारण त्यहाँ पालो पर्खनुपर्छ।’ उत्सुकतालाई मेटाउने चेष्टा गर्थे र बेलाबखत आपूm बसेको ककपिटबाट पछाडि फर्विmंदै सूचना, सन्देश र समाचार दिन्थे हामीलाई।
सफा सेताम्मे हिउँकै साम्राज्य। हिउँ पहाडका चुली। कतै धाँजा फाटेर अनौठो स्वरूप दृष्टिगोचर हुन्थ्यो। देखिन्थ्यो कञ्चन कल्कलाउँदा हिमाली लस्करमार्ग आँखामा। आकाशबाट हिमाल हेरिरहेको थिएँ। बादलभन्दा अझ उचाइबाट गहिराइतिर नियालिरहेको थिएँ। चोखो प्रकृतिको दर्शन गरें, अघाइञ्जेल प्रकृतिलाई घुटुघुटु पिएँ। पहाडका तरेलीसँग हिमाली फाँटका विशाल अवस्थिति आँखाभरि देखा पर्थे। तृप्त पारिदिन्थे तिनले। मनमा बेग्लै तरंग, उत्साह र आनन्दको सञ्चार हुन्थ्यो।
मौन बसेका पाइलट पुनः अथ्र्याउन थाले। उनले नबताए त के थाहा र, त्यो हावा र शून्य आकाशमा के छ ? कहाँ छौं ? कता जाँदै छौं ? कहाँ पुग्यौं ? बाहिर के देखिँदैछ ? केही रत्तिभर थाहा पत्तो हुँदैनथ्यो। न गन्तव्यको टुंगो, न दृश्यस्वादको मज्जा ! धन्य हुन् ती पाइलट। थाहा छैन अरू पाइलट पनि यस्तै सहयोगी हुन्छन् कि हुँदैनन् ! यस्तै मित्र–मिजास कतिमा भेटिन्छ कुन्नि !?
‘चिरा परेका चिसा र गहिरो खाल्डो भागलाई ‘क्रेबस’ भनिन्छ। यस ठाउँबाट खुट्टा खुस्किएर झरे ऐऽऽ...या बाबा ! पनि भन्न नपाई एकैछिनमा एकैचोटि परमधाम पुगिन्छ।’ यसरी पाइलटको बयान ननिख्रिँदै यात्रारत विमानमा विराजमान कुइरे–कुइरेनी कानेखुसी गरिरहेका हुन्थे। खुसीले रमाइरहेका देखिन्थे। तिनीहरू चिस्याउनुसम्म चिस्याइरहेका हुन्थे। कुनापट्टिका कुइरे रमाएर सम्झिँदै थिए– यो क्रेबसलाई ‘एभरेस्ट आइम्याक्स’ फिल्ममा पनि निकै महŒवका साथ देखाइएको चखिलो वर्णन। कुराकानीसँगै उनीहरू अझ उत्तेजित बनिरहेका थिए। सायद फिल्मका दृश्य यथार्थमा देख्न पाएर यसरी रमाउनु र रोमाञ्चक अनुभूतिले हर्षित हुनु स्वाभाविक हो। सुन्दर हिमालहरूले बिहानी समयको मीठो मुस्कान पस्किरहेका। प्रकृतिको विराट स्वरूप प्रदर्शन गरिरहेका। त्यस अग्लाइमा जातीय विभेद थिएन। त्यस उचाइमा धनी र गरिबको खाडल पनि थिएन। त्यहाँ शान्ति र समानता थियो। कोही कसैसँग कुनै झगडा थिएन। मिलेर बसेका वर्षौंदेखि सबै। कलिलो घाम हिमालका कान्लाभरि पर्दा त्यसको शृंगार र रङ नै अर्कै देखियो, जसलाई कलाकारका आँखाले मात्रै ठम्याउन सक्थ्यो। त्यतिबेला अनेक फुँदा लगाएर तिनको व्याख्यान गर्न चाहें तर सकिएन।
बरफका विभिन्न आकृति र हिमालका विविध स्वरूप त्यहीँ थिए स्थिर। हिम–पत्थरमा कलिलो घामको पहिलो किरणले चुमेको दृश्य देखियो। यो भिन्न रूपरङ र भिन्न दृश्य देखेर सबैजना खुसीले चिच्याए। किनभने त्यतिबेला घामको पुनःजन्म हिमालमा भइसकेको थियो। कलिलो घामको स्पर्श पाएर कठोर हिमाली चट्टानका भूतलमा सुकोमलता भित्रिरहेका थिए। त्यतिबेला नतमस्तक भएर प्रकृतिले बालसुलभ मुस्कान प्रस्तुत गरिरहेको थियो।
आहा ! यो दृश्य–स्पर्श र यो क्षणको दर्शनभेट आफैंमा अलौकिक लाग्थ्यो। हिमाली उडानले नयाँ जीवनमय अनुभूति दिँदोरहेछ। मुसुमुसु मुस्कान–मुद्रामा मौन प्रकृतिले अथाह भाव अभिव्यक्त गर्दोरहेछ। त्यसलाई आत्मसात् गर्न सक्नु जीवनकै अविस्मरणीय अनुभूति हुन्थ्यो। त्यस क्षणलाई आँखाबाट उम्किन दिएनौं। एकाबिहानै आधा काठमाडौंवासी निदाइरहँदा हामी हिमालतिर बत्तिएका थियौं। गोसाइँकुण्डभन्दा माथिको मार्ग भएर हामी हिमाली यात्रा पूर्वतिर लम्किँदै गयौं। विमान क्रमशः उचाइतिर चढ्यो। हाम्रा आँखा जमिनबाट क्रमशः टाढिँदै गए। तल–तलका घर, पहाड, वनपाखा, नदी, बाटाघाटा आदि सबै चीजबिज फरक देखिँदै गए। कतै हुस्सुले ढाकेको पहाड। कतै हरियालीले सुशोभित खेतका गरैगरा फाँट। फेरि लहरै तलमाथि खातैखात हिमालको शृंखला। प्रकृतिको यस्तो अनुपम अनि अद्भुत लीलाप्रति नतमस्तक हुँदै आँखा र मन रमाउन पुग्थे।
अब फेरि हिउँको फाँट। पहाडदेखि पहाडसम्म, फाँटसम्म कतै देखिन्थ्यो अनौठो रूप। कतै भेटिन्थ्यो हिउँ पहाडको घनघोर थुप्रो। हिउँको चाका एकपछि अर्को सुतिरहेको थियो हिमाल। तर हिमाल कहीँ उठिरहेको थियो। रूखपात थिएन कतै नांगोपनमा पनि सौन्दर्य सम्प्रेषित थियो। हिउँका प्रशस्त प्रस्तर प्रतिकृति सेतो, सुनौलो, नीलो, कालो आदि अनेक रङका अनेक रूप देखिन्थे। कतै गाढा र फिक्का रङका आवरणमा स्वतः अनावरण भएका। उहिलेदेखि यसरी नै यी ठाउँमा विराजमान। श्वेताम्बर हिमपहाडको मनोरम सुन्दर तरेली।
‘वाऊ ! लौ आयो अब एभरेस्ट, एभरेस्ट !’ भनी सबैलाई सूचित गरे पाइलटले। संसारकै अग्लो चुलीलाई आँखैबाट दर्शन गराउन यात्रीलाई ककपिटसम्मै डाकेर देखाए। यस्तो दृश्य देख्न पाउनु वा आँखैले त्यसलाई स्पर्श गर्न पाउनु सानो गौरव र सौभाग्यको कुरा थिएन। किनभने यही प्राप्तिका निम्ति कैयौं रकम खर्चेर समुन्द्रपारिका पाहुना आउँछन्। अब सर्वोच्च शिखर सगरमाथा देखिएपछि विमानको उचाइ झन् बढ्यो। अब हिमाल झन् तल धेरै तल देखियो। हिमाल र पहाडी तरेलीको रूपै बदलिए झैं लाग्यो। हिमालबाहेक देख्नु आँखामा अब केही बाँकी थिएन। हिउँ र हिमालको विशालतामात्र व्याप्त थियो आँखाभरि। मनमा चाहिँ उत्सुकता र कुत्कुती।
हाम्रा आँखा वरिपरि हिमाल हिँडिरहेका थिए। चुपचाप हेरिरह्यौं। खुम्बु हिमनदी पनि देखिन्थ्यो। ल्होत्से र नुप्सेको सेताम्मे हिउँको थुप्रो। जहाँ र जता हेरे पनि, जहाँ आँखा बिसाउन पुगे पनि भीरपाखा, टाकुरा, फेद सर्वत्र सेताम्मे हिउँका बिस्कुन सुकाइएका थिए। अग्लो उचाइ चुलिएको अनि गहिरो खाडल डरलाग्दो। फर्किंदा पाइलटले सबैलाई सुनाए– ‘हिउँचितुवाको गाउँ आउँदैछ है।’ दशपटक सगरमाथा चढ्ने हिउँचितुवा अर्थात् प्रसिद्ध आरोही आङ्रिता शेर्पाको गाउँ ‘हिलाजुङ’ यसै रमणीय फाँटलाई भोटेकोसीले ठ्याक्कै दुई फ्याक पारेर बगेको रहेछ।
पाइलटले हामीलाई जानकारी दिए– ‘प्रसिद्ध पर्वतारोही आप्पा शेर्पाको घर ऊ त्यही थामे गाउँ हो।’ तर आँखाले झ्यालबाट चियाउन नपाई फेरि अर्को दृश्य र वर्णन सुरु हुन्थ्यो। यात्री अलमलमा पर्थे। आँखाले नियाल्न नपाउँदै ती दृश्य धेरै पछाडि छुटिसकेका हुन्थे। झ्यालबाट घाँटी तन्काएर हेर्दा शान्त र सुन्दर लामाबगरको सौन्दर्य देखियो। तिब्बती पठारको फराकिलो फाँट थियो। त्यसपछि देखियो, चिटिक्कका घर, खेतका गरा, हरियालीले भरिएको चित्र जस्तै चरीकोट र जिरी। प्रसिद्ध गौरीशंकर हिमाल, च्छोरोल्पा हिमताल। सगरमाथा¬ आरोहीहरूको गाउँको चर्चा चल्यो। तिनलाई आँखामा भेट्न झ्यालबाट चियाउन सबै उत्सुक भए। आँखा तन्काए। कतिपयले क्यामेरा तेस्र्याए। तर केही पनि देखिएन। त्यो कता हो कता ? तल भूतलमा कतै थियो।
आरोहीको ग्रामीण दृश्य कमैले देखे। धेरैले अनुमानसम्म पनि गर्न भ्याएनन्। विमान बेगले बतासिँदा ठम्याउने मौका भएन। पाइलटले बोलेको अस्पष्ट सुनियो, कुरा केही बुझिएन। झ्यालबाट तल हेर्दा पहाडका धमिला धब्बाबाहेक केही देखिएन। शून्य आकाश र तल कतै बादललाई हावाले यता र उता नचाइरहेको। त्यो नाच हेर्नुको पनि अर्कै मज्जा। प्रकृतिको ‘वरदान’ हिमालसँग धेरै थोक छ। यो सौन्दर्यको ‘भण्डार’। सगरमाथाको छानामाथिबाट संसार चियाउँदा यो एकदमै टाढा, एकदमै एकल र अलग्ग लाग्थ्यो।
सारा सुन्दर प्रकृति नै यतिबेला चकमन्न थियो। यो परिवेश रविन्सन क्रुसोको कतै अनकन्टारमा अवस्थित टापुझैं देश र दुनियाँबाट एक प्रकारले बेखबर भइरहेजस्तै पनि लाग्थ्यो। आकाशबाट हिमालमा आँखा डुलाउँदै, घाँटी तन्काउँदै गर्दा क्षणभरमै सिद्धिएछ एक घण्टाको उडान। आँखाको गतिशील यात्रा एक निमेषमा संसार–भ्रमण गर्नु जत्तिकै वा ‘गुगल अर्थ’मा विश्व हेर्नुजस्तै लागिरह्यो त्यो हिमाली लस्करमार्ग ! अनौठो, अपत्यारिलो अनि अत्यासलाग्दो पनि। समग्रमा आकाशबाट हिमाल हेर्नुको दर्शन एक सुन्दर संसार–समग्र।