आधुनिक विज्ञान र वैदिक विज्ञानका दृष्टिमा
जलजगत् अर्थात् सृष्टिको जग
अतः आधुनिक विज्ञानले आफ्ना खोज अनुसन्धानमार्फत भविष्यमा जे जति नयाँ आविष्कारहरू गर्नेछ, त्यो सदैव वेदको परिधिभित्रै रहनेछ।
पानी जीवनको अमृत हो। यसको मानव अनुभवमा गहिरो र प्रतीकात्मक प्रभाव छ। पृथ्वीको जस्तै मानव शरीरको पनि झन्डै तीन चौथाइ भाग पानीले ओगटेको छ। सबै जैविक प्रक्रियाहरूका लागि पानी आवश्यक घटक हो। अतः जीवनको अस्तित्वका लागि पृथ्वीमा पानी आवश्यक छ।
पानीबिना मानिस जीवनको कल्पना गर्नै सक्दैन। त्यसो त ‘कंगारु मुसा’ मरुभूमिमा जीवनभर पानी नपिई बाँच्न सक्छ। झन्डै सात महिना त ऊँटले पनि आफूलाई पानीबिना बाँचेर देखाउँछ। पानी दुई हाइड्रोजन परमाणु र एक अक्सिजन परमाणु मिलेर बनेको एक अनौठो यौगिक हो। यसको आणविक तौल १८ हुन्छ। यो पृथ्वीमा एकमात्र ज्ञात पदार्थ हो, जुन प्राकृतिक रूपमा पदार्थका तीनै अवस्थाहरू ठोस, तरल र ग्यासमा अवस्थित हुन्छ।
यद्यपि यसलाई एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन तापशक्तिमार्फत भौतिक परिवर्तनहरू गुजार्नु पर्छ। पानीको अवस्था परिवर्तनले परिवर्तन संसारको इन्धन हो। यो बिना संसारको गतिशीलता असम्भव हुन्छ भन्ने पाठ हामीलाई मिल्छ।
पानीमा प्रकृतिका तीनै गुण
व्यापकताको अवस्था सत्त्वमा भन्दा रजोमा संकुचन हुन्छ र तमोमा यो व्यापकता निकै न्यून हुन्छ। यसर्थ पानी जगत्को यस्तो पदार्थ हो जसमा प्रकृतिका तीनै गुण- सत्त्व (ग्यास), रजो (तरल) र तमो (ठोस) समावेश हुन्छन्। यो पानीको विशेष गुण हो। यसर्थ भौतिक संसारका लागि पानीको दोस्रो विकल्प अर्को कुनै छैन।
अज्ञान र शून्यको अवस्थामा अनुमान गर्न लायक त्यस्तो कुनै रूप हुँदैन ताकि तर्कहरूद्वारा हाम्रा दिमागमा त्यसको लक्षणलाई स्थिर गर्न सकियोस्। यसकारण हाम्रो ज्ञानले त्यो अव्यक्त, सनातन, व्यापक र अचिन्त्य रूपलाई कत्ति भेउ पाउन सक्दैन।
हाम्रा वैदिक शास्त्रले मानवीय ज्ञानले भेउ पाउन नसकेको त्यही अज्ञान र शून्य स्वरूपलाई परब्रह्म अर्थात् परमात्मा भनेर भनेको छ। उनैले यो अज्ञान र शून्यको प्रलय अवस्थालाई नास गर्न सक्ने शक्तिलाई सृष्टि गर्न सक्षम पृथ्वी, जल, तेज, आकाश र वायुका साथमा स्वयं आफूलाई उत्पन्न गराए।
त्यसपछि उनलाई अनेक प्राणीहरूलाई उत्पन्न गर्ने इच्छाले आफ्नो शरीरबाट जल उत्पन्न गरी त्यही जलबाट जीवको बिज पनि उत्पन्न गरे। जुन बिज सूर्यसमान तेजस्वी सुनको अन्डाको आकारमा परिणत भयो। यसैलाई नारायण भनिन्छ। यस तथ्यलाई मनुस्मृतिको अध्याय-१ को दसौं श्लोकले स्पष्ट पार्छ-
आपो नारा इति प्रोक्ता आपो वै नरसूनवः।
ता यदस्यायनं पूर्व तेन नारायणः स्मृतः।।
अर्थात्, पानीलाई नार भनिन्छ। त्यसैबाट उत्पन्न भएकाले भगवान्लाई नार भनियो। उनको अयन (बस्ने ठाउँ) जल भएकाले उनलाई नारायण भनियो। उनै नारायणबाट सम्पूर्ण जीव सृष्टिका कारणस्वरूप ब्रह्मा उत्पन्न भए।
पानीबाटै पृथ्वी!
पृथ्वी नारायणको सृष्टि हो र उनी पानीबाट सृष्टि भए। नारायणको नाभीबाट कमल (वनस्पति) सृष्टि भयो र कमलबाट ब्रह्माको सृष्टि भयो। नारायणका कानेगुजीबाट उत्पन्न भएका दुइटा भयंकर डरलाग्दा असुर- मधु र कैटभले नारायणका नाभीकमलमा बसेका ब्रह्मालाई मार्न तयार भए।
त्यसपछि उनले आफ्नै नयनमा निवासी योगमायाको पानीमा शेषशैय्यामा निदाएका नारायणलाई ब्युँझाउन स्तुति गरे। स्तुतिका प्रभावले नारायणलाई जगाउन देवी ब्रह्माको दृष्टिमा सृष्टि भइन्। नारायण योगनिद्राबाट ब्युँझे र दिव्य पाँच हजार वर्षसम्म बाहुयुद्ध गरे।
बलले उन्मत्त ती महाअसुरलाई देवीले महामायाले मोहित पारेर ‘तिम्रो वीरताले सन्तुष्ट भयौं, हामीसँग इच्छा भएको वर माग’ भनेर उल्टै नारायणलाई उनीहरूसँग वर माग्ने अवसर जुटाइदिन्छिन्। यही मौकाको फाइदा लिँदै भगवान्ले ‘यहाँ अरू वरले के मतलब छ ?’ भन्दै उनीहरूलाई तिमीहरू दुवै मबाट मारिओ भनी वर मागे।
यस प्रकार ठगिएका ती असुरले सब जगत् जलाम्मे देखेर जहाँ पृथ्वी पानीले डुबेको छैन, त्यो ओभानो ठाउँमा हामीलाई मारभन्दा भगवान्ले ‘त्यसै गर्छु’ भनी ती दुवैको शिर आफ्नो जाँघमा राखी चक्रले काटेर मारेको कथा पुराणमा छ। विज्ञानका नयाँ अध्ययनहरूले पनि पृथ्वी कुनै समय १०० प्रतिशत पानीमा डुबेको कुरा बताएको छ।
तर्कमा भन्दा प्रमाणमा विश्वास गर्ने दार्शनिक ‘थेल्स’ (जसले पश्चिमी संसारमा भविष्यको वैज्ञानिक र दार्शनिक विचारको जग बसाले)ले पनि सबै प्रकारका जीवनलाई कायम राख्न पानी स्पष्ट रूपमा आवश्यक भएको विश्वास गर्छन्। उनले पृथ्वीको प्रत्येक भू-भाग पानीको किनारमा समाप्त भएको देखेपछि भनेका थिए- ‘सम्पूर्ण पृथ्वी पानीको ओछ्यानमा तैरिरहेको हुनुपर्छ, जहाँबाट यो निस्किएको हो।’ उनको यो भनाइ हाम्रा शास्त्रसंगत छन्।
सृष्टिको मूल तत्त्व जलतत्त्व
नारायण (विष्णु)का दस अवतार क्रमशः मत्स्य, कुर्म, वाराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीलाई मानिन्छ। यसलाई क्रमैसँग हेर्यौं भने पहिलो अवतार माछा हो। जो एक जलीय जन्तु हो। दोस्रो अवतार कुर्म (कछुवा) पनि पानीमै रहने जीव हो।
तेस्रो वाराह हिलोमा बस्छ। हिलो भनेको पानी र जमिनको मिश्रित स्वरूप हो। अतः यो जल र थल दुवैमा बस्ने उभयचर जीव हो। चौथो अवतार नरसिंह वराहभन्दा विकसित आधा पशु र आधा मानिसको रूप हो। अविकसित जीव यसरी विकसित हुँदै अति विकसित मानवीय स्वरूप र त्यसपछि पछिका अनन्त परमात्माको अनन्त सम्भावनायुक्त चैतन्य स्वरूपमा विकसित हुँदै गएको दृष्टान्त विष्णुका अवतारहरूले हामीलाई दिन्छन्।
त्यसो त हरेक मानिसको सृष्टि उसकी आमाको गर्भमा जलावतारकै रूपमा हुने गर्छ। र, जसमा शुक्राणुको रूप माछाकै सरह हुन्छ। कुर्मावतार, शुक्राणु आमाको अन्डासँग संयोजन भई बनेको हातखुट्टासहितको भ्रूणलाई मानिन्छ भने वाराहलाई जलचरबाट थलचरतर्फ रूपान्तरित हुँदै गरेको गर्भस्थितिमा रहेको बच्चालाई लिन सकिन्छ।
यस्तै नरसिंहलाई नवजात शिशु (जो प्रारम्भमा पशुजस्तै ज्ञानविहीन हुन्छ)का रूपमा वामनलाई बाल्यकाल, परशुरामलाई ब्रह्मचार्य अनि क्रमशः रामलाई युवा गृहस्थ, कृष्णलाई वानप्रस्थ योगी, बुद्धलाई चैतन्यरूपी वृद्धावस्था अनि कल्कीलाई मृत्युपछिको अलौकिक अवस्थासँग जोडिएको जैविक विकासक्रमलाई यसबाट बुझ्न सकिन्छ।
पानी नै सृष्टिको मूलतत्त्व भएको तथ्यलाई अथर्ववेद- ४/२/६ ले यसरी प्रष्ट पारेको छ-
आपो अग्रे विश्वमावन् गर्भा दधानाअमृता ऋतज्ञाः
यासु देवीष्वधि देव आसित् कस्मै देवाय
हविषा विधेम।।
अर्थात् हामी अमृतरूपी सत्यको उद्घाटन गर्ने, ऋतु नामको सत्यलाई बुझेका सृष्टिको मूल तत्त्वका रूपमा जलतत्त्वलाई गर्भमा धारण गरेका, विश्वलाई गतिशील गराउने दिव्यशक्तिलाई आफ्नो वशमा राख्ने ‘क’ नाम गरेका वा त्यस्तै देवतालाई हवि आदि अर्पित गरेर उनको ध्यान गर्छौं।
जीवनको सुरुआत पानीबाटै
अतः आज आधुनिक विज्ञानको खोज र अनुसन्धानले सृष्टिको विकास अर्थात् जीवनको सुरुआत पानीबाटै भएको पुष्टि गर्दै गरेको तथ्य वैदिक विज्ञानले यसरी मन्त्रद्वारा सृष्टिको आदिकालमै बताइसकेको छ। ग्यासको रूपमा सबैभन्दा हलुका ग्यासहरूमा पर्ने असामान्य र विशिष्ट गुण भएको पानी सामान्य तरल पदार्थ हो।
सृष्टिका सबै वस्तुमा तापका कारण पानीको प्रसारण र संकुचन असामान्य हुन्छ। जब पानीलाई ० डिग्री सेल्सियसबाट ४ डिग्री सेल्सियससम्म तताइन्छ, प्रसारण भएर यसको आयतन बढेर घनत्व घट्नुको सट्टामा यो अझ संकुचन भएर यसको आयतन घटाइको न्यूनतम बिन्दुमा पुग्छ भने घनत्व अधिकतम बिन्दुमा पुग्छ।
यसर्थ ४ डिग्री सेल्सियसमा भन्दा पानीको न्यूनतम आयतन र अधिकतम घनत्व त्योभन्दा माथि र त्योभन्दा तलका कुनै पनि तापक्रममा हुँदैन। विज्ञानले पानीको यो विशिष्ट गुणलाई ‘पानीको अनौठो स्वभाव’ अर्थात् ‘एनोमेलस बिह्याभियर अफ वाटर’ नामकरण गरेको छ। यही स्वभावका कारण पानीको घनत्व ठोसमा हुँदाभन्दा तरलमा हुँदा बढी हुन्छ। फलतः पानीको ठोस रूप ‘बरफ’ पानीमै तैरिन्छ।
तरल घिउ चिसिँदै जाँदा तल पिँधबाट जम्दै मास्तिर जान्छ र पिँधदेखि सतहसम्म पूरै जम्छ। पानी चिसिँदै जाँदा माथि सतहबाट जम्न थाल्छ। परन्तु आफ्नो अनौठो स्वभावका कारण यो कहिल्यै पनि पिँधसम्म जम्दैन। पानीको यही गुणले गर्दा जाडो याममा सतहमा बरफ जमेका समुद्रमा माछालगायतका सम्पूर्ण जलचरहरू जीवितै हुन्छन्। अतः विधाताको सृष्टिमा पानी अत्यन्तै विशिष्ट सृष्टि हो। सृष्टिको इतिहास हेर्दा योबिनाको सृष्टि कल्पना गर्नै सकिन्न।
जीवलोकका लागि जलतत्त्व
भौतिक र रसायनशास्त्र दुवैमा प्रयोग हुने आधारभूत पक्षहरूमध्ये ‘पदार्थको विशिष्ट तापधारण क्षमता’ एक महत्त्वपूर्ण पक्ष हो। यो भनेको एक केजी पदार्थको तापक्रम एक डिग्री सेल्सियसले वृद्धि गर्न आवश्यक तापशक्ति हो। पानी मात्र पृथ्वीको एक यस्तो पदार्थ हो जसको विशिष्ट तापधारण शक्ति अरू सबै पदार्थको भन्दा बढी छ। एक केजी पानीको तापक्रम एक डिग्री सेल्सियसले वृद्धि गराउन ४२०० जुल तापशक्ति चाहिन्छ।
जब कि पारोका लागि जम्मा १३८ जुलको तापशक्ति भए यसको तापक्रम एक डिग्री सेल्सियसले वृद्धि भइहाल्छ। यही बढी तापशक्तिका कारण लगभग सबै प्रकारका प्रयोगमा पानी अत्यधिक आवश्यक छ। पानीले पृथ्वीको करिब ७१ प्रतिशत भाग ओगटेको छ। यदि पृथ्वीमा जमिनको भन्दा पानीको मात्रा बढी र पानीको उच्चतम विशिष्ट तापधारण क्षमता हुँदैनथ्यो भने पृथ्वीको तापक्रममा भयानक भिन्नता आउने थियो।
अतः पानीको बढी मात्रा र यसको उच्चतम
विशिष्ट तापधारण क्षमताका कारण पृथ्वीको यो भयानक भिन्न तापक्रम आश्चर्यजनक रूपमा नियन्त्रणमा आएको हो। अन्यथा पृथ्वी जीवनका लागि यसरी अनुकूल हुनै सक्दैन्थ्यो।
यसैगरी पानीको यो गुणलाई मेसिनहरूमा ‘इन्जिन शीतलक’का रूपमा पनि प्रयोग गर्न सकिन्छ। जसको कारण पानीले मेसिनको इन्जिनबाट ठूलो मात्रामा ताप-ऊर्जा अवशोषित गरिदिन्छ। फलतः इन्जिनको तापक्रम लामो समयसम्म तातिन नदिएर इन्जिनको आयु बढाइदिन्छ।
‘हट वाटर ब्याग’मा पानी लामो समयसम्म तातो रहनु, ज्वरो आउँदा निधारमा पानीपट्टी लगाएर ज्वरो कम गर्नु आदि पानीको यही गुणका कारण सम्भव भएको हो। अरू तरल पदार्थको तुलनामा पानी उमाल्न लामो समय लाग्नुको कारण पनि यही हो। यसरी पानी जीवलोकका लागि सृष्टिको अनुपम
तत्त्व हो।
सम्भव छ पानीमा आगो
हाम्रा वेद, पुराण र उपनिषद्का पेजमा हामीले पानीका विषयमा थुप्रै पानाहरू भेट्छौं। पानीका आश्चर्यजनक विज्ञानसिद्ध श्लोकहरू सुन्छौं। विज्ञानले पानी हाइड्रोजन र अक्सिजनको यौगिक हो भनेर अठारौं शताब्दीको अन्त्यतिर पत्ता लगायो। जसमा यी दुईमध्ये हाइड्रोजन आफैं जल्ने ग्यास हो जुन कुरालाई हामीले पनि विद्यालयका प्रयोगशालामा प्रमाणित गरिसकेका छौं। यस प्रकार विज्ञानले पानीमा आफैं जल्ने ग्यास हाइड्रोजन अर्थात् आगो रहेको पुष्टि गर्दछ। त्यसो त विज्ञानले अनन्त ब्रह्माण्डको असंख्य संख्याका ताराहरूको इन्धन नै हाइड्रोजन र ताराहरू आगोका पुञ्ज भएको कुरालाई प्रयोगद्वारा स्विकारिसकेको छ।
हेरौं पानीमा आगो रहेको प्रमाण हाम्रा वेदका पानामा उहिल्यै बताइएका प्रसंगहरू-
१. अप्सु मे सोमो अब्रवीदन्तर्विश्वानि भेषजा।
अग्नि च विश्वशम्भुवम्।।
(ऋग्वेदः १०/९/६)
अर्थात् पानीमा सम्पूर्ण जीवनरस र संसारका लागि सुखदायक अग्नितत्त्व पनि रहेको छ भन्ने कुराको संकेत सोमदेव (चन्द्रमा)ले गरेका छन्। साथै यस मन्त्रले पानीमा जीवनका लागि सम्पूर्ण आवश्यक तत्त्व भएको तथ्यलाई स्पष्टसँग संकेत गरेको छ।
२. गर्भो यो अपां वनानां गर्भश्च स्थातां गर्भश्चरथाम्।
अद्रौ चिदस्मा अन्तर्दुरोणे विशां न विश्वो
अमृतः स्वाधीः।।
(ऋग्वेद, १/७०/३-४)
अर्थात् सबै प्रजाहरूलाई राजाले जत्तिकै आश्रय दिने उत्तमकर्मा र अविनाशी अग्निदेव जल, वन, जंगम र स्थावरका गर्भमा विद्यमान छन्। यी अग्निदेवलाई मानिसहरूले घर र पर्वतमा हवी प्रदान गर्छन्।
पानी वनका हरिया वनस्पतिलगायत गतिमान (जंगम) र विश्राममा रहेका (स्थावर) वस्तु सबैमा हुन्छ। यसैले पानी अवस्थित भएका सबै वस्तुको आँतमा आगो रहन्छ भनेर माथिको मन्त्रले बताएको छ। वेद कहिल्यै झुट्टो हुँदैन भनेर हामीलाई हाम्रा पितामहहरूले बताउँदै आउनु भएको कुरा पनि हामीले सम्झिरहेकै छौं।
३. अग्नि समुद्रवाससम्।।
(सामवेद- आग्नेय पर्व/द्वितीय खण्ड-८)
अर्थात्, समुद्रमा वास बस्ने हे अग्निदेव!
यस मन्त्रले पनि छर्लंग नै पारेको छ कि आगोको निवास पानी नै हो भनेर।
जलबाट उत्पादन गरिने विद्युत्को नाम
हो- जलविद्युत्।
वेदका पाना र बिजुलीको उज्यालो
संसारको पहिलो जलविद्युत् परियोजना सन्
१८७८ मा इंग्ल्यान्डको नर्थम्बरल्यान्डको क्यार्गसाइड कन्ट्री हाउसमा एकल बत्ती बाल्न प्रयोग गरिएको थियो। आउनुस्, अब वेदका पाना पल्टाऔं र बिजुलीको उज्यालो हेरौं-
धामन्ते विश्व भुवनमधि श्रीतमन्तः समुद्रे हृद्यञ्तरायुषि।
अपामनिके समिथे यआभृतस्तमश्याम
मधुमन्तं त ऊर्मिम्।।
(ऋग्वेद, ४/५८/११)
हे अग्निदेव! तिम्रो तेज समुद्रका बीचमा बडवाग्निका रूपमा, आकाशमा सूर्यदेवका रूपमा, हृदयका बीचमा वैश्वानरका रूपमा, अन्नमा प्राणका रूपमा, जलमा विद्युत्का रूपमा र युद्धमा शौर्याग्निका रूपमा विद्यमान छ। सारा संसार नै तिमीमा आश्रित छ। तिम्रो त्यो मिठासले पूर्ण रसको उपयोग
गर्न हामी समर्थ होऊ।
वेदको यस ऋचाले जवाफ दिएन त पानीमा बिजुली छ भनेर। वेदबाट निकै प्रभावित बीसौं शताब्दीकी लोकप्रिय अमेरिकी कवयित्री- एला ह्विलर विल्कक्सले पनि विद्युत्, रेडियम, इलेक्ट्रोनिकस्, हवाईजहाजजस्ता सारा कुराका बारेमा ती द्रष्टालाई मात्र ज्ञान थियो जसले वेदको रचना गरे, भनेकी थिइन्। जसले वेदका पाना पल्टाउँछ र गहिरो अध्ययन गर्छ, उसलाई मात्र थाहा हुन्छ- वेदभित्रको अनन्त ज्ञान र विज्ञानको भण्डार!
यस्तै पानीमा अग्निदेव (ताप) अर्थात् आगोको उपस्थितिका कारण बादल आकाशमा अडिन सकेको अनौठो लीलाका बारेमा वेदले उहिल्यै खुलासा गरिसकेको छ। आकाशमा भएको बादल पानीको ग्यासीय अवस्था हो। जो जमिनमा भएको पानी सूर्यको तापले बाफ बनेर आकाशमा पुगेपछि बन्छ। यो बादलले पानीको विशाल वजनलाई जमिनमा झर्न नदिई रोकेर राख्छ।
बिनाआधार यो किन र कसरी सम्भव हुन्छ र कुन बेलासम्म पानी आकाशमा बादलको रूपमा जमिनमा नझरी रहन्छ ? आधुनिक विज्ञानका अनुसार यस्तो ‘अदृश्य ताप’का कारण भएको हो, जसलाई पानीका थोपाले तरल पदार्थबाट वाष्पमा परिणत हुँदा ‘भण्डारण’ गर्छ। विज्ञानले यसलाई ‘गुप्तताप’ अर्थात् ‘ल्याटेन्ट हिट’ भनेर नामकरण गरेको छ।
नमस्ते प्रवतो नपाद्. . .
बाफ बादल बनेर आकाशमा घुमिरहँदा त्यस बाफलाई पानीका रूपमा जमिनमा झर्न नदिने काम त्यसमा मौजुद रहेको गुप्तताप अथवा अग्नितत्त्वले गर्छ। यदि बाफमा यो गुप्तताप हुँदैनथ्यो भने बाफ जुनसुकै बेला पनि पानीका रूपमा जमिनमा झर्न सक्थ्यो।
यो संवहनी बादलहरूको गठन र वायुमण्डलको स्थिरता र अस्थिरतामा संलग्न प्राथमिक र अचम्मको कारक तत्त्व हो। यही ताप बाफबाट बादल गठनको समयमा संवेदनशील रूपमा उपस्थित हुन्छ। यसको मतलब यो हो कि संलग्न हावा सम्भवतः यसको वरपरको हावाभन्दा न्यानो हुन्छ।
फलतः तातो बाफ माथितिर जान्छ र त्यतिबेला बाफ निकै अस्थिर हुन्छ। त्यही अस्थिरताको बेला मेघ गर्जिन्छ, बिजुली चम्किन्छ र चट्याङ पर्छ। अनि, घर्षणका कारण बादलमा तापक्रम थपिन्छ। जबसम्म यो गुप्तताप बाफमा विद्यमान रहिरहन्छ अर्थात् बादलको तापक्रम बढ्दैन, त्यतिञ्जेल बाफ स्थिर हुँदैन। बाफ स्थिर नभएसम्म पानी जमिनमा झर्दैन।
बरफ पग्लनमा गुप्ततापको अस्तित्व स्थापित गरेपछि २३ अप्रिल १७६२ मा ग्लासगो विश्वविद्यालयमा जोसेफ ब्ल्याक (स्कटिस भौतिकशास्त्री र रसायनविद्)ले यस तापबारे पहिलोपटक जानकारी दिएका थिए।
हेरौं, वेदका ऋचामा गुप्ततापका कथनहरू-
क. सखायस्त्वा ववृमहे देवं मतार्स ऊतये।
अपां नपातं सुभगं सुदंससं सुप्रतुर्तिमनेहसम्।।
(सामवेद, पूर्वार्चिक १/६/८)
अर्थात्, हे उत्तमकर्मा! उत्तम ऐश्वर्ययुक्त, निष्पाप, पापनाशक, पानीलाई तल खस्न नदिने अग्निदेव! संरक्षण पाउनका लागि हामी मानिसहरू तिम्रो मित्रभाव र निकटता स्विकार गर्दछौं।
ख. नमस्ते प्रवतो नपाद् यतस्तपः समूहसि।
(अथर्ववेद, १/१३/२)
अर्थात्, हे विद्युत्रूपी अग्निदेव! तपाईं पानीलाई आफ्नो गर्भमा राख्नुहुन्छ र त्यसलाई असमय जमिनमा झर्न दिनु हुँदैन।