हरितालिकाको हर्षोल्लास

हरितालिकाको हर्षोल्लास

बाबुको मुख हेर्ने पर्व कुसेऔंसी सकिनासाथ हिन्दूनारीको पर्व तीज विशेष चहलपहल हुने शास्त्रीय मान्यता छ। तर, केही वर्षदेखि यो परिपाटीमा हेरफेर भएको छ। तीज पर्वलाई हरितालिका विशेष भनिन्छ, जुन यसपालि असोज १ गते छ। सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वती शिवलाई जीवनसाथी बनाउने इच्छामा थिइन्। बाबु हिमालयले विष्णुसँग बिहे गर्ने सुनेर खिन्न हुँदा साथीद्वारा हरण गरी अन्यत्र एकान्तस्थलमा गई शिवको प्रार्थना गरेको र सोही कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिकाको अर्थमा यस दिनलाई हरितालिकाका रूपमा मनाइने गरिएको चर्चा भविष्य पुराणमा वर्णित छ। भाद्रशुक्ल तृतीया तिथिलाई तीज अर्थात् हरितालिका भनिन्छ।

हरितालिकाको अघिल्लो रात्रिमा विशेष खाना बनाई महिलाले दर खानुपर्ने हो। विवाहित महिला माइतीघरमा बसेर स्वतन्त्र रूपमा तीजपर्व मनाउनुपर्ने हो। छोरीहरूलाई तीज विशेषमा दाजुभाइले माइतीमा विशेष निम्ता गर्ने चलन उस बेलाकै हो। वर्षभरिका दुःख, कष्ट र असामान्य परिस्थितिलाई समेत बिर्सेर हाँसी, ठट्यौली गर्दै शिवको अनुष्ठान गर्ने पर्व हो यो। यसरी मनाइने पर्व तीजमा रसिला, मीठो र व्यंग्यात्मक गीतहरू गाउने, नृत्य गर्ने पनि चलन छ। 

तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने चलन छ। साँझ बालुवाको शिवलिंग बनाई महादेव–पार्वतीको पूजा गर्ने चलन छ। दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिंगमा उमामहेश्वरको पूजा गर्ने, षोडशोपचार विधिले पूजा सम्पन्न गर्ने, कथाश्रवण गर्ने परम्परा तीजको हो। उक्त दिन रंगीन, सौभाग्यका कपडाहरूले सजिएर, निकै ठाँटिएर नारीहरू देवस्थल खासगरी शिवमन्दिरमा पुगी दर्शनका लागि भीड लाग्ने गर्छन्। पशुपतिनाथ मन्दिर, कुम्भेश्वर आदि क्षेत्रमा त त्यसदिन घुइँचो हुन्छ। तीजको पावन अवसरमा विशेष व्रत बस्नाले पतिको आयु वृद्धि हुने पौराणिक मान्यता छ। कुमारीहरूले यस्तो व्रत गर्दा भावी पति असल हुने विश्वास गरिन्छ। पार्वतीले रातमा तीन अञ्जुली पानी पिएर व्रत सुरु गरेको प्रसंगले तीजको दर खाने चलन चलेको हो।

तीजको पूर्णता भने ऋषिपञ्चमीमा सप्तर्षिहरूको पूजा गरेपछि मात्र पूरा हुन्छ। यसपालि मंगल चौथी पनि परेको छ तीजकै भोलिपल्ट असोज २ गते, जसलाई गणेशचतुर्थी भनिन्छ। तीजको समापन भने ऋषिपञ्चमी व्रत गरेपछि मात्रै हुन्छ। सती अरुन्धतीसहित सप्तर्षि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूको विशेष व्रत उपासाना, दर्शन, पूजन, गरिने हुनाले तीज समापनको दिनलाई ऋषिपञ्चमी भनिएको हो। काठमाडौंको टेकुस्थित सप्तर्षिथानमा सो दिन पाइला राख्ने ठाउँ हुन्न, व्रतालुहरू ओइरिएरै त्यहाँ पुग्छन्, नाच, गान त भव्य नै हुन्छ।

प्रकृतिको विधानअनुरूप हुन्छ, नारीधर्म, रजस्वला, रजोवती समय मासिक धर्म ! वर्षाकालमा नदीहरू पनि रजस्वला हुन्छन् भनिएको छ। सिर्जनाको निरन्तरतालाई कायम राख्ने केही निश्चित विधान छन्। केवल स्त्रीहरूलाई प्राप्त सिर्जनाका यी विशेषता नारीको मौलिक गुण पनि हुन्। अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रबाट झिकी विभिन्न चार स्थानमा नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा राखेपछि अपवित्र भएका यी स्थानमध्ये नारीको रजस्वलाका समय भाँडाकुडा स्पर्श गर्नु नहुने, खाद्यान्न सामग्रीहरूबाट पर रहनुपर्ने र चार दिनमा स्नान गरेपछि मासिकधर्म दोष निवारण हुने कुरा शास्त्रमा विस्तृत वर्णन छ। नारीजातिमा प्रतिमास देखा पर्ने रजोधर्ममा ब्रह्महत्यादोष रहने र त्यसको निवृत्तिको सजिलो उपाय ऋषिहरूको दर्शन, पूजा नै हो भनी शास्त्रले किटान गरेको छ। वैज्ञानिक विचारमा पनि नारी रजस्वलाको रक्त अशुद्धि, विषाक्त किटाणु आदिका कारण विशेष सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ।

स्त्रीहरूको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरूको पूजा, कथा श्रवण गर्नुपर्ने विषयमा विभिन्न पुराणमा चर्चा पाइन्छ। ऋषि पञ्चमीमा ऋषिहरूको पूजा गर्नुअघि बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ। वर्षभरिका अशुद्धिहरू हटाउन ३६५ वटा दत्तिउन लगाउने र पञ्चगव्यले स्नान गर्ने विधान छ। प्रतिदिन विशेष स्नान गर्न असुविधा हुने कारण यसलाई संस्कार गर्दै वर्षभरिकै एकैदिन विशेष स्नान गर्ने परम्पराले मान्यता पाएको छ। काठमाडौंको टेकुक्षेत्रमा सप्तर्षिको स्थान छ। कतिपय महिला त्यहाँ गई सप्तर्षिको पूजा लगाउने, गोदान, पूर्णपात्र गर्ने गर्छन्। नाचगान गर्दै काठमाडौंका विभिन्न स्थानमा पुगी रंगीन उत्सव मनाउँछन्। केही दिदीबहिनी नदीकिनार र मठमन्दिरमा ठूलो उत्साहका साथ ऋषि पञ्चमीको पूजा गर्ने गर्छन्। देवालय मन्दिरहरूमा ठूलो चहलपहल हुने गर्छ। कोही आमा–दिदीबहिनी घरघरमा बसेरै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन्।

ज्ञान, तप, त्याग र विवेकका प्रतीक ऋषिहरूको चिन्तन गर्नाले मानव जीवन सुखद् हुन्छ,। कतिपय अर्थमा मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन। पुरुषहरूले गर्ने तर्पण आदि कार्य, ब्रह्मसूत्रको कार्य नारीबाट यिनै ऋषिहरूको चिन्तन मनन गर्नाले पूर्ण हुन्छ। वायु पुराणले ऋषिहरूको चर्चा गर्दै ऋषि भन्नाले श्रुति (वेद), सत्य, त्याग र तप हो भनी बताएको छ। आदर्श हिन्दूनारी सहनशील छन्। जो तीज विशेषमा वैदिक परम्परालाई निर्वाह गर्दै ऋषि पञ्चमीका दिन बिहानै उत्तरपूर्व फर्की विशेष स्नान गर्दै ऋषिपञ्चमीको व्रत, सप्तर्षिको पूजा गर्ने संकल्प पनि गर्छन्।

ऋषिपञ्चमी व्रत गर्ने नारीहरूले यसदिन एकछाक खाने गर्छन्। नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदि खाई हविष्यान्न भोजन गर्छन्। महिनावारी भएका वखत अन्जानमा भएका त्रुटिहरूको प्रायश्चित गर्ने एकमात्र सरल साधनका रूपमा रहेको ऋषिपञ्चमी व्रत अनुष्ठानले नारीमा छुट्टै तेज वृद्धि हुने, दीर्घायु, निरोगी र पूर्ण सौभाग्यवती हुने कुरा धर्मशास्त्रहरूले विशद वर्णन गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.