माछाको आर्थिक सौन्दर्यशास्त्र
माछा अनेक विशेषता बोकेको उत्कृष्ट प्राणी हो। प्राचीनकालदेखि यसलाई खाद्यवस्तु, आध्यात्मिक, धार्मिक र कलासँग जोडेर हेर्ने गरिएको छ। चित्रकला, काष्ठकला, वास्तुकला र प्रस्तरकलामा यसको प्रयोग भइरहेको देख्न सकिन्छ। घरको ढोका, मन्दिरका टुँडाल, गुम्बाका भित्ता र चित्रमा समेत यसको चित्रण गरिएको हुन्छ। गीतसंगीतको क्षेत्रमा पनि माछा बिम्बको रूपमा प्रयोग भइरहेको छ। नेपाली गीतहरूमा माछा, माछी, मछलीजस्ता शब्दहरू भरिएका प्रशस्त उदाहरण छन्। साधारण अर्थमा जुन कुराले मानिसलाई आकर्षित गरेर लोभ्याउछ, त्यो नै सौन्दर्य हो। माछा पनि सौन्दर्यको एउटा प्रतीक हो। त्यसैले माछालाई जलपरि भन्ने गरिएको हो।
माछा जलाशयको रानी हो। माछाको अरू महŒव त छँदैछ, त्यसका अतिरिक्त उसको सौन्दर्यताले मानिसलाई सधैं लोभ्याइरहेकै हुन्छ। खोज र अनुसन्धानबाट प्रमाणित भएका सौन्दर्य प्रजातिका माछामात्र सजावटका लागि उत्पादन र पालन गरिन्छ। यही प्रक्रियाले एउटा आर्थिक रूप लिन्छ। चीनको हङकङ, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स, श्रीलंका र भारतले सौन्दर्य जातका माछाको उत्पादन र निर्यात गर्छन्। यस्ता माछाको उत्पादन, निर्यात र उपयोगले विश्वको आर्थिक उपक्रमलाई सम्बन्धित देश र विश्व अर्थतन्त्रलाई जोडेको हुन्छ। यसरी माछाको सौन्दर्यले अर्थतन्त्रको एउटा पक्षसँग आम मानिसलाई पनि समेटेको हुन्छ।
जीविकोपार्जनका लागि माछा बिहान बेलुका हात मुख जोर्ने प्राणी हो। रोजगारीका लागि पेसा व्यवसायको वस्तु र सौखिनहरूका लागि सौन्दर्य तथा सजावटको साधन पनि हो। सार्वजनिक उद्यान, बगैंचा, होटल र घरका कोठाहरूमा सुन्दरभन्दा सुन्दर माछा पालेर सजावट गर्ने काम कला, सोख र पेसा पनि हो। शोभा बढाउन र आनन्द लिन विश्वभर सौन्दर्यवद्र्धक माछाको उत्पादन र उपयोग गर्ने प्रचलन निकै पुरानो भइसकेको छ। यस्ता माछाको पालन र उपयोग प्रगतिशील व्यवसायको रूपमा विकसित भइरहेको छ। नेपालमा पनि सहर, बजार, सार्वजनिक उद्यान, पोखरी, बगैंचा, कार्यालय र घरमा यसको प्रयोग गर्ने चलन बढिरहेको छ। माछाको सौन्दर्यशास्त्र बुझेका पारखीहरूले यसको सजावट गरेर आनन्द लिने गरेको पाइन्छ। मन हल्का पार्न, मनोरञ्जन लिन, तनाव कम गर्न, मनोवैज्ञानिक उपचार गर्न र कुनै स्थान विशेषको सौन्दर्य बढाउन सजावटी माछाको प्रयोग भइरहेको छ।
शास्त्रहरूका अनुसार बैठक कोठाको उत्तर पूर्व दिशामा एउटा कालो माछासँग आठवटा रंगीन माछा राख्नाले घरमा सकारात्मक ऊर्जा मिल्छ। सौन्दर्य माछालाई एक्वारियममा राखेर पाल्दा सुन्दरता वृद्धि गरी तनाव र थकानबाट मुक्त हुन सकिन्छ। बौद्ध धर्म संस्कारमा प्रयोग गरिने अष्ट मंगलमा माछाको एउटा महŒवपूर्ण स्थान हुन्छ। बौद्ध धर्मावलम्बीले प्राचीनकालदेखि सुनौलो माछालाई पोखरीहरूमा छाड्ने भाकल गरेर हरेक वर्ष माछा छाड्ने गर्थे। यो प्रचलन बौद्धमार्गीमा आज पर्यन्त छँदैछ। नेवारलगायत कतिपय जनजातिमा माछालाई सगुन, मंगल र शुभ चिह्न मानिन्छ।
काष्टकलाको रूपमा घरको मूल ढोकामा कुँदेर बनाइएको एकआपसमा सीधा भई उभिएका दुईवटा माछाको चित्रलाई सबै डरबाट मुक्त र मानिसप्रति देखाइने सहानुभूतिको प्रतीक मानिन्छ। वास्तुशास्त्रले घरमा एक्वारियम बनाएर माछा पाल्नाले शुभ हुने कुरा बताएको छ। ज्योतिषशास्त्रका अनुसार मानिसको हातमा माछाको चिह्न छ भने त्यो अत्यन्तै शुभ र लाभकारक मानिन्छ। हलिबुडकी प्रख्यात अभिनेत्री जेनिफर लोपेजको हातमा माछाको चिह्न छ, जो उनको सफलताको कारक चिह्न हो भन्ने गरिएको छ।
किंवदन्तीका अनुसार सपनामा रंगीविरंगी माछा देखेमा मानिसको भविष्य सुखमय हुने र पानीमा पौडिरहेको माछा देखेमा पारिवारिक जीवन सफल हुने मान्यता छ। यति धेरै महŒव बोकेको सौन्दर्य अर्थात् सजावटी माछाको स्वदेशमै पहिचान, प्रजनन, उत्पादन, बिक्री र पालन गर्न सकेमा त्यस्ता माछाको आयातलाई प्रतिस्थापन गर्न टेवा पुग्ने देखिन्छ। यसमा सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रको भूमिका महŒवपूर्ण छ।
नेपालमा डिस्कुस, टाइगरबार्ब, मोली, कोइकार्प, गोल्डफिस, गुप्पी, डेभिल सिचलिड र स्वार्डटेल नामका अनेक विदेशी माछा पाल्ने गरिएको छ। यद्यपि नेपालमा करिब २५ प्रजातिका सौन्दर्य माछाको पहिचान भइसकेको कुरा नेपाल कृषि अनुसन्धान केन्द्रले जनाएको छ। मत्स्य वैज्ञानिक जयदेव विष्ट र रामकुमार श्रेष्ठका अनुसार फगेटा, गडेला, धर्सेगडेला, काब्रे, हिले, भोटी, कतरा, जेब्रा, चुच्चेबाम, रोजीबार्ब, टिक्टोबार्ब, फोक्चा, सिसा र बुदुना नेपालका स्थानीय जातका रैथाने सौन्दर्य माछा हुन। नेपालमा अन्य प्रजातिका सौन्दर्यवद्र्धक माछाको पहिचान भइसकेको छैन। तर कैलालीको घोडाघोडी तालमा पाइएको कोलिसा जातको माछालाई मत्स्य अनुसन्धान केन्द्र पोखराले प्रजनन र उत्पादनका लागि प्रयास गरिरहेको छ।
नेपालमा पाइने सौन्दर्य जातका माछाहरूको पहिचान र उत्पादन पर्याप्त रूपमा भएको पाइँदैन। २०५६ सालमा पहिलो पटक केन्द्रीय मत्स्य ह्याचरी, बालाजुले सुन्तला रङको जापानी कोई कार्प माछाको प्रजनन गराएर उत्पादन र वितरण गरेको थियो। मत्स्य अनुसन्धान केन्द्रले गोल्डफिसको संवद्र्धन र उत्पादन गरेको थियो। २०५६ सालदेखि सुरु गरिएको सौन्दर्य माछा उत्पादन र वितरणको काम हाल केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुले निरन्तरता दिइरहेको छ। यस केन्द्रले वार्षिक करिब ५० हजार गोटाभन्दा बढी थाई र जापानिज कोई कार्प जातका सौन्दर्य माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ। तर यो उत्पादन मागको आधारमा पर्याप्त भने छैन। देशका प्रमुख सहरहरूमा यस्ता माछापालन गर्नेहरूको संख्या दिनदिनै बढिरहेछ। माछा व्यवसायीहरूले पनि मागअनुसार सौन्दर्य माछाको पर्याप्त उत्पादन गर्न सकेमा राम्रो आयस्रोतको माध्यम बन्ने कुरा निश्चित छ।
भट्टराई, मत्स्य विज्ञ हुन्।