चाडपर्व आयो, कर्णालीका खाद्य डिपो रित्तै

चाडपर्व आयो, कर्णालीका खाद्य डिपो रित्तै
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका–२ का खम्बे दमाई गत आइतबार चामलको जोहो गर्न स्थानीय घाट बजारमा रहेको खाद्य डिपोमा पुगे। उनले गाउँमै रहेको उक्त खाद्य डिपोमा चामल पाएनन्। खाद्य डिपो बन्द हुँदा निराश भएर फर्किए।  घरमा खाने  अन्न नभएपछि उनी खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। उनी भन्छन्, ‘हामी जस्ता समस्यामा परेका जनताका लागि सरकारले दिने सहुलियत दरको चामल भए हामीलाई सजिलो हुने थियो। सस्तो भाउमा पाइन्थ्यो। बजारको चामल किनेर खानै नसक्ने अवस्थामा छौं। कसरी जहान परिवारको छाक टारौं।’

मूल्य वृद्धिले खाद्यान्न छोइ सक्नु छैन। नजिकमा बजार पनि छैन। कसरी खाद्यान्न जुटाउने बारेकोट–३ का प्रेमबहादुर बोहराले चाडबाड आउन थालिसके। घरमा खाने अन्न छैन। डिपोमा चामल आएको छैन। म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौं तर कहिले आउने हो केही टुंगो छैन। न कर्मचारी छन्। डिपो तीन महिनादेखि बन्द छ। सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानीय चर्को मूल्यको मारमा परेका छन्। बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोटस्थित घाटमा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन। डिपो तीन महिनादेखि बन्द छ। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बारेकोट गाउँपालिकामा खाद्य संकट परेको बताए। दसैंअघि नै बारेकोटको घाट डिपो र काउली बिक्री केन्द्रमा सहुलियत दरको चामल पठाइदिन सम्बन्धित निकायलाई आग्रह गरे। उनले बारेकोटमा खाद्यान्न अभाब भएकाले तत्काल डिपोमा खाद्यान्न पठाउने व्यवस्था मिलाउनका लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको बताए।

बारेकोटमा मात्र होइन नलगाड नगरपालिका, कुुसे गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा यतिवेला खाद्यान्न अभाव देखिएको छ। ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिवेला रित्तै छन्। जाजरकोटमा मात्र होइन कर्णालीका सुर्खेत र सल्यान बाहेकका सबै जिल्लाका खाद्य डिपो र बिक्री केन्द्रमा यतिबेला खाद्य मौज्दात शून्य छ। नयाँ बाली नपाकेको, वर्षात्ले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको जोहो गर्न कठिनाइ पर्न थालेको छ।

जिल्लाका ग्रामीण भेकमा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ। स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन्। दुर्गममा चाडपर्वको बेलामा चामल अभाव हुन नदिन खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडि नबढाउँदा समस्या परेको हो। खाद्य कम्पनीले चामल ढुवानीका लागि गरेको टेन्डर अहिलेसम्म स्वीकृति नगर्दा चामल ढुवानी हुन नसकेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जिल्लाका चार डिपो र चार बिक्री केन्द्रमा चामल नभएको बताए।

टेन्डर स्वीकृतिको काम अन्तिम चरणमा रहेको बताए। दसंैअघि नै चामल ढुवानी गर्न पहल भइरहेको उनको भनाइ छ। जाजरकोटमा यस वर्ष ६ हजार क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ। सरकारले चामलको ढुवानीमा अनुदान दिने गरेको छ। जिल्ला सदरमुकाममा ६ सय ६० क्वीन्टल महिनो चामल मात्र मौज्दात छ। मोटो चामलको माग धेरै छ तर चामल छैन प्रमुख पौडेलले भने।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, भारतले चामल आयातमा गरेको प्रतिबन्ध र खरिद तथा ढुवानीका लागि टेन्डर प्रक्रियामा भएको ढिलाइले गर्दा दुर्गमका डिपो र बिक्री केन्द्रमा चामल सकिएको कम्पनीले जनाएको छ।

दसैंअघि डिपोमा चामल पुग्ने सरकारी दाबी

कर्णालीका दुर्गममा उत्पादन नै नहुने र भएको अन्नले पनि वर्षभरि खान नपुग्ने अवस्था छ। दुर्गमका बासिन्दाका लागि सरकारले नै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत मूल्यमा चामल बिक्री गर्दै आइरहेको छ।

पछिल्लो समय  कर्णालीका सबै डिपो र बिक्री केन्द्रमा सहुलियतको चामल सकिएको छ। तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले नजिकिँदै गरेका चाडपर्वमा दुर्गममा चामलको अभाव हुन नदिन ढुवानी सुरु गरेको जनाएको छ। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि चार हजार क्विन्टल चामल तिब्बतको बाटो हुँदै पठाइको छ।

जुम्ला ११ सय क्विन्टल, मुगु ७ सय ७० क्विन्टल र कालिकोट १ सय ७० क्विन्टल चामल ढुवानी गरिएको सुर्खेतस्थित खाद्य कम्पनीको प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले बताए। टेन्डर स्वीकृति भएपछि निर्धारित कोटा मिलान गर्ने गरी सोही दरमा चामल ढुवानीको प्रक्रिया थालिएको मिश्रले बताए। उनले दसैंअघि नै कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, कालीकोट, दैलेख, रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशको बाजुराका खाद्य डिपो र बिक्री केन्द्रहरूसम्म चामल पुरयाउन पहल भइरहेको दाबी गरे।

मिश्रले भने, ‘दुर्गमका बासिन्दाले यसपालि चाडपर्वमा सहजै चामल पाउनेछन्, यसका लागि हामीले अहिलेबाटै ढुवानी सुरु गरिसकेका छौं। दुर्गमबाट माग धेरै आएकाले स्टक भएको चामल सकिएको हो, हामीले नयाँ चामल खरिदका लागि पनि प्रक्रिया अगाडि बढाइसकेका छौं।’ उनले यसपालि दुर्गमका बासिन्दालाई चाडपर्वमा चामलको अभाव नहुने दाबी गरे।

हुम्लाका लागि तिब्बतको बाटोबाट चामल पठाइएको भन्दै उनले बाँकी जिल्लाका लागि सुर्खेतबाटै ढुवानी भइरहेको बताए। खाद्य कम्पनीको सुर्खेत कार्यालयले दुर्गमका बासिन्दालाई ९ शाखा कार्यालय, ७ डिपो र १७ बिक्री केन्द्रका लागि चामल पठाउने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.