केन्द्रीय साधारण सभा कर्णालीमा गर्दै बार एशोसियसन
वीरेन्द्रनगर : नेपाल बार एशोसियसनको केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ।
यही असोज १२ र १३ गते सुर्खेतमा हुने बारको केन्द्रीय साधारण सभालाई विधान सभाको रुपमा समेत लिइएको छ। यस पटक आर्थिक वर्ष २०७८/७९ र ०७९/८० गरी दुई वर्षको एकैपटक साधारण सभा हुन लागेको हो।
बारले मंगलबार सुर्खेतमा पत्रकार सम्मेलन गरी कर्णालीमा गर्न लागिएको केन्द्रीय साधारण सभा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कानुनमन्त्री धनराज गुरुङले उद्घाटन गर्ने छन्।
बारका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले बारले कर्णालीमा आयोजना गरिएको केन्द्रीय साधारण सभाको तयारी तीव्र रुपमा भइरहेको बताए।
साधारण सभामा एक हजार बढी प्रतिनिधिको सहभागिता रहनेछ। साधारण सभाका लागि १० वटा विभिन्न उपसमिति गठन गरिएको छ। साधारण सभामा कर्णालीको पर्यटन प्रवर्द्धनलाई विशेष ध्यानमा राखिएको बताइएको छ।