नुवाकोटमा गुणस्तरहीन वस्तु जफत
नुवाकोट : नुवाकोटमा गुणस्तरहीन वस्तु जफत गरिएको छ। संयुक्त बजार अनुगमन टोलीले मंगलबार अनुमगमनका क्रममा गुणस्तरहीन वस्तु जफत गरेको हो।
टोलीले विदुर नगरपालिका २ र ४ मा रहेको बट्टार बजारमा रहेका किराना तथा मासु पसलको अनुगमन गरेको हो। एकैदिन १० वटा खाद्यान्न तथा मासु र माछा पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ।
१० वटा पसलमा अनुगमन गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा पाँचवटा किराना पसल र पाँचवटा मासु तथा माछा पसल संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ।
प्रमुख सापकोटाका अनुसार बट्टार बजारको न्यू फिस हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को 'घ' बमोजिम ५० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।
यसका साथै बट्टारकै स्वस्तिक सप्लायर्समा मापदण्डविपरीत लेवल नभएको ३० किलोग्राम तौलको २४ बोरा ढुटो जफत गरी नष्ट गरिएको सापकोटाले बताए। उनका अनुसार बरामद गरी नष्ट गरिएको ढुटो ३१ हजार दुई सय रुपैयाँ बराबरको रहेको छ।