संविधान दिवसको सार्थकता
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ८ वर्ष पूरा भएको छ । संविधान निर्माणमै निकै सकस भएको थियो । राजनीतिक दलहरूले ठूलो संघर्ष र निकै सुझबुझका साथ नेपालको संविधान लेखे । त्यसको कार्यान्वयनको पहिलो खुट्किलो स्वरूप मुलुकमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव पनि भयो । चुनावका माध्यमबाट २÷२ पटक सत्ता हस्तान्तरण हुनु संविधान कार्यान्वयनमा निकै ठूलो उपलब्धि हो । निर्वाचनमार्फत शान्तिपूर्ण सत्ता हस्तान्तरण नै लोकतन्त्रको सबैभन्दा महŒवपूर्ण पक्ष हो । त्यस मामलामा नेपालले राजनीतिक स्थिरता प्राप्त गरेको मान्न सकिन्छ, हाला कि सरकारहरू परिवर्तनमा निकै नै अस्थिरता छ । व्यवस्था र संविधानका हकमा कुनै फेरबदल नभएको हुँदा यसलाई राजनीतिक स्थिरता मान्न सकिन्छ ।
विकसित देशहरूमा पनि महिनामहिनामा सरकारहरू परिवर्तन भएको देखिन्छ, संसदीय राजनीतिमा त्यो सामान्य नै हो । तर मूल कुरा देशको प्रणाली चाहिँ स्थिर हुनुपर्छ । आवश्यकताका आधारमा संविधानको संशोधन भने हुन सक्ने कुरै हो । संविधान लेखनपछि मुलुकले समृद्धिको बाटो समात्छ भन्ने जनविश्वासमाथि चाहिँ यसबीचमा दलहरूले निकै ठूलो कुठाराघात गरेका छन् । मात्रै सत्ताको रोटेपिङमा उनीहरू मच्चिरहेका छन् । मुलुकमा अराजकता यति साह्रो मौलाएको छ कि किशोर र युवा उमेरका जोकोही जतिसक्दो छिटो देश छोड्न आतुर छन् । सुशासनको अभाव हुनु, कानुनी शासनको प्रत्याभूति नहुनु अनि विकास र समृद्धिको छम्कट्टै छाँटकाँट नदेखिएको दल र शीर्ष नेताहरूले रत्तिभर अनुभूति गरेको देखिन्न । त्यसैको फलस्वरूप मुलुकमा संविधानको मूलमर्ममाथि प्रहार गर्ने शक्तिले अंकुराउने उर्वरता प्राप्त गरेको छ ।
संविधानको संस्थागत विकास भएन भने त्यसले गरेका व्यवस्थाअनुसार जनतालाई अधिकार प्रदान गर्न सकिएन भने संविधानको सार्थकता रहन्न । संविधान निर्माता संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्बाङले ऊ बेला नै भनेको कुरा यहाँ मननीय छ– संविधान आफैंले बुद्धि र विवेक बाँड्दैन । हो, संविधानका अक्षरहरूको कार्यान्वयन गराउने भनेको कर्ताले हो । कर्ता सरकार हो, संसद् हो । राजनीतिक दलहरू हुन् । तर न सरकार संविधानको मर्मअनुसार आवश्यक कानुन बनाउन तत्पर छ, न संसद्को चासो त्यता छ । संविधानको कार्यान्वयन नै अझै राम्ररी हुन नसक्नु, विडम्बना हो । मुलुकले फेरि कुनै पनि द्वन्द्वको सामना गर्नु नपरोस्, जनताले फेरि संघर्ष गर्नु नपरोस् भनेर सार्थक पहल हुनुपर्छ । त्यसैको कसीमा संविधान दिवस सार्थक बनाइदिनुपर्छ ।